नुवाकोटको ककनीमा हिल स्टेसन बन्दै

विदुर खबर २०७६ पुष ५ गते ९:४१

नुवाकोट ।  नुवाकोटको ककनीमा हिल स्टेसन बनाउन ठेकदारसँग सम्झौता भएको छ ।

Advertisement

पर्यटकीय क्षेत्र पहिचान र पर्यटन विकासको नयाँ परिकल्पना सहित प्रदेश ३ सरकारले ८ स्थानमा हिल स्टेशन बनाउँदै छ । प्रदेश सरकारले घोषणा गरेको भ्रमण दशक २०२०-२०३० अन्तर्गत यसलाई ‘ड्रीम प्रोजेक्ट’को रुपमा लिएको छ ।यसै आर्थिक वर्षभित्र काम सम्पन्न गर्ने लक्ष्य सहित प्रदेश सरकारले  २० करोड रुपैयाँ खर्च गर्दैछ । तीन स्थानको ठेक्का सम्झौता भएको, दुई स्थानको ठेक्का प्रक्रिया रहेको, तीन स्थानको डीपीआर अन्तिम चरणमा पुगेको छ ।

हिल स्टेसन बन्ने स्थान

Advertisement

प्रदेश ३ उद्योग, वन तथा पर्यटन मन्त्रालयका पर्यटन आयोजना प्रमुख शिव सापकोटाका अनुसार सरकारले आर्थिक वर्ष ०७६/७७ मा सिन्धुपाल्चोकको मुडे, दोलखाको जिरी, धादिङको रुवी भ्याली, मकवानपुरको चित्लाङलाई हिल स्टेसनको रूपमा विकास गर्दैछ । यस्तै रामेछापको शिवालय, सिन्धुलीको सिन्धुलीगढी, नुवाकोटको ककनी र रसुवाको सोम्दाङमा पनि रिले स्टेसन बनाइने उहाँले जानकारी दिनुभयो ।

Advertisement

स्टेसन निर्माण गर्न प्रदेश ३ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले आ.व. २०७५/०७६ मा नै ५ करोड रुपैयाँ रकम विनियोजन गरेपनि काम भने शुरु हुन सकेको थिएन  । यस आर्थिक वर्षमा २० करोड रुपैयाँ हिल स्टेसन निर्माणका लागि बिनियोजन गरेको छ । यसै आर्थिक वर्षमा तीन स्थानको ठेक्का सम्झौता भैसकेको उहाँले बताउनु भयो ।

हिल स्टेसन ‘मल्टीप्रपोज’ हुने गरी निर्माण गर्न प्रदेश ३ को पर्यटन मन्त्रालयले डिजाइन तयार गरी काम गर्न सुरु भइसकेको आयोजना प्रमुख सापकोटाले बताउनु भयो ।

यस्तो हुन्छ हिल स्टेसन

पर्यटकहरुको लागि गर्मी छल्न जाने स्थानको रुपमा हिल स्टेशन बन्ने छ । हिल स्टेसनमा बगैंचा, भ्यू टावर, कोसेली घर, सामुदायिक लज, मनोरञ्जन घर, निजी रिसोर्ट लगायतका भौतिक संरचना निर्माण गरिने योजना रहेको छ ।

हिल स्टेसनमा रिसोर्ट चलाउने चाहना राख्नेलाई सार्वजनिक जग्गा उपलब्ध गराइने सापकोटाले बताउनुभयो । उहाँले निजी रिसोर्ट नभएका र सञ्चालन गर्न नसकिने स्थानमा होमस्टे निर्माण गर्ने योजना रहेको जानकारी दिनुभयो । गर्मी छल्नको लागि पुग्ने पर्यटकहरु केही समय आनन्दले रमाउन सक्ने गरी हिल स्टेसन बन्ने छ ।

काम सुरु भएको हिल स्टेसन 

नुवाकोटको ककनीमा हिल स्टेसन बनाउन ठेकदारसँग सम्झौता भएको छ । ३ करोडको लागानीमा यही आर्थिक वर्षमा सम्पन्न हुने गरी काम सुरु भएको आयोजना प्रमुख सापकोटाले बताउनुभयो ।

मकवानपुरको चित्लाङमा पनि काम सुरु भएको छ । ३ करोडको लगानीमै काम हुने र यही आर्थिक वर्षमा सकिने छ । सिन्धुपाल्चोकको मुडे र सिन्धुलीको सिन्धुली गढीमा बन्ने हिल स्टेसनको लागि डीपीआर तयार भइसकेको तर ठेक्का सम्झौता हुन बाँकी रहेको उहाँको भनाई छ ।

दोलखाको जिरीलाई बहुवर्षीय योजनामा राखिएको, धादिङको रुवी भ्याली, रामेछापको शिवालय र रसुवाको सोम्दाङको डीपीआर तयार हुँदै गरेको सापकोटाले बताउनु भयो ।

प्रदेशलाई पर्यटनको ‘हब’ बनाउने लक्ष्यका साथ विभिन्न जिल्लामा आयोजना मार्फत पर्यटकीय पार्क निर्माण, भ्यु टावर, पर्यटकीय पदमार्ग निर्माण, बगैंचा, पार्किङ स्थल, पदमार्गको स्तरोन्नती, धार्मिक पर्यटकीय सर्किट निर्माण, तातोपानी क्षेत्रको संरक्षण लगायत कार्यको डीपीआर तयार भएर धेरै स्थानमा काम सुरु भइसकेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया