यसकारण देखिन्छ सपना

विदुर खबर २०७४ चैत ३ गते १६:५७

धेरै मानिसले नियमित सपना देख्ने गर्छन् । सपना पनि फरक–फरक प्रकृतिका हुन्छन् । कहिले रोमान्टिक सपना देखिन्छ त कहिले डरलाग्दो । तर, यस्ता सपनाबारे समाजमा अनेक भ्रम छन् । सपनालाई नै आधार बनाएर भविष्यवाणीसमेत गरिन्छ । सपनाबाट सुखद वा दुःखद दिन भनेरसम्म किटान गरिन्छ । उसो भए किन देखिन्छ त फरक–फरक सपना ? मनोविद् गोपाल ढकालले नयाँ पत्रिकालाई यसरी बताएका छन् :
किन देखिन्छ सपना ?
सपना हाम्रो दैनिक गतिविधि र जीवनशैलीसँग जोडिएको हुन्छ । दिमागले शरीरका अंगहरूलाई सञ्चालन गर्छ । यस्तो समय विभिन्न भावना उत्पन्न हुने गर्छन् । यही क्रममा दिमागले नै भोक, रिस, माया, दयापस्ता भावलाई पनि कन्ट्रोलमा राख्ने काम गर्छ । अर्थात्, दिमागले नै शरीरका सबै सिस्टमलाई कन्ट्रोलमा राख्ने काम गर्छ । सपना यहीँबाट सुरु हुन्छ ।
निद्रा किन आवश्यक ?
शरीर र दिमागलाई आराम दिनका लागि निदाउन आवश्यक हुन्छ । निद्राका दुई चरण हुन्छन् । एउटा चरणमा सपना देखिन्छ भने अर्कोमा देखिँदैन । हामीले सपना देखिरहेका वेला मस्तिष्क निकै सक्रिय हुन्छ ।
त्यसवेला बितेका र भविष्यमा हुन सक्ने कुराहरू दिमागमा खेल्ने गर्छन् । अनकन्सस मस्तिष्कको चरणमा जीवनमा पूरा हुन नसकेका कुरा पनि सपनामा आउँछन् । यसरी सपना देख्ने वेला शरीर स्थिर हुन्छ । निद्रामा परेको ९० देखि एक सय मिनेटपछि मात्र मान्छेले सपना देख्न थाल्छ ।
निद्राको पहिलो चरण छोटो हुन्छ । उक्त चरण १० मिनेटमै सकिन्छ । त्यसपछि मानिस सपना नदेख्ने चरणमा पुग्छ । जुनवेला मस्तिष्क निकै शिथिल अवस्थामा हुन्छ ।
त्यसपछि अर्को अर्थात् दोस्रो चरणमा सपना देखिन थाल्छ । जुन १५ देखि ४५ मिनेटसम्मको हुन्छ । यो अवधिभन्दा लामो समय सपना देखिन्छ भने शरीरमा कुनै समस्या छ भन्ने कुरा बुझ्नुपर्छ ।
यसको कारण रोग, तनाव, लागुपदार्थको दुव्र्यसन आदि हुन सक्छन् । लामो समय सपना देख्ने मानिस गहिरो निद्रामा पर्न सक्दैन । सपनाका पनि विभिन्न चरण हुने भएकाले पहिलो चरणको सपनालाई भने मानिसले बिर्सने गर्छन् ।
कति सुत्ने ?
उमेर र कामको बोझअनुसार मानिसलाई निद्राको आवश्यकता हुन्छ । निद्राको निर्धारित मान्यता छैन भन्दा पनि हुन्छ । कसैलाई अलि लामो समय सुत्नुपर्छ र कोहीलाई थोरै समय मात्र सुत्दा पनि पर्याप्त निद्रा पुग्छ । सामान्यतया ६ देखि ८ घन्टासम्म सुत्न आवश्यक हुन्छ ।
तर, बच्चा अवस्थामा भने अलि लामो समय नै सुत्नुपर्ने हुन्छ । जब बच्चा जन्मन्छ, त्यसपछि उसको ५० प्रतिशत निद्रा सपनाकै चरण हुन्छ । त्यस्तै, उमेर पुगेको मानिसले २५ प्रतिशत सपना देख्दा ७५ प्रतिशत गहिरो निद्रामा हुनुलाई स्वास्थ्यका दृष्टिले राम्रो मानिन्छ ।
निद्रा नलागे के गर्ने ?
कतिपयलाई निद्रा नलाग्ने समस्या हुन्छ । यसका थुप्रै कारण छन् । मानसिक समस्या, तनाव, लागुपदार्थ प्रयोग, कुलत, डिप्रेसनलगायत जीवनमा घटेका विविध घटनाका कारण मान्छे कम निदाउने वा निदाउन नसक्ने हुन्छ । यस्तै अवस्थामा मानिसले डरलाग्दा सपनासमेत देख्छ ।
कहिलेकाहीँ कुनै स्वास्थ्य समस्या नहुँदानहुँदै पनि निद्रा नपर्न सक्छ । यस्तो अवस्थामा त्यति डराउनु पर्दैन । यस्तो आवस्थामा अत्तिएर औषधि खाइहाल्नु पर्दैन ।
तर, यसका कारणबारे भने खोजी गर्न जरुरी हुन्छ । त्यसपछि मात्र आवश्यक औषधि सेवन गर्दा राम्रो हुन्छ । उपचारपछि मानिसलाई राम्रोसँग निद्रा पर्छ । व्यवस्थित निद्रा र डरलाग्दो सपनाबाट बच्न सुत्ने निश्चित समयतालिका हुन पनि आवश्यक छ ।

Advertisement

प्रतिक्रिया