सिजन आँपको : फूलअनुसार फल पनि लाग्ला कि ?

विदुर खबर २०७४ चैत ३ गते १६:०१

धनगढी, ३ चैत– ‘बारी होस् या बगैंचा । फूल नलागेको आँपको रुख सायदै होला । हेर्दा यो पालि आँपको सिजन हो, हेरौं फल कस्तो दिँदो रैछ ।’
भनाई हो, कैलाली जिल्लाबासीको । उनीहरु आँपको फूल अनुसार फल पनि राम्रै लाग्ने आशामा छन् । भजनीका स्थानीय कृषक तथा वन संरक्षणकर्मी विजयराज श्रेष्ठले भने, ‘फूल नलागेको रुख सायदै होला । फूल अनुसार फल त लाग्नु पर्ने हो ।’
किसानहरू आजभोलि फूल नझरोस् तथा फल राम्रो लगोस् भनेर जरामा पानी हाल्ने, गोडमेल गर्ने, कोहि विषादी समेत छर्दै आएका छन् । कैलारी गाउँपालिका–६ का स्थानीय सोमलाल डंगौराले पानीको कमी नहोस् भनेर पानी हाल्ने काम गर्दै आएको बताए ।
कैलालीमा व्यावसायिक रुपमा आँपको खेतीे नगरिए पनि आफ्नो प्रायोजनको लागि गरिन्दै आइएको हो । यहाँका प्रायः बजारमा भारतबाट आयतित आँप बिक्रि वितरण हुँदैआएको कृषि विकास कार्यालय कैलालीले जनाएको छ । कुनैबेला कैलाली–कञ्चनपुर जिल्लामा ठूला–ठूला आँपको बगैचा बनाइएको हुन्थ्यो ।
तर आजभोलि इट्टा पकाउनको लागि आँपको रुख प्रयोग हुन थालेपछि यहाँको बजार भारतमा निर्भर हुँदै गएको क्षेत्रीय तालिम केन्द्र सुन्दर कञ्चनपुरका वरिष्ठ बागबाली विकास तालिम अधिकृत गोविन्दराज जोशीले बताए ।

Advertisement

उनले भने, ‘यहाँको जिल्लामा केरा बाहेक अन्य फलफूलको व्यावसायिक खेती नै भएको पाइन्न । भएको पनि नासिने क्रम जारी छ । तर भारतमा आँपको बगैचा काट्न निषेध गरिएको छ, हाम्रो यहाँ छैन, जुनकारण परनिर्भर हुँदै गएका छौ ।’
कृषि विकास कार्यालय कैलालीका पूर्व सूचना अधिकृत समेत जोशीले आँप पौष्टिक, पर्यवरणीय महत्वको हिसावले पनि महत्वपूर्ण रहेको बताउँछन् । फागुन महिनादेखि नै फूल फूल्ने बताउँदै उनले चैत्र पहिलो साता आँपमा फल लाग्ने उपयुक्त समय रहेकोले किसानहरुले ध्यान दिनुपर्ने सुझाव दिन्छन् ।
उनको अनुसार पाक्ने समयको आधारमा तीन किसिमका हुन्छन् । छिटो पाक्नेमा बम्बई, ग्रिन, दशहरी जातका आँप जेठ अन्तिम या असारमा पाक्ने गर्दछ । माध्यम समयमा पाक्नेमा माल्दह पर्दछ । यो जातको आँप असारको अन्तिम या साउन पहिलो हप्ता पाक्ने जनाइएको छ । मने ढिलो पाक्ने आँपमा अमरापाली, मल्लीका, चौसा जात पर्दछ ।
फूल झर्नबाट रोकथाम विधि
वरिष्ठ बागबाली विकास तालिम अधिकृत जोशीले आँपको फूल फूल्ने र फल लाग्ने अवस्था विशेष अवस्था रहेको बताए । जुन अवस्थामा नै यसको सिजन भर पर्ने उनको भनाई छ ।
उनको अनुसार फूल फूल्ने र फल लाग्ने बेलामा नियमित सिचाई, मल तथा समय–समयमा गोडमेल आँप खेतीको लागि जरुरी हो । फूलको रस चुस्ने किरा नियन्त्रणको लागि फल लाग्ने बेलामा कृषि विज्ञको सिफारिशमा किटनाशक विषादीको प्रयोग पनि गर्न सकिने सुझाव पनि जोशीको छ ।

प्रतिक्रिया