माथिल्लो त्रिशुली-१ मा जुट्यो ५० अर्ब लगानी, शुक्रबार सम्झौता
कोरियन कम्पनीले निर्माण गर्ने २१६ मेगावाटको माथिल्लो त्रिशुली-१ आयोजनामा लगानी जुटेको छ ।
कम्पनी र लगाकनीकर्ता अन्तर्राष्ट्रिय बैंक तथा वित्तीय संस्थाबीच शुक्रबार लगानी सम्बन्धी सम्झौतामा हस्ताक्षर हुने भएको छ ।ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र अर्थमन्त्री डा. युवराज खतिवडाको उपस्थितिमा लगानी सम्बन्धी सम्झौता हुन लागेको हो । यो परियोजनामा ५० अर्ब बराबर (४५.३२ करोड डलर) को विदेशी लगानी प्राप्त हुनेछ ।
यो आन्तरिक रुपमा खपत गर्ने गरी बनेको जलविद्युत आयोजनामा आएको अहिलेसम्मकै सबैभन्दा ठूलो विदेशी लगानीको परियोजना हो । भारतले खर्च गर्ने गरी सतलज कम्पनीमार्फत बनिरहेको परियोजनामा सबैभन्दा धेरै विदेशी लगानी हुने भएपनि त्यसमा अझै विदेशी लगानीको स्रोत व्यवस्थापन भइसकेको छैन । आयोजनामा विश्व बैंकअन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)ले १६ करोड १० लाख डलर ऋण लगानी गर्नेछ ।
कोरियाली निर्यात आयात (एक्जिम) बैंकले १०० मिलियन डलर र चीनको नेतृत्वमा स्थापित एसियन पूर्वाधार लगानी बैंक (एआईआईबी)ले ४० मिलियन अमेरिकी डलर लगानी गर्नेछ । एसियाली विकास बैंक (एडीबी)को पनि ६० मिलियन डलरसहित कोरिया, नेदरल्यान्ड तथा फ्रान्सका विभिन्न तीन बैंक र युकेको कमनवेल्थ डेभलपमेन्ट कर्पोरेशन (सीडीसी)ले पनि यसमा लगानी गर्दैछन् । यो आयोजनाको कुल लगानी ६४ करोड ७४ लाख डलर अर्थात् ६४ अर्ब रुपैयाँभन्दा बढी छ । यसमा १९ अर्बको संस्थापक सेयर छ भने बाँकी लगानी ऋणस्वरुप जुटाउने लक्ष्य प्रवर्द्धक नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीको छ ।
उर्जा नै हेजिङ
यो आयोजनामा डलरमा विद्युत् खरिद सम्झौता भइसकेको छ । यसमा हुने जोखिम व्यवस्थापन गर्नका लागि हेजिङ फन्डको सट्टा निःशुल्क ऊर्जा लेनदेन गर्ने समझदारी प्रवर्द्धक र सरकारबीच भएको छ । हेजिङ कोष खडा नै नगरी प्रबर्द्धक कम्पनीसँग निःशुल्क ऊर्जा प्राप्त गर्न सहमति जुटेको छ ।
सहमतिअनुरुप माथिल्लो त्रिशुली १ को प्रवर्द्धकले आफ्नो ऋण तिरिनसक्दा वा ब्यापारिक उत्पादन सुरु भएको १० वर्षसम्म प्राधिकरण, सरकार र प्रवर्द्धकले संयुक्तरुपमा डलरको पीपीएमा हुने जोखिम बहन गर्नेछन् ।
यो बीचको डलरमा अवमूल्यनले आउने जोखिमको एक तिहाई प्रवर्द्धक आफैंले ब्यहोर्नेछ भने बाँकी दुई तिहाईको जोखिम सरकार र प्राधिकरणले बेहोर्ने निर्णय भएको प्राधिकरणले बताएको छ ।
तर, त्यसबापत ब्यापारिक उत्पादन सुरु भएको १४औं वर्षबाट २६ औं वर्षसम्म प्रवर्द्धकले घाटा भए पनि वा नभए पनि प्राधिकरणलाई आफ्नो उत्पादनको झण्डै १७ प्रतिशत बिजुली निःशुल्क उपलब्ध गराउनेछ ।
१४ औंदेखि २६ औं वर्षसम्म अर्थात् १२ वर्षसम्म जोखिम बहन गरिदिएबापत कम्पनीले प्राधिकरणलाई आफ्नो उत्पादनको १६.९० प्रतिशत बिजुली उपलब्ध गराउनेछ । १४ औं वर्षपछि २६ औं वर्षसम्म आयोजनाबाट उत्पादित विजुलीको झण्डै १७ प्रतिशत हिस्सा प्राधिकरणले सित्तैमा पाउनेछ ।
उसले त्यो प्रतिवर्ष २४६.११ गिगावाट आवर अर्थात् करिब ५० मेगावाटभन्दा बढी विजुली प्राधिकरणलाई सित्तैमा उपलब्ध गराउनेछ । यसका लागि त्यतिबेला हिउँदमा प्रतियुनिट १० रुपैयाँ ४२ पैसा र र वर्षामा ५ रुपैयाँ ९५ पैसा दर कायम हुनेछ । त्यसअनुसार १२ वर्षमा जोखिम बहनबापत आयोजनाले प्राधिकरणलाई प्रतिवर्ष १ अर्ब ८९ करोड बराबरको विजुली उपलब्ध गराउनेछ ।
स्वदेशी लगानीमा निर्माण हुने आयोजनालाई जस्तै माथिल्लो त्रिशूली-१ लाई पनि वार्षिक ३ प्रतिशतका दरले ८ वटा साधारण मूल्यवृद्धि (स्कालेसन) पाउने व्यवस्था गरिएको छ । आयोजनाले सुरुका वर्षमा नगद प्रवाहमा समस्या हुने भन्दै पछिल्ला वर्षमा निःशुल्क ऊर्जा दिने गर्न प्रस्ताव गरेको थियो ।
यो आयोजनाको डलरमा पीपीए गर्दा प्राधिकरणलाई अतिरिक्त व्ययभार परी प्राधिकरणको वित्तीय स्वास्थ्यमा पर्ने जोखिम न्यूनीकरण गर्न ‘हेजिङ फन्ड’ स्थापना गर्ने भनिएको थियो । त्यसमा सरकार, प्रवर्द्धक र प्राधिकरणले संयुक्त रुपमा हेजिङ गर्ने सहमति थियो ।
कसरी बन्दैछ ?
ऊर्जा मन्त्रालय र कम्पनीबीच ०७३ को पुस १४ गते आयोजना विकास सम्झौता (पीडीए) भइसकेको छ । प्राधिकरणले विदेशी लगानीमा निर्माण हुने एक सय मेगावाटभन्दा ठूला आयोजनासँग विदेशी ऋणको अंशका लागि मात्रै अमेरिकी डलरमा भुक्तानी गर्ने गरी नेपाली मुद्रामा पीपीए गर्ने नीति लिएको छ । हेजिङ नियमावलीमा पनि यस्तै व्यवस्था छ ।
पीपीए भएको दिनको नेपाल राष्ट्र बैकले तोकेको डलरको सटही मूल्यलाई स्थिर राख्ने गरी पीपीए भएको थियो । प्राधिकरणले आयोजनाको विद्युत सुक्खायाम र वर्षायामको क्रमशः ८.४० र ४.८० रुपैयाँ प्रतियुनिट दरमा किन्ने छ । तर आयोजना सम्पन्न हुँदा रिटर्न अन इक्विटी १७ प्रतिशतभन्दा बढी रहेको पाइएमा उक्त विद्युत खरिद दर सोहीअनुसार कम गर्ने समझदारी छ । रन अफ रिभर आयोजनाका लागि १६ मंसिरबाट १५ जेठसम्मको अवधिलाई सुख्खायाम र १६ जेठदेखि १५ मंसिरसम्मको अवधिलाई वर्षायाम मानिएको छ ।
विदेशी लगानीमा निर्माण हुने यो आयोजनामा लगानी संरचनाको सीमा पनि निश्चित गरिएको छ । त्यस्ता आयोजनामा स्वपुँजी (इक्विटी)को अंश न्यूनतम २० प्रतिशत र ऋणको अंश अधिकतम ८० प्रतिशत तोकिएको छ ।
साभार : अनलाईन खबरबाट
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया