चिनियाँ राष्ट्रपतिको भ्रमणपछि पर्यटनको विकास अझ बढ्छः पूर्वपरराष्ट्रमन्त्री पाण्डे
नुवाकोट । चीनका राष्ट्रपति सी चिनफिङ निकट भविष्यमै नेपालको भ्रमणमा आउनुहुने भएको छ । यसै सन्दर्भमा नेपाल चीन सम्बन्ध, विआरआई र यसबाट नेपालले लिनसक्ने लाभ सम्बन्धमा नेपालका पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेसँग राससकर्मी सञ्चिता घिमिरे र शरद शर्माले लिनुभएको अन्तवार्ताः
१. नेपाल र चीनबीचको सम्बन्ध विगतदेखि अहिलेसम्म कस्तो रहेको पाइन्छ ?
– नेपाल र चीनबीचको सम्बन्ध प्राचीनकालदेखि शुरु भएको हो । स्रङचङ गम्पो, भृकुटीका समयदेखि नै दुई देशबीचको सम्बन्ध विकास भएको हो । तर सधैँ यी दुई देशबीचको सम्बन्ध सौहाद्र्रपूर्ण भने रहेको पाइँदैन, भोटसँगको लडाइँ त्यसको उदाहरण हो । त्यति हुँदाहुँदै पनि भृकुटीको विवाह भयो, जुन विवाह राजनीतिक किसिमको विवाह हो । दौत्य सम्बन्ध सुधार गर्न यो विवाह भएको पनि भनिन्छ । र, यसले पनि दुई देशबीचको सम्बन्धलाई कसिलो बनाउने काम गरेको छ ।
मल्लकालमा र लिच्छवीकालमा आइपुग्दा पनि दुई देशबीचको सम्बन्ध उत्तिकै सौहाद्र्रतापूर्ण रहेको थियो । नेपाल र चीनबीच त्यतिबेलादेखि नै आर्थिक सम्बन्ध पनि रहेको छ । भोटबाट नुन लगायतका सामान ल्याउने गरिएको थियो । केही समय पहिलेसम्म भोटबाट यहाँ राडीसम्म पनि आउने गरेको थियो । सन् २०१६ मा सगरमाथा विवाद उत्पन्न भएको थियो जुन अहिले समाधान भइसकेको छ । यो समस्या नेपाल र चीन सरकारका प्रतिनिधि बसेर समाधान गरिएको थियो । अहिले आएर दुई देशबीचको सम्बन्ध अझै कसिलो हुँदै गएको छ ।
२. नेपालले चीनसँगको सम्बन्धबाट किन पर्याप्त फाइदा लिन सकिरहेको छैन ?
– नेपालमा शिक्षा प्राचीन समयदेखि नै विकसित किसिमको रहँदै आएको पाइन्छ । वास्तवमा हाम्रो ‘ऋषि’बाट नै अङ्गे्रजी शब्द ‘रिसर्च’ बनेको पाइन्छ । बीचको समयमा भने सङ्कीर्णताका कारण शिक्षा खुम्चन गयो । धर्मले शासन गर्ने चलन विश्वभर आयो, त्यो नेपालमा पनि आएको थियो । अहिले कुनै पनि खालको सङ्कीर्णताबाट माथि उठ्नुपर्छ भन्ने चेतना बढिरहेको छ ।
चीनसँगको सम्बन्धमा हामीले प्रविधिलगायतका क्षेत्रमा चीनमा भएको विकासबाट सिक्नुपर्छ । उनीहरुले मारेर दिएको माछा खाने होइन, माछा मार्ने सीप हामीले उनीहरुसँग सिक्नुपर्छ । नेपालमा पहिले चीन र रुसको सहयोगमा कलकारखाना खुलेका थिए तर उदारवादी नीति भन्दै उद्योग कलकारखाना बन्द भएर गए । चीनले तिब्बतको पनि विकास गरिरहेको छ तर हामी भने सुविधाका मात्रै कुरा गर्दा पछि परेका छौँ ।
समानताका आधारमा हेर्ने मूल कुरा भनेको सार्वभौमसत्ता हो । चीनले हाम्रो राष्ट्रिय अखण्डतामा आँच आउने काम गरेको छैन । उनीहरुले हाम्रो स्वाधीनताको सम्मान गरेका छन् । मित्रराष्ट्र भारतसँग पनि जोडिएका प्वाइन्टहरु छन् । चीन र भारत पनि जोडिएका राष्ट्र हुन्, कहिलेकाहीँ त्रिपक्षीय प्वाइन्टहरुमा विवाद उत्पन्न हुन खोजेजस्तो देखिन्छ । जस्तो कि तीनचार वर्षअगाडि एउटा त्रिपक्षीय छलफल हुनुुपर्ने कुरामा भारत र चीनबीच मात्रै सहमति भयो भन्ने कुरा आयो, हामीले हाम्रो कन्सर्न जाहेर ग¥यौँ । चीनसँग पनि जाहेर ग¥यौँ, भारतसँग पनि जाहेर ग¥यौँ । चीनले तुरुन्त रेस्पोन्स ग¥यो । त्यसप्रति हामी सजग छौँ त्यसमा हाम्रा कमीकमजोरी छन् भने सच्याएर जाने भन्ने कुरासमेत ल्याएको छ ।
यसले के देखाउँछ भने उनीहरु आफ्नो विकासमा पनि अवरोध नआओस् र छिमेकीहरुसँग सम्बन्ध पनि सुदृढ र सुमधुर होस् भन्ने चाहन्छन् । नेपाल र चीनका बीच एकअर्काको पारस्परिक हित र पारस्परिक सम्बन्ध एकअर्कालाई सम्मान गर्ने हिसाबले अघि बढेको पाइन्छ ।
३. एक क्षेत्र एक मार्ग ९बिआरआई० परियोजनाबाट नेपालले लिन सक्ने फाइदा के के हुनसक्छन् ?
– अहिले पनि नेपालमा उत्तरी र दक्षिणी छिमेकी विकासमा अघि बढेका छन् त्यसको फाइदा लिनुपर्छ भनिन्छ । भाषण गरेर वा माला जपेर फाइदा लिने होइन, फाइदा लिने हो भने कार्यक्रम बनाउनुप¥यो । हामीले उत्पादन बढाउनुपर्छ, उनीहरुको प्रविधि लिनुपर्छ, उनीहरुबाट हामीले सिक्नुपर्छ । उहाँहरुले मारेको माछा खाएर फाइदा लिने होइन । उहाँहरुले जस्तै माछा मार्न सिकेर फाइदा लिने हो । त्यो पाटोमा हाम्रो शिक्षा, स्वास्थ्य अघि बढ्नुपर्छ, राष्ट्रिय योजना आयोगले योजना बनाउनुपर्छ । जनतालाई सुदृढ बनाउने गरी अघि बढाउनुपर्छ ।
‘बिआरआई’ पहिलेको सिल्क रोडमा आधारित भएर चीनले नयाँ अवधारणा ल्याएको छ । कुनै पनि मुलुकले ल्याएको योजना त्यस मुलुकको राष्ट्रिय हित विपरीत हुने गरी ल्याउँदैन, हितकै पक्षमा ल्याउने हो । बिआरआई अहिलेसम्म हेर्दा यसमा सेना प्रयोग भएको छैन । नेपाल असंलग्न आन्दोलनको संस्थापक सदस्य भएका नाताले हामीले कुनै पनि सैनिक गतिविधिमा संलग्न हुँदैनौँ । यो परियोजनामा सबैभन्दा ठूलो कुरा अर्थतन्त्र र सौहाद्र्रताको विकास गर्ने रहेको छ । सम्बन्ध सुधार गर्ने र विश्वका सबै मुलुकसँगको ‘कनेक्टिभिटी’ स्थापना गर्ने रहेको छ ।
हामीले शुरुदेखि नै यसमा सहमतिमा सही पनि ग¥यौँ । अहिले हामी ‘कनेक्टिभिटी’मा लागेका छौँ, चिनियाँ परराष्ट्रमन्त्री नेपाल आउँदा तीनचार नाकामा छलफल भएको थियो । राष्ट्रपतिको भ्रमणका क्रममा कतिपय सहमतिहरु हुन्छन् । आन्तरिक रुपमा पनि टनेल बनाउने, बाटो सुधार तथा विस्तार गर्ने कुरा पनि आएका छन् । उपत्यकाभित्र र काठमाडौँ बाहिर चीनसँग जोडिने सडकहरुमा उहाँहरुको चासो छ र हाम्रो आवश्यकता पनि छ । यसलाई नकारात्मक टीकाटिप्पणी गर्नु आवश्यक छैन । हामीले हाम्रो राष्ट्रिय हित, सामाजिक परिवर्तन, शिक्षा, विज्ञान, प्रविधि लगायतका कुरामा अरू मुलुुकबाट सिक्नुपर्छ ।
४.एक क्षेत्र एक मार्ग (बिआरआई) का लागि हाम्रो तयारी कस्तो पाउनु भएको छ ?
– एक क्षेत्र एक मार्गको तयारीमा सरकार लागेको छ भन्नेमा म विश्वस्त छु । चिनियाँ राष्ट्रपति आउनुभन्दा अगाडि हाम्रो तालुक मन्त्रालयले तयार गरिरहेको छ । सबैले आफ्नो क्षमता योग्यताअनुसार गर्नुपर्दछ । सरकारका निकाय क्रियाशील छन् ।
५.चीनमा भएजस्तो विकासलाई नेपालले किन पछ्याउन नसकेको हो ?
– हामीले चीनले प्रगति गरेको क्षेत्रमा ध्यान दिएनौँ । हामीले बल्लबल्ल चीनतिर के–के अन्वेषण भएको छ त्यतातिर ध्यान दिन सकेनौँ । हामी आफैँ पनि अन्वेषण गर्नुपर्दछ भनेर अझै योजनाबद्ध तरिकाले लागेका छैनौँ । हामी अहिले बहस छलफलमा छौँ । अनुसन्धान राजनीतिक नेता र कर्मचारीतन्त्रले गर्ने नभई विश्वविद्यालयका प्राध्यापकले चीनबाट हामीले के फाइदा लिन सक्दछौँ भनेर अनुसन्धान गर्नुपर्दछ । राष्ट्रिय–अन्तर्राष्ट्रिय तहमा भएको अनुसन्धानमा भएका निष्कर्ष के हुन् भनेर त्यसको सन्दर्भ नेपालका लागि के कति उपयुक्त हुन्छ, ती उपयुक्त हुने कुरा लागू गर्नुपर्दछ । यो कुरामा हामी भर्खर लागेका छौँ । नेपाली नागरिकको भर्खरै चेतनामा वृद्धि भएको छ । अब चाहिँ हामीले भारत, चीन, अमेरिका युरोपमा भएका अध्ययन–अनुसन्धानका कुरालाई समेटेर आफैँ अन्वेषण गर्ने हो ।
६.चीनसँग रेल, सुरुङ, सडकको स्तरोन्नति, ट्रान्समिशनलाइन, नाका खुलाउनेबाहेक अरू कुन कुन सम्झौता÷परियोजनामा सहकार्य गर्न सकिन्छ ?
– संसारमा नेपालजस्तो भौगोलिक अवस्थाको अर्को मुलुक छैन । संसारमा पाइने सबै प्रकारको हावापानी हाम्रो नेपालमा पाइन्छ । काठ, जडीबुटी, फलफूल, खाद्यान्न खेती सबै यहाँ हुन्छ । यी क्षेत्रका बारेमा हामीले कहीँकतै कहिल्यै पनि अनुसन्धान गरेनौँ । यी कुरामा हामी चीनसँग अनुसन्धानमा सहभागी हुन सक्दछाँै । उहाँहरुलाई हामीले सहभागी गराएर कृषि, उत्पादनको क्षेत्रमा अनुसन्धान गर्ने र त्यही अनुसार उत्पादन बढाउनका लागि चिनियाँ सहयोग लिन सक्दछौँ ।
अर्को हाम्रो कृषि स्रोत–साधनमा आधारित भएका उद्योग–कलकारखानामा सहयोग लिन सक्दछौँ । त्यो उद्योगबाट उत्पादन भएका सामग्री चीन र अरू मुलुकमा निर्यात गर्न सक्दछौँ । ऊर्जाको क्षेत्रमा पनि हामीले सहयोग लिएर विद्युत् उत्पादन गर्ने र त्यो ऊर्जा बेच्न सक्दछौँ । यी क्षेत्रमा हामीले सहयोग लिन सक्दछौँ । चीनमा हामी चिकित्सक, इन्जिनीयरिङ पढ्न पठाउँछाँै । तर ती विषय पढे पनि अनुसन्धानमूलक भएनन् । त्यहाँ अनुसन्धानात्मक पढाइ गरेर त्यसलाई हामीले यहाँ प्रयोग गर्नुपर्दछ । प्रविधि, सामाजिक परिवर्तनका बारेमा पनि चीनबाट सहयोग लिन सकिन्छ ।
चीनले जनतालाई एक ढङ्गले सिकाएर राष्ट्रप्रति बफादार नागरिक उत्पादन गरेको छ । त्यो पनि हामीले सिक्न सक्दछौँ । राष्ट्रलाई सुदृढ गर्नका लागि जनताको चिन्तन प्रणालीमा सुधार गर्नुपर्दछ त्यो पनि हामीले चीनबाट सिक्न सक्दछौँ ।
७.तपाइ मन्त्री भएका बेला नेपाल र चीनबीच सम्बन्ध बढाउन के के काम भएका थिए ?
– म मन्त्री भएका बेला हामी संविधान निर्माणको चरणमा थियौँ । संविधान निर्माण गर्ने भएकाले कतिपय धेरै कुरा चाहेर पनि गर्न सकेनौँ । म परराष्ट्रमन्त्री भएको समयमा सार्क सम्मेलनको तयारीमा जुट्यौँ र सार्क सम्मेलन ग¥यौँ । सार्कसम्मेलनमा चीन पनि अनुगमन गर्न आएको थियो । सहभागी बनेर चीनले सार्कलाई सुदृढ गर्नका लागि आफ्नो स्रोतबाट यसलाई सहयोग गर्ने वचनबद्धता दिएको छ । सार्क विश्वविद्यालय चलाउनमा पनि चीनको सकारात्मक दृष्टिकोण पाइएको छ ।
चीनका परराष्ट्रमन्त्रीसँग व्यापारका विषयमा द्विपक्षीय वार्ता भएको थियो । त्यो वार्तामा व्यापारलाई कसरी बराबरी गर्ने, दुई देशबीचको सम्बन्धलाई कसरी सुदृढ गर्ने विषयमा छलफल भएको थियो तर हाम्रो सम्पूर्ण ध्यान संविधान निर्माण गर्नुपर्नेमा रहेको थियो । एकपटक विघटन भइसकेको संविधानसभा पुनः विघटन नहोस् भनेर सकेसम्म अरूतिर ध्यान नजाओस् भनेर हामीले अरू केही गर्न सकेनौँ । संविधान घोषणा भइसकेपछि चीनले तैपनि धेरै कुरामा सहयोग गरेको छ । यतिखेर भन्ने हो कुनै हातहतियार सेना संलग्न नभएका शान्तिपूर्ण रुपमा विकास र अर्थतन्त्रमार्फत समाजलाई परिवर्तन गरेर जाने र विज्ञान प्रविधिलाई विकास गरेर जाने क्षेत्रमा हामीले चीन, भारत, अमेरिकासँग हात बढाउन सक्छौँ ।
८.अहिले चीनबाट उच्चस्तरीय भ्रमण हुन लागेको छ । यसबाट नेपालले के अपेक्षा राख्न सक्छ ?
– जहाँ जहाँ चीनका राष्ट्रपतिको भ्रमण भएको छ त्यो–त्यो ठाउँमा पर्यटनको विकास राम्रोसँग भएको छ । माल्दिभ्समा उहाँ जानुभयो त्यहाँ चिनियाँ पर्यटकको आकर्षण बढ्यो । यस्तै श्रीलङ्का, बङ्गलादेशमा पनि बढेको छ ।
भारतसँग पनि उहाँहरुबीचको सम्बन्ध सुदृढ हुँदै गएको छ । व्यापार व्यवसाय दुईवटै देशको राम्रो भएको छ । पर्यटक पनि जान्छन् । चिनियाँ बौद्धिक व्यक्तित्वहरु पनि अहिले भारत जाने गरेका छन् । भारतमा नरेन्द्र मोदी प्रधानमन्त्री भएपछि धेरै पटक चीन जानुभएको छ । मलाई नै चिनियाँहरुले तपाईहरुको देशमा पर्यटक आउन कुनै गाह्रो छैन दश लाख पर्यटक चीनबाट आउने ठूलो कुरा होइन भनेका छन् । तपार्इंहरुले बस्न, खानका लागि पूर्वाधार तयार पार्नुहोस् भनेका छन् । एउटा त पर्यटनको क्षेत्रमा यसले योगदान गर्दछ भने अर्को चिनियाँ राष्ट्रपति आइसकेपछि छिमेकीहरुको धारणा के छ भनेर आफू मात्र समृद्ध भएर यो क्षेत्र समृद्ध हुँदैन भन्ने धारणा छ ।
आफ्नो देशलाई सुरक्षित गर्दा छिमेकीहरुलाई विस्तारै उन्नतिमा लैजान सक्यो भने उन्नति भएको छिमेकीले मात्र सहयोग गरेर हामी समृद्ध हुन्छौँ भन्नेमा चिनियाँहरु रहेका छन् । राष्ट्रपतिको भ्रमण भइसकेपछि आर्थिक, पर्यटनको क्षेत्रमा स्रोतसाधनलाई पहिचान गरेर उपयोग गर्न सकिन्छ । शिक्षा, स्वास्थ्यको क्षेत्रमा यो भ्रमणले योगदान गर्दछ । चीनका राष्ट्रपतिले नेपालको भ्रमण गरिसकेपछि अरू मित्रराष्ट्रको आँखामा पनि नेपाल पर्दछ ।
त्यसले गर्दा अरू देशको पनि हामीप्रति सौहाद्र्रता र सहयोग बढ्छ । त्यसमा हामीले सहयोग लिन जान्नुपर्दछ । उनीहरुको नभई हाम्रो चाहनामा काम हुनुपर्दछ । चीनको राष्ट्रपतिको नेपाल भ्रमणपछि अरू मित्रराष्ट्रको पनि सहयोग नेपाललाई हुन्छ । राष्ट्रपतिको भ्रमणपछि चीनसँगको सम्बन्ध अझै सुदृढ हुन्छ ।
तत्कालका लागि होइन भविष्यसम्मका लागि हामीले सकारात्मक बनाउने, सहयोगी बनाउने र सौहार्द्रताको वातावरणमा अन्तर्राष्ट्रिय सङ्घसंस्था संयुक्त राष्ट्रसङ्घ, क्षेत्रीय सहयोग सङ्गठन, जी–२० जस्ता संस्थाबाट हामीले अपेक्षा गरेअनुसार ढङ्ग पु¥यायौँ भने मुलुकमा सहयोग आउने र हाम्रो अर्थतन्त्रमा सुधार आउनेछ । यसले गर्दा सन् २०२२ मा विकासशील मुलुक हुने, सन् २०३० सम्म दिगो लक्ष्यका उपलब्धि हासिल गर्ने जस्ता कुरामा हामी सहज रुपमा जान सक्दछौँ ।
(रासस)
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













जेनजी आन्दोलनमा लुटपाट गर्ने नुवाकाेटका श्रेष्ठ समातिए
अविरल वर्षाका कारण नुवाकोटको जनजीवन प्रभावित
सबै दलहरु निर्वाचनमा भाग लिन सहमत
प्रतिनिधिसभा विघटनविरुद्ध भएन अन्तरिम आदेश
देशभर बदली, कोशी–बागमतीमा मध्यम वर्षा र उच्च पहाडमा हिमपातको सम्भावना





प्रतिक्रिया