डिएनएको बहानामा भोटेकोसी बाढीपीडितलाई थप पीडा

प्राकृतिक विपत्ति आफैंमा अकल्पनीय र पीडादायी हुन्छ।

गत भदौमा भोटेकोसी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीले कैयौं परिवारको खुसी लुटेको छ, कैयौंलाई घरबारविहीन बनाएको छ। तर, विपत्तिले दिएको घाउमा मल्हम लगाउनुपर्ने राज्य संयन्त्रको ढिलासुस्ती र अव्यवहारिक निर्णयका कारण पीडित परिवारहरूले अहिले दोहोरो पीडा भोग्नुपरिरहेको छ। महिनौं बितिसक्दा पनि आफ्ना प्रियजनको शव नपाएर छटपटाइरहेका परिवारहरूको आँसुले आज राज्यमाथि गम्भीर प्रश्न उठाएको छ।
बाढीपछि फेला परेका शवहरू पीडित परिवारले प्रत्यक्ष पहिचान गरी आवश्यक प्रमाणसहित दाबी गर्दा समेत राज्यले शव हस्तान्तरण गर्न आनाकानी गरिरहेको छ। ‘DNA परीक्षण नगरी शव नदिने’ सरकारी अडानका कारण पीडित परिवारहरू अनिश्चितकालसम्म प्रतीक्षाको पीडामा बाँच्न बाध्य छन्। यहाँनेर गम्भीर प्रश्न उब्जिन्छ— पीडितले प्रमाणसहित दाबी गर्दा समेत राज्यलाई शव हस्तान्तरण गर्न कसले छेक्यो ?
कुनै पनि विपद्पछि वैज्ञानिक पद्धति अपनाउनु सिद्धान्ततः गलत होइन। तर, राज्यले DNA परीक्षण अनिवार्य गर्ने निर्णय लिनुअघि आफूसँग भएको वास्तविक क्षमताको मूल्याङ्कन गरेको थियो त ? के राज्यसँग सयौंको संख्यामा संकलित नमुनाको छिटो परीक्षण गर्न आवश्यक दक्ष जनशक्ति उपलब्ध थियो ? प्रयोगशालामा चाहिने रसायन (केमिकल) तथा उपकरणहरू पर्याप्त थिए ?
यदि आवश्यक प्राविधिक पूर्वाधार, आधुनिक प्रयोगशाला र विशेषज्ञताको अभाव थियो र तत्कालै त्यसको व्यवस्था गर्न सकिने अवस्था थिएन भने, के राज्यले प्रविधिको नाममा नागरिकलाई अनन्तकालसम्म पीडामा राख्न पाउँछ ? प्रविधि त नागरिकको जीवन सहज बनाउन र संकटको घडीमा छिटोछरितो राहत दिन प्रयोग हुनुपर्ने हो। तर, भोटेकोसी बाढीको सन्दर्भमा प्रविधिको अव्यवहारिक प्रयोगले पीडितको घाउमा नुनचुक छर्ने काम मात्र गरेको छ। प्रविधि भित्र्याउनु वा नियम बनाउनु मात्र ठूलो कुरा होइन, त्यसलाई सही ढङ्गले व्यवस्थापन गरेर नागरिकलाई समयमै परिणाम दिन सक्नु राज्यको वास्तविक सफलता हो।
सरकारका लागि DNA परीक्षण एउटा प्राविधिक प्रक्रिया वा प्रयोगशालाको कागजी रिपोर्ट मात्र होला। तर, विपत्तिमा आफ्ना परिवारका सदस्य गुमाएका पीडितहरूका लागि त्यो रिपोर्ट महिनौंदेखि पर्खिरहेको प्रियजनको अन्तिम चिनो र पहिचान हो। त्यो रिपोर्टसँग पीडित परिवारको गहिरो भावना, आँसु, धार्मिक संस्कार, पितृकार्य र मानसिक शान्ति जोडिएको छ।
नेपाली समाजमा दिवङ्गत आफन्तको विधिपूर्वक दाहसंस्कार र काजकिरिया गर्न नपाउँदासम्म परिवारले शोकबाट मुक्ति पाउँदैनन्। महिनौंसम्म शव अस्पतालको चिसो कोठामा थन्क्याएर राख्दा एकातिर परिवारजन मानसिक आघातमा छन् भने अर्कोतिर राज्यको कार्यशैलीप्रति नागरिकको विश्वास टुट्दै गएको छ।
राज्यको आधुनिकता र प्रविधिको दक्षता देखाउने नाममा पीडित परिवारको संवेदनामाथि भइरहेको यो खेलबाड तत्काल बन्द हुनुपर्छ। पीडितले अझै कति समयसम्म आफ्ना प्रियजनको शव कुरिरहनुपर्ने हो ?

प्रयोगशालाको ढिलासुस्तीको मार पीडितले कहिलेसम्म खेप्ने ? सरकारसँग अब स्पष्ट र चित्तबुझ्दो जवाफ मात्र होइन, तत्काल शव हस्तान्तरण गर्ने ठोस कार्ययोजनाको खाँचो छ।
लेखक प्रकाश जोशी हुन् । उनी भोटेकोशी बाढी प्रभावित समेत हुन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना









डिएनएको बहानामा भोटेकोसी बाढीपीडितलाई थप पीडा
भोटेकोशी बाढीको ९० दिन : न पुल बन्यो, न विस्थापितको पुनर्वास
सरकारलाई गगनको चेतावनी– पक्राउ गर्ने भए हतकडी लिएर आउनु
नुवाकोट अमेरिका सम्पर्क समितिद्वारा बाढी प्रभावित विद्यार्थीलाई साढे १५ लाख सहयोग
चण्डी माविका १२० विद्यार्थीलाई न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण





प्रतिक्रिया