गगन थापालाई प्रधानमन्त्री उम्मेदवार घोषणा गरेर चुनावमा जाँदै कांग्रेस
नुवाकोट । सभापति गगनकुमार थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर कांग्रेस चुनावी मैदानमा उत्रने भएको छ ।

शुक्रबार पार्टी मुख्यालय सानेपामा बस्ने केन्द्रीय कार्यसमिति बैठकको प्रमुख एजेन्डा यही छ । एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली र रास्वपाले वरिष्ठ नेता बालेन्द्र शाहलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेका छन् ।
तत्कालीन सभापति शेरबहादुर देउवा नेतृत्वको केन्द्रीय कार्यसमितिमा पनि थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउनुपर्ने आवाज उठेको थियो । तर, देउवा तयार नहुँदा निर्णय हुन सकेको थिएन । विशेष महाधिवेशनले थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति चयन गरेपछि उनलाई भावी प्रधानमन्त्री घोषणा गरेर कांग्रेस निर्वाचनमा होमिन लागेको प्रवक्ता देवराज चालिसेले बताए ।
थापाले उम्मेदवारी दिएको सर्लाही–४ मा ‘अबके बाद, गगन सरकार’ भन्दै प्रचार अभियान सुरु भइसकेको छ । टिकट वितरणमा ढिलाइले वारेसमार्फत उम्मेदवारी मनोनयन गरेका थापा शुक्रबार केन्द्रीय कार्यसमिति बैठकपछि मात्र आफ्नो निर्वाचन क्षेत्र जाँदै छन् ।
सक्रिय राजनीतिमा तीन दशक लामो संघर्षपछि पार्टी नेतृत्वमा पुगेका थापालाई प्रधानमन्त्रीका रूपमा अघि सार्दै चुनावी माहोल आफ्नो पक्षमा पार्ने रणनीति कांग्रेसले लिएको हो । थापाको राजनीतिमा पहिचान त्रिचन्द्र क्याम्पसमा नेविसंघ नेताबाट सुरु भएको हो, जति बेला उनी आईएस्सी पढ्दै थिए ।
२०५१ मा स्ववियु सदस्य निर्वाचित भएका उनी दुई वर्षपछि सभापति भए । २०५७ मा नेविसंघको उपाध्यक्ष र २०५९ मा महामन्त्री बने । उनी महामन्त्री भएकै बेला भएको विद्यार्थी आन्दोलनका क्रममा राजद्रोहको आरोपमा पटक–पटक पक्राउ परेका थिए ।
तत्कालीन राजा ज्ञानेन्द्र शाहले सत्ता हातमा लिएपछि त्यसविरुद्ध १ पुस २०६० मा भएको विद्यार्थी आन्दोलनमा नाराबाजी गर्दा सूर्यबहादुर थापा नेतृत्वको सरकारले नेविसंघका तत्कालीन अध्यक्ष गुरुराज घिमिरे, महामन्त्री थापा र अनेरास्ववियुका नेता पुरुषोत्तम आचार्यलाई राजद्रोहको आरोपमा पक्राउ गर्यो । १० दिनपछि उनीहरू हिरासतमुक्त भए ।
नागरिक समाजले १० साउन २०६१ मा आयोजना गरेको कार्यक्रममा गगनले राजतन्त्रको विरोध र गणतन्त्रको पक्षमा भाषण गरे । यो बेलासम्म कांग्रेस गणतन्त्रको पक्षमा थिएन । पार्टीको निर्णयभन्दा फरक गणतन्त्रको पक्षमा बोलेको दुई दिनपछि राजद्रोह आरोपमा उनी पक्राउ परे र तीन सातापछि छुटे । त्यति बेला नेविसंघ दसौं महाधिवेशन संघारमा थियो ।
हिरासतबाट छुटेर थापा सिधै महाधिवेशनस्थल पोखरा पुगेका थिए । उनी नेविसंघ अध्यक्ष हुने माहोल देखिएपछि महाधिवेशन नै बिथोलियो । तत्कालीन पार्टी सभापति गिरिजाप्रसाद कोइरालाले उनलाई ‘दरबारको एजेन्ट’ भन्ने आरोपसमेत लगाए । त्यतिबेला कोइरालाले भनेका थिए, ‘गणतन्त्र चाहियो भन्ने हो भने दरबारले दमन गर्छ र लोकतन्त्र पनि हरण हुन्छ, त्यसैले गणतन्त्रको आवाज उठाउनेहरू दरबारिया हुन् ।’
गगनले पनि कोइरालालाई आरोप पुष्टि गर्न चुनौती दिए । पार्टी नेतृत्व र महाधिवेशन प्रतिनिधिको मत एकै ठाउँ नहुने निश्चित भएपछि अधिवेशन भाँडिएको थियो । बरु केही महिनापछि चितवनमा भएको महाधिवेशनमा गगनको समेत समर्थनमा नेविसंघ अध्यक्षमा प्रदीप पौडेल निर्वाचित भएका थिए ।
थापाले २०५९ देखि नै गणतन्त्रको मुद्दा बोकेका थिए । यसका लागि उनलाई पार्टी नेतृत्वले तर्साएको थियो । तर २०६२ को भदौमा सम्पन्न महाधिवेशनबाट कांग्रेसले आफ्नो विधानबाट ‘संवैधानिक राजतन्त्र’ मान्ने प्रतिबद्धता फिर्ता गर्यो । त्यसपछि भएको २०६२/६३ को जनआन्दोलनमा उनी विद्यार्थी नेताका तर्फबाट अग्रपंक्तिमा थिए । जनआन्दोलनताका शान्तिवाटिकामा उनले ढुंगा हान्दै गरेको फोटोले निकै चर्चा पायो ।
जनआन्दोलनको सफलतापछि २०६४ मा भएको संविधानसभा निर्वाचनमा समानुपातिकतर्फबाट थापा संसद् छिरे । उनी त्यतिबेला नेता नरहरि आचार्यको गणतान्त्रिक वैचारिक समूहमा आबद्ध थिए । पार्टीमा आचार्य तत्कालीन सभापति कोइरालाका प्रतिद्वन्द्वी थिए । सिंगो पार्टी परम्परागत संसदीय प्रणालीको पक्षमा अडिग रहँदा आचार्य, थापा, सुप्रभा घिमिरेजस्ता केही नेताले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुने शासकीय स्वरूपको पक्षमा वकालत गरेका थिए । उनीहरू समावेशिता, संघीयता र नागरिक अधिकारका सवालमा खुलेर अग्रगामी धारमा थिए । त्यो लाइनमा सम्पूर्ण कांग्रेस समाहित भयो । गणतन्त्रको मुद्दाले थापालाई राष्ट्रिय राजनीतिमा स्थापित गरायो ।
असोज २०६७ मा भएको १२ औं महाधिवेशनबाट थापा पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित भए । २०७२ फागुनमा भएको १३ औं महाधिवेशनमा नरहरि आचार्य संस्थापनपक्षमा सामेल भइसकेका थिए । सुशील कोइरालाको प्रतिस्पर्धामा उत्रिएका नेता कृष्णप्रसाद सिटौलाको समूहबाट थापाले महामन्त्रीमा प्रतिस्पर्धा गरे । त्यति बेला ससुरा अर्जुननरसिंह केसी देउवातर्फबाट प्रतिस्पर्धी थिए । ससुरा–ज्वाइँ दुवै पराजित हुँदा बीपी–पुत्र शशांक कोइराला महामन्त्रीमा विजयी भए । यसपछि थापाको सिटौलासँगको सम्बन्ध कमजोर हुँदै गयो र टुट्यो । थापा मंसिर २०७८ मा भएको १४ औं महाधिवेशनमा नेता शेखर कोइरालासँग उभिए । कोइराला सभापतिमा पराजित भए पनि गगन महामन्त्रीमा निर्वाचित भए ।
गत भदौमा भएको जेन–जी विद्रोहपछि राजनीतिमा नयाँ पुस्ताको माग भइरहेका बेला २७ देखि ३० पुससम्म भएको विशेष महाधिवेशनले थापालाई कांग्रेस सभापति बनाएको हो । थापा नेतृत्वको नयाँ केन्द्रीय कार्यसमिति चयन भएको एक सातापछि पार्टी मुख्यालय सानेपामा पहिलो पटक शुक्रबार बैठक बस्न लागेको हो ।
पूर्वसभापति शेरबहादुर देउवा पक्षले विशेष महाधिवेशनलाई अवैधानिक भन्दै आएको र पार्टी केन्द्रीय कार्यालय सानेपा नछाडेका कारण थापा नेतृत्वको नवनिर्वाचित केन्द्रीय कार्यसमितिको यसअघिको बैठक होटल र पार्टी प्यालेसहरूमा बस्दै आएको थियो ।
देशभर १६५ निर्वाचन क्षेत्रकै टिकट वितरण गर्दासमेत कांग्रेसले सानेपामा नभएर बाहिर बैठक बसेर वितरण गरेको थियो । विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिलाई निर्वाचन आयोगले गत शुक्रबार अद्यावधि गर्ने निर्णय लिएपछि देउवा पक्ष त्यसको खारेजीको माग गर्दै सर्वोच्च गएको छ । सर्वोच्चले अन्तरिम आदेश दिन इन्कार गरेपछि थापा नेतृत्वको केन्द्रीय कार्यसमिति बैठक सानेपामा बोलाइएको हो ।
विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिलाई अद्यावधि गर्ने निर्वाचन आयोगको निर्णय संविधान र कानुनविपरीत भएको भन्दै सर्वोच्च गएपछि देउवा पक्षका धेरै नेताहरू थापाले हस्ताक्षर गरेकै टिकटबाट चुनावी प्रतिस्पर्धामा छन् ।
पूर्वसभापति देउवाले समेत थापाले हस्ताक्षर गरेको टिकटबाट उम्मेदवार हुन चाहेका थिए तर सभापति थापाले अभिभावक भएर बसिदिन गरेको आग्रहबमोजिम देउवाले चुनाव नलड्ने घोषणा गरेका थिए । देउवापछि सर्वोच्चमा मुद्दा दायर गर्न नेतृत्व लिएका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले भने नैतिकताका आधारमा चुनाव नलड्ने घोषणा पहिल्यै गरेका थिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













तारकेश्वरमा अध्यक्ष कप फुटबल प्रतियोगिता सुरु
गगन थापालाई प्रधानमन्त्री उम्मेदवार घोषणा गरेर चुनावमा जाँदै कांग्रेस
शुक्रवारदेखि नेपालमा वर्षा हुने
रेशम चौधरीको उम्मेदवारी खारेज
रास्वपाले उठाएका उम्मेदवारमध्ये ४० प्रतिशत ४० वर्षमुनिका





प्रतिक्रिया