अब म्यादी होइन, निर्वाचन प्रहरी

विदुर खबर २०८२ मंसिर १६ गते १२:२३

नुवाकोट । निर्वाचन सुरक्षाका लागि भर्ना गरिने जनशक्तिलाई अब ‘निर्वाचन प्रहरी’ नामकरण गरिने भएको छ ।

Advertisement

नेपाल प्रहरीमातहत भर्ना गरिने यस्तो जनशक्तिलाई विगतमा ‘म्यादी प्रहरी’ भनिने गरिएको थियो । गृह मन्त्रालयले आगामी प्रतिनिधिसभा निर्वाचनको सुरक्षार्थ भर्ना गर्न लागिएको जनशक्तिलाई निर्वाचन प्रहरीको पहिचान दिने निर्णय गरेको मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए । ‘

म्यादी प्रहरीको साटो निर्वाचन प्रहरी नामकरण गरेर ४० दिनको कार्यअवधिसहित भर्ना गर्ने गरी प्रक्रिया अघि बढाइएको छ,’ उनले भने, ‘नामकरण नै सबैथोक त होइन, तर म्यादीको साटो निर्वाचन प्रहरी राख्दा एक किसिमको अपनत्व हुन्छ, जुन कामका लागि खटिएको हो, त्यसको पहिचान पनि झल्कन्छ ।’

Advertisement

गृह मन्त्रालयका अनुसार ‘निर्वाचन प्रहरी भर्ना छनोट नियुक्ति तथा परिचालनसम्बन्धी मापदण्ड–२०८२’ को मस्यौदा प्रहरी प्रधान कार्यालयबाट बन्ने क्रममा छ । प्रहरीमातहत रहने गरी निर्वाचन प्रहरीलाई छनोटदेखि मत परिणाम नआउन्जेलसम्म कार्यअवधि गणना गरेर खटाइनेछ । यसरी खटिने सुरक्षाकर्मीलाई प्रहरी जवानले पाउने आधारभूत तलबमानअनुसार पारिश्रमिक दिइनेछ भने जवानले तत्तत् जिल्लामा पाउने स्केलअनुसार रासन भत्ता दिइनेछ । विगतमा अपनाइएका अभ्यासअनुसार पोसाक भत्ता, यात्रा गर्दा सवारी भत्ता पनि उनीहरूलाई दिइनेछ ।

२०७९ को प्रतिनिधिसभा निर्वाचनमा खटिएका म्यादीलाई ४० दिनको कार्यअवधि तोकेर प्रतिदिन ८ सय ६९ रुपैयाँका दरले ३४ हजार ७ सय ६० रुपैयाँ पारिश्रमिक दिइएको थियो । रासनबापत ७ हजार २ सय र हिमाली जिल्लाको हकमा जिल्लाको न्यूनतम रासन दरअनुसार रकम दिइएको थियो । तोकिएका पोसाक ६ हजार र ज्याकेट किन्न थप १ हजार, यातायात खर्चबापत १ हजार र तीन दिनका लागि दैनिक ३ सयका दरले खाजा खर्च उपलब्ध गराइएको थियो ।

Advertisement

आसन्न निर्वाचनमा करिब १ लाख ३० हजार निर्वाचन प्रहरी भर्ना गर्ने सरकारको तयारी छ । गृह मन्त्रालयका अनुसार २०७९ को प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सुरक्षामा १ लाख १५ हजार म्यादी प्रहरी भर्ना गरिएको थियो । त्यही वर्ष सम्पन्न स्थानीय तह निर्वाचनमा करिब १ लाख म्यादी भर्ना भएका थिए । त्यसअघि २०७४ को प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा करिब ९८ हजार र त्यही वर्षको स्थानीय तह निर्वाचनमा ७५ हजार तथा २०७० मंसिरमा सम्पन्न दोस्रो संविधानसभा निर्वाचनमा ४५ हजार म्यादी प्रहरी भर्ना गरिएको थियो ।

निर्वाचनमा म्यादी सुरक्षाकर्मी खटाउने अभ्यास पुरानै हो । पञ्चायतकालमा राष्ट्रिय पञ्चायत (हालको सभामुखसरह) अध्यक्ष तथा पटक–पटक मन्त्रीलगायत सार्वजनिक ओहदामा रहेका राजनीतिज्ञ नवराज सुवेदी निर्वाचन सुरक्षामा म्यादी प्रहरी खटाउने चलन पहिलेबाटै भएको बताउँछन् । ‘बहालमा रहेका प्रहरी र सेनाबाट मात्रै निर्वाचन सुरक्षामा जनशक्ति अभाव देखिएपछि म्यादी प्रहरीका रूपमा अवधि तोकेर भर्ना लिइने चलन पञ्चायतकालमै थियो, २०४८ पछिका निर्वाचनमा पनि यसलाई निरन्तरता दिइयो,’ पूर्वमन्त्रीसमेत रहेका सुवेदी भन्छन्, ‘खासगरी पूर्वसेना/प्रहरी, विभिन्न मुलुकमा भर्ती भएर काम गरेका पूर्वलाहुरेलाई म्यादी प्रहरी भर्नामा प्राथमिकता दिइन्थ्यो ।’

पूर्वसेना, प्रहरी र विदेशी मुलुकमा भर्ती भएर अवकाश पाएका व्यक्तिलाई म्यादीमा प्राथमिकता दिइँदै आइएको छ । २०७९ को निर्वाचनमा १८ वर्ष पुगेर ५४ वर्ष ननाघेका नेपाली नागरिकलाई म्यादीमा आवेदन दिन पाउने व्यवस्था गरिएको थियो । त्यसमध्ये सेना, प्रहरी, सशस्त्र प्रहरीबाट उपदान तथा निवृत्तिभरण भएका, पूर्ववन रक्षक, सुरक्षा निकायमा स्थायी भर्नाका लागि आवेदन दिएर शारीरिक तन्दुरुस्तीमा उत्तीर्ण गरेका नागरिक तथा विगतका निर्वाचनमा भाग लिएर सन्तोषजनक काम गरेका व्यक्तिलाई म्यादी भर्नामा प्राथमिकता दिइएको थियो । यस पटक पनि भर्नामा यसलाई नै आधार बनाइने प्रहरी प्रधान कार्यालयका एक अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया