काठमाडौँ–केरुङ रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन अन्तिम चरणमा

विदुर खबर २०८२ कार्तिक ९ गते १४:४७

प्रस्तावित काठमाडौँ–केरुङ रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन अन्तिम चरणमा पुगेको छ।

Advertisement

चिनियाँ प्राविधिक टोलीले ड्रोन र भौगर्भिक सर्भे सकाइसकेका छन् भने अब हेलिकप्टरमार्फत एरियल सर्भे गर्न स्वीकृतिका लागि प्रस्ताव मन्त्रालयमा पुगेको छ।

बीबीसीमा प्रकाशित समाचार अनुसार, चीनको सहयोगमा भइरहेको यो रेलमार्गको अध्ययनका क्रममा प्राविधिक टोलीले मार्गको अलाइन्मेन्ट र जमिनको भित्री संरचनाबारे विस्तृत अध्ययन गरिसकेको छ। टोलीले हेलिकप्टरमार्फत थप नापतोल गर्न इच्छा व्यक्त गरेपछि रेल विभागले त्यसका लागि प्रस्ताव भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पठाएको जनाएको छ।
रेल विभागका सूचना अधिकारी इन्जिनियर बोधप्रसाद भण्डारीका अनुसार स्थलगत काम सकिएको छ र चिनियाँ टोली केही महिनाअघि नै स्वदेश फर्किसकेको हो।

Advertisement

उनले भने, “यहाँका आवश्यक कामहरू सकिएका छन्, र चिनियाँ पक्षले २०२६ को जुन महिनासम्म विस्तृत प्रतिवेदन नेपाल सरकारलाई बुझाउने प्रतिवद्धता जनाएको छ।” भण्डारीका अनुसार हवाई सर्वे थप अध्ययनका लागि आवश्यक रहेको भन्दै स्वीकृतिका लागि प्रस्ताव पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पनि पठाइएको छ। तर, अझै अन्तिम निर्णय भइसकेको छैन।

चिनियाँ अनुदानमा भइरहेको यो अध्ययन फर्स्ट सर्भे एन्ड डिजाइन इन्स्टिट्यूट ग्रुप मार्फत भइरहेको हो। प्रारम्भिक अध्ययनले रेलमार्गको कुल लम्बाइ करिब ७२ किलोमिटर हुने देखाएको छ, जसमा करिब ९५ प्रतिशत भाग जमिनमुनि पर्नेछ। त्यसमा ६८.६ किलोमिटर भाग सातवटा सुरुङमार्फत र २.६ किलोमिटर भाग नौवटा पुलमार्फत बन्नेछ।

Advertisement

सन् २०१९ मा चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका क्रममा दुवै देशबीच काठमाडौँ–केरुङ रेलमार्गको विस्तृत आयोजना प्रतिवेदन तयार पार्ने सहमति भएको थियो। यो रेलमार्गलाई नेपाल–चीनबीचको हिमालयपार सम्पर्क सञ्जालको प्रमुख पूर्वाधारका रूपमा हेरिएको छ।

प्रतिक्रिया