रसुवागढी नाका तीन महिनादेखि ठप्प
नुवाकोट । रसुवागढी भन्सार नाका ठप्प भएको तीन महिना पुग्यो ।

नाका जोड्ने बेलिब्रिज र सडक अझै बनिसकेका छैनन् । गत २४ असार मा ल्हेन्दे खोलामा आएको बाढीले नाका जोड्ने पुल बगाएसँगै रसुवागढी नाका ठप्प बनेको हो । नाका सञ्चालनमा आउन पहिला ल्हेन्दे खोलामा बेलिब्रिज बने रसुवागढीदेखि–स्याफ्रुबेंसी जोड्ने सडक सहज हुनुपर्छ ।
तर न बेलिब्रिज बनिसकेको छ, न सडक खुलिसकेको छ । चीनले अहिले दुवै (नेपाल–चीन) तर्फ बसेर बेलिब्रिज निर्माण गरिरहेको छ । दसैंसम्म बेलिब्रिज बनेको भए तिहारअघि नाका खुल्ने सम्भावना थियो ।
दसैंपछि काम भइरहे पनि अब नाका खुल्न कठिन रहेको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईले जनाए । ‘पुल बनिसकेको छैन, सक्दो छिटो बनाएर हस्तान्तरण गर्ने गरी काम भइरहेको बुझिएको छ,’ उनले भने, ‘तर समय लागिरहेको छ, नेपालतर्फको सडक पनि बनिसकेको छैन ।’
चीनबाट तयारी वस्तु यो नाका हुँदै नेपाल आउँथ्यो । दिनको करिब एक सय कन्टेर यो नाकाबाट ओहोरदोहोर गर्थे । चाडबाडमा बढी खपत हुने स्याउ पनि यो नाका भएर नेपाल आउँथ्यो ।

सबैभन्दा धेरै विद्युतीय सवारीसाधन यही नाकाबाट भित्रिने गरे पनि अहिले आयात बन्द छ । चाडबाडमा अटो व्यवसायीले विभिन्न अफर राखेर नयाँ–नयाँ सवारीसाधन भित्र्याउँथे । अहिले यो नाका ठप्प हुँदा मुस्ताङको कोरलाबाट विद्युतीय गाडी र लत्ताकपडा आइरहेको छ ।
रसुवा भन्सार कार्यालयले चालु आर्थिक वर्षमा राजस्व संकलनको लक्ष्य ४० अर्ब १६ करोड रुपैयाँ राखेको छ । ‘अहिलेसम्म १२ अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य थियो, तर नाका नखुल्दा सम्भव भएन,’ भट्टराईले भने, ‘नयाँ आर्थिक वर्ष सुरु भएयता राजस्व संकलन शून्य छ ।’ नाका ठप्प बनेपछि अहिले भन्सारका कर्मचारी कार्यालय कुरेर बसिरहेका छन् । चाडबाडका बेला अघिपछिको तुलनामा झन् बढी राजस्व उठ्थ्यो, तर यस पटक त्यस्तो वातावरण नबनेको उनको भनाइ छ ।
यता स्याफ्रुबेंसीदेखि रसुवागढी नाकासम्म १६ किलोमिटर सडकको विभिन्न खण्डमा पहिरो गएर समस्या भएको छ । पटक–पटक पहिरो खसेर सडक अवरुद्ध हुँदै आएको छ । २४ असारपछि यो सडक राम्रोसँग सञ्चालनमा आउन सकेको छैन ।
खुल्दै–बन्द हुँदै गर्नाले सवारी आवागन प्रभावित बनेको छ । भौगोलिक बनावटले गर्दा पनि तत्काल पहिरो खुलाउन समस्या हुने गरेको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक योजना कार्यालयका प्रमुख कृष्णनाथ ओझाले बताए ।
‘स्याफ्रुबेंसीदेखि नाकासम्म नै केही दिनभित्रमा एकतर्फी सवारीसाधन सञ्चालन गर्ने गरी काम भइरहेको छ,’ ओझाले भने, ‘टिमुरेबाट रसुवागढीसम्मको खण्डमा पहिरो खसेर चटान मात्र छ, यो काम सक्न बढीमा तीन दिन लाग्छ ।’
त्यसपछि पूरै सडक खण्डमा एकतर्फी यातायात सञ्चालन हुने उनको भनाइ छ । अघिपछि चाडबाडका बेला कन्टेनर र व्यवसायीको भीडभाड हुने रसुवागढी नाका अहिले सुनसान छ । पुल बनेपछि नाकाबाट सामान भित्रिन थाल्नेछ । बेलिब्रिज निर्माणको अन्तिम चरणमा रहेकाले तिहारपछि सञ्चालनमा आउने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले बताए ।
‘बेलिब्रिज बनिरहेको छ, तिहारपछि यो सञ्चालनमा आउँछ,’ उनले भने, ‘त्यहीअनुसार नेपालतर्फ पनि सडक खुलाउने काम जारी छ ।’ माथिबाट सडक खोल्ने र तलबाट भोटेकोशीले खोतलिरहँदा सुरु–सुरुमा समस्या भएको थियो । फेरि पछिल्लो समय लगातार परेको पानीका कारण ठाउँ–ठाउँमा पहिरो खस्दा सवारी आवागमन ठप्प बनेको सडक विभागले जनाएको छ ।
विभागका अनुसार अहिले पहिरो पन्छाउन दुई वटा मेसिन परिचालन गरिएको छ । पानी नपरे पहिरो पन्छाउन समस्या नहुने विभागको भनाइ छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












सुनको मुल्य एकैदिन तोलामा साढे १२ हजारले घट्यो
रसुवामा एम्बुलेन्स दुरुपयोग गरी तस्करी गर्ने चारजना पक्राउ
रसुवागढी नाकाबाट लागुपदार्थसहित एक जना पक्राउ
एसईईका लागि रसुवामा ६ केन्द्र तोकिए
आजको मौसम : चट्याङ्गसहित वर्षाको सम्भावना





प्रतिक्रिया