केरुङमा रोकिएका नेपालीलाई तातोपानी नाकाबाट नेपाल ल्याइने

विदुर खबर २०८२ साउन २ गते २०:०५

रसुवा । केरुङमा रोकिएका नेपालीहरुलाई तातोपानी नाकाबाट नेपाल ल्याइने भएको छ ।

Advertisement

गत असार २४ गतेको ल्हेन्दे खोलाको बाढीले मितेरी पुल बगाएपछि केरूङमा रोकिएका नेपालीलाई सिन्धुपाल्चोकको तातोपानी नाकाबाट नेपाल ल्याइने प्रक्रिया अघि बढाइएको हो ।

जिल्ला प्रशासन कार्यालय रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलका अनुसार यसका लागि चीन सरकारसँग कूटनैतिक पहलसमेत थालिएको छ ।

Advertisement

‘केरुङ नाका पूर्णरुपमा अवरुद्ध भएपछि तातोपानी नाकाबाट नेपाल ल्याउने प्रक्रिया अघि बढाइएको हो । यसका लागि चिनियाँ पक्षसँग समेत कुटनैतिक पहल गरिएको छ’ पौडेलले भने ।

कामको सिलसिलामा त्यहाँ रहका तथा कन्टेनरहरुका चालक सहचालकलाई प्राथमिकतामा राखेर जतिसक्दो चाँडो वैकल्पिक मार्गबाट नेपाल ल्याउने पहस सुरु गरिएको उनको भनाइ छ ।

Advertisement

गत असार २४ गते बिहान चीनतर्फबाट आएको हिमबाढी भोटेकोशीमा मिसिँदा विनाशकारी बनेको थियो । बाढीमा परी ११ शव र मानवअंगहरू फेला परेका छन् भने १८ जना सम्पर्कविहीन छन् ।

बाढीले नेपाल–चीन मितेरी पुल भत्काइदिनुका साथै रसुवागढी–स्याफ्रुबेसी खण्डको १६ किलोमिटर क्षेत्रको सडक पूर्णरुपमा अवरुद्ध भएको छ ।

रसुवागढी सुक्खा बन्दरगाह, सो क्षेत्रमा पर्ने तीनवटा जलविद्युत आयोजना र भन्सार क्षेत्रबाट करिब एक सय गाडीहरु बगाएको थियो ।

प्रतिक्रिया