रसुवा बाढी : तीन प्रहरीसहित १५ जना बेपत्ता, बाढीमा फसेका नौ जनाको उद्धार

विदुर खबर २०८२ असार २४ गते ११:२१

नुवाकोट । चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा आएको बाढीमा परेर तीन प्रहरी सहित १५ जना बेपत्ता भएका छन् । चीनतर्फ भारी वर्षा हुँदा भोटेकोशी खोलामा आएको बाढीमा परेर प्रहरी र चिनिया कामदार गरी १५ जना बेपत्ता भएका हुन् ।

Advertisement

रसुवागढी भन्सार कार्यालयको यार्डमा फसेका ९ जनाको भने उद्धार गरीएको छ । अहिले उद्धार तथा खोजका लागि सुरक्षाकर्मी परिचालन भइसकेको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले जानकारी दिनुभयो ।

रसुवाको केरुङ र लेन्देखोलामा अचानक आएको बाढीले रसुवागढी जलविद्युत आयोजनाको बाहिरी संरचनामा पूर्ण क्षति पुर्‍याएको छ । करिब तीन बजे आएको बाढीले रसुवास्थित टिमुरेमा निर्माणाधीन सुख्खा बन्दरगाहमा पनि क्षति पुगेको छ ।

Advertisement

भन्सार जाँच पास गर्न राखिएका र भइसकेका केही विद्युतीय सवारी साधन बगाएको अनुमान गरिएको छ । रसुवागढीस्थित चीनतर्फ जोड्ने मितेरी पुललाई पनि बाढीले बगाएको छ । यसैबीच स्थानीय प्रशासनले त्रिशुलीका तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन आग्रह गरेको छ ।

यसैबीच त्रिशूली नदीको उच्च वहावमा फसेका दुई जनाको सकुशल उद्धार गरिएको छ । नेपाली सेनाको हेलिकप्टरद्वारा बाढीमा फसेका दुई जनाको सकुशल उद्धार गरेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

Advertisement

प्राधिकरणको अनुसार नुवाकोट विदुर नगरपालिका–१ लभडाँडा मिलन चौताराका ६७ वर्षीय पाल्देन तामाङ र उनकी श्रीमती ६२ वर्षीया मङ्गली तामाङ त्रिशूली नदीको किनारामा दाउरा काट्न जाँदा चीनमा भएको वर्षाका कारण एक्कासी त्रिशूलीमा आएको बाढीमा फसेका थिए ।

सम्पर्कविहीन भएका ३७ जनामध्ये हराइरहेका २२ जना सुरक्षित ठाउँमा सकुशल रहेको र अन्य १५ जना सम्पर्कविहीन रहेको सहायक प्रजिअ द्रुवप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

हराएका र फसेका व्यक्तिलाई उद्धार गर्न हेलिकप्टर तयारी रहेको गृहमन्त्रीको सचिवालयले जनाएको छ । प्रतिकूल मौसमका कारण रसुवाको आकाशमा हेलिकप्टर उड्न नसक्दा उद्धारमा कठिनाइ भएको छ । हेलिकप्टर भने नुवाकोटको त्रिशूलीमा तयारी अवस्थामा राखिएको जनाएको छ ।

प्रतिक्रिया