वाग्मती प्रदेशसभा बैठक डेढ महिनादेखि ठप्प
नुवाकोट । चालु आर्थिक वर्ष २०८०/८१ का लागि बजेट पारित गरेपछि अनिश्चितकालका लागि स्थगित भएको वाग्मती प्रदेशसभाको बैठक अझै बस्न सकेको छैन ।
सर्वदलीय सहमतिपश्चात् बहुमतबाट बजेट पारित गरेसँगै असार २१ गतेबाट अनिश्चितकालका लागि प्रदेशसभा बैठक स्थगित भएको थियो । असार १२ गतेदेखि बजेटमाथिको छलफल गर्न बैठक राखिए पनि प्रतिपक्षी दलको अवरोधका कारण सदन अवरुद्ध भएको थियो ।
निरन्तर ४ वटा बैठकमा प्रतिपक्षी दल एमाले, राप्रपा र नेमकिपाले मोर्चाबन्दी गरेर अवरोध सिर्जना गरेपछि सरकारले उनीहरुसँग सहमति गरेर बजेट पारित गरेको थियो । त्यसयता प्रदेशसभा बैठक बस्न सकेको छैन ।
प्रतिपक्षी दलले सरकारले सदनलाई बिजनेस दिन नसकेको र विपद्को समयमा समेत सदन सञ्चालन नगरी जनताको गुनासो सम्बोधन गर्न छाडेर जिम्मेवारीबाट पन्छिरहेको आरोप लगाएका छन् । सरकारले सदनमा नयाँ विधेयक दर्ता नगर्दा कानुन निर्माणको प्रक्रियासमेत ठप्प छ ।
प्रमुख प्रतिपक्षी दल एमालेले तत्काल प्रदेशसभा सञ्चालन गर्नुपर्ने माग गरेको छ । बजेट पास गरेको महिना बित्दासमेत प्रदेशसभा बैठक आह्वान नगरेको भन्दै एमालेले सरकारको ध्यानाकर्षण समेत गराएको छ । एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले नागरिक भोक, रोग र विपद्को पीडामा रहेको बखत प्रदेश सरकार सदन सञ्चालन नगरी बेपत्ता भएको आरोप लगाउँदै गैरजिम्मेवारपन देखाएको बताए ।
प्रदेशका बासिन्दा अहिले बाढीपहिरोको चपेटामा रहेका बखत सरकार भने भागबण्डामा केन्द्रित भएको थपलियाले आरोप छ । ‘प्रदेशलाई आर्थिक भार थप्ने गरी सरकार भागबण्डामा नै सीमित भई मन्त्रालय फुटाउनमा व्यस्त छ,’ उनले भने,‘प्रदेश सरकार नागरिक र संसदबाट बेखबर भएको छ । असार २१ गते अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको प्रदेशससभाको वैठक बोलाउन सकिएको छैन ।’
प्रदेश सरकारले संसदलाई बिजनेसविहीन बनाएर निष्क्रिय पार्न खोजेको उनको आरोप छ । नागरिकको सेवाका लागि निर्माण गरिएका संरचनाहरु सक्रिय बन्न नसकेको भन्दै उनले सरकारको ध्यानाकर्षण गराएका छन् । ‘नागरिकको समस्यामा काम गर्नुपर्ने सरकार मन्त्रालय बढाएर आर्थिक भार थुपार्ने काममा केन्द्रित भएको छ । काममा लाग्नुपर्ने मन्त्रीहरु अहिले काठमाडौंमा छन् । मन्त्रालयमा नभेटिने मन्त्रीले नागरिकको काम कहाँ बसेर गर्छन् ?,’ उनी प्रश्न गर्छन् । निर्वाचनको ७ महिना बित्दासमेत संसदीय समितिको नेतृत्व चयन र बैठकको प्रक्रिया सञ्चालन हुन नसक्नु सरकारको लापरवाही भएको उनले बताए ।
वाग्मतीमा आवश्यक कानुन बन्न धेरै बाँकी नै छ । आवश्यक नै नभएको विवादित चिठ्ठा विधेयक ल्याउन हतार हुने सरकारले अन्य थुप्रै अत्यावश्यक कानुन बनाउन भने चासो देखाएको छैन । विपद्ले मकवानपुरलगायत प्रदेशभर जोखिम बढिरहेका बेला सरकारले भूमिका शून्य देखिएको भन्दै सांसदहरूले आवाज उठाइरहेका छन् ।
प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले तत्काल प्रदेशसभाको बैठक बस्ने सम्भावना नरहेको बताए । उनले सरकार विजनेस दिन सक्षम रहेको र अहिले विपद्को समय भएका कारण भदौको पहिलो हप्तामा सदन राख्ने गरी तयारी भइरहेको बताए । विपद्जन्य घटनामा सरकार स्वयम् राहत वितरण गर्ने र फिल्डमै खटिरहेको बताउँदै उनले १३ वटै जिल्लाका सुरक्षा निकायसँग समन्वय र सहकार्य गरेर सरकारले काम गरिरहेको दाबी गरे ।
गत मंसिरमा भएको निर्वाचनपश्चात् यस अवधिमा प्रदेशसभाको २ वटा अधिवेशन सञ्चालन भएका छन् । जसमा ४६ वटा बैठक बसे । पुस १८ गतेदेखि सञ्चालन भएको प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनमा जम्मा १८ वटा बैठक बसेका थिए भने दोस्रो अधिवेशनमा २८ वटा बैठक बसेको थियो ।
बैठकमा प्रदेश सरकारका तर्फबाट दर्ता भएका ४ वटा विधेयक पारित गरिएको छ भने प्रदेश सरकारको चालु आर्थिक वर्षको बजेट पारित गरेको छ । प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनमा ४ वटा विधेयक पारित गरिएको थियो । प्रदेशसभाबाट २ वटा अध्यादेशको प्रतिस्थापन र २ वटा विधेयक पास भएका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














बागमतीका मुख्यमन्त्री थापाले आज विश्वासको मत लिँदै
त्रिशूली सामुदायिक र नेसनल बेथेलद्वारा ऐतिहासिक भैरवी मन्दिर परिसरमा सरसफाइ
रास्वपा नुवाकोटद्वारा ‘मिसन १२ पालिका’को पहिलो चरण सम्पन्न
विदुरमा दुई दिनदेखि खानेपानी ठप्प, आलोपालो प्रणालीबाट वितरण गरिने
पाँचौ एनयुएफसी अन्तर जिल्लास्तरीय फुटसल प्रतियोगिता सुरु





प्रतिक्रिया