नुवाकोट र रसुवाका विद्यालय बन्द गर्न प्रशासनको निर्देशन

विदुर खबर २०७७ असोज १४ गते २०:१४

नुवाकोट । नुवाकोट र रसुवाका विद्यालय अर्काे आदेश जारी नभएसम्म नखोल्न जिल्ला प्रशासन कार्यालय नुवाकोट र रसुवाले निर्देशन दिएको छ ।

Advertisement

जिल्ला प्रशासन कार्यालय नुवाकोट र रसुवाले बुधवार मन्त्रिपरिषद्को भदौ २९ को निर्णयलाई आधार बनाएर शिक्षण संस्था सञ्चालन नगर्न निर्देशनात्मक अनुरोध गरेको हो । शिक्षा मन्त्रालयको ‘विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका’मा विद्यालय खोल्ने सन्दर्भ कतै उल्लेख नगरिएकाले विद्यालय खोल्न मनाही गरिएको प्रशासनको सूचनामा उल्लेख छ ।

कोभिड–१९ बाट नुवाकोटमा अहिलेसम्म १ सय ३१ जना संक्रमित भइसकेका छन् भने १५ जना सक्रिय संक्रमित छन् । त्यस्तै रसुवा २१ जना कोरोना संक्रमित भइसकेका छन् भने १ जना सक्रिय कोरोना संक्रमित रहेका छन् । नुवाकोट र रसुवा प्रशासनले विद्यालय तथा शिक्षण संस्था खुला गर्दा विद्यालयबाट संक्रमणको जोखिम हुने भएकाले पनि तत्कालका लागि विद्यालय खोल्न नहुने पक्षमा प्रशासन छ ।

Advertisement

प्रशासनले विद्यालय नखोल्न निर्देशन दिए पनि नुवाकोट र रसुवाका स्थानीय तहले भने प्रशासनको आदेश नमान्ने संकेत दिएका छन् । केन्द्र सरकारले वैकल्पिक शिक्षा प्रणालीमा स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर अध्ययन अध्यापन गराउन अनुमति दिएकाले आफूहरूले वैकल्पिक माध्यमबाट पढाइ सुरु गर्ने स्थानिय तहका प्रमुखहरुले बताएका छन् ।

यस्तो छ जिल्ला प्रशासन कार्यालय नुवाकोटको सुचना ।

प्रतिक्रिया