आहा क्या शीतल ककनी !

विदुर खबर २०७६ असार ३० गते ८:०४

काठमाडौंको उकुसमुकुस गर्मी अनि धुलोधुवाँलाई रानीवनको हावाले शीतलता दियो। बालाजु बाइपास कट्नेबित्तिकै चिसो हावा नाकमा ठोक्किन आयो। सबै जना गाडीका झ्याल खोल्न थाले।

जंगल बीचबाट पर पुगेपछि ओशो तपोवन पुगियो। केहीबेरमै नाकले अप्ठेरो महसुस ग-यो। फोहोरको गन्ध अनि धुवाँधुलो। बाटो छेउछाउका घर एक पत्रे धुलोले छोपिएका, घरका बार्दली र कौसीमा सुुकाइएका लुगा, छोउछाउमा पसल सबै धुलाम्मे। स्थानीयको स्वास्थ्यमा कति असर पार्दो हो त्यो गाडी गुड्दा उड्ने धुवाँ र धुलोले। खोई यसमा सरोकारवालाले ध्यान दिएको?

पाँच वर्षअघि पनि हामी हाइकिङका लागि यही बाटो गएका थियौं। त्यतिबेला पनि बाटोको अवस्था यस्तै थियो र अहिले पनि उस्तै। ककनी नुवाकोट जाने हाइवे। धेरै गाडी गुड्ने तर बाटोको अवस्था भने नाजुक। पानी पर्दा हिलाम्मे र घाम लाग्दा धुलाम्मे। बाटो, विजुली र पानी सुविधा भयो भने जस्तोसुकै ठाउँमा पनि बस्ती बसाउन सकिन्छ। तर हाम्रो देशका अधिकांश ठाउँमा बाटोको अवस्था भने यस्तै छ।

काठमाडौं खाल्डो गर्मीले हपक्कै भएका बेला ककनी चिसै हुन्छ। हामी त पुग्यौं शीतल डाँडामा, तपाइँ पनि गर्मी छल्न त्यहाँ जाने कि ?

बाटो बनाउने काम समयमै पूरा गरिनु पर्छ। यस्तै सोच्दै गर्दा आँखा गाडीका झ्याल बाहिर परे। कति सुन्दर दृश्य ! नुवाकोट, पहाडी इलाका, हरिया डाँडा, नागबेली बाटो, डाँडाहरूका बीचबीचमा गरागरा बनाउँदै गरेका खेतीबाली।
हामी प्रकृतिप्रेमी समूहको १४४ औं नियमित पदयात्राका लागि बालाजु बाइपास हुँदै ककनी पौवा भन्ज्याङसम्म गाडीमा पुगेका थियौं। हाम्रो समूहले हरेक महिनाको चौंथो शनिबार पदयात्रा गराउँदै आएको छ। जेठको हाम्रो पदयात्रा गन्तव्य थियो ककनी, पिकनिक स्पट, मेमोरियल पार्क, स्काउट भवन, शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज हुँदै तारकेश्वर झरना, तारकेश्वर महादेव हुँदै पाँचमानेसम्म।

निकुञ्जमा प्रवेश गर्न १२५ रुपैयाँको प्रवेश शुल्क तिर्नु पर्छ। पौवा भन्ज्याङमा केही पदयात्रा नियम र गन्तव्यबारे जानकारी गराएपछि पदयात्रा सुरु ग-यौं।

ककनी

नुवाकोटस्थित ककनी हिमाल, सूर्योदय र सूर्यास्त हेर्न प्रख्यात छ। ककनी (२,१७३ मिटर)बाट अन्नपूर्ण, माछापुच्छे«, लमजुङ, बुद्ध, मनास्लु, हिमचुली, गणेश, लाङटाङ, दोर्जे लाक्पा, गौरीशंकर, सगरमाथा, ल्होत्से लगायत हिमाल देखिन्छ।

ककनीमा विचित्रको मौसम हुन्छ। छिनमै आकास खुल्छ, छिनमै धुम्मिन्छ र छिनमै पानी पर्छ। पानी परेपछि मौसम खुल्दा हरियालीसँगै सेता भुइँकुहिरोले स्वर्गझैं देखिन्छ। वर्षैभरि शीतल हुन्छ त्यहाँ। काठमाडौंबासीका लागि गर्मी छल्न उपयुक्त गन्तव्य ककनी।

हिल स्टेशनको चिनारी बनाएको ककनी पछिल्ला केही वर्षदेखि स्ट्रबेरी र ट्राउट माछाका लागि समेत प्रख्यात छ। ककनी पुग्नुअगाडि नै हाइवेमा छन् ट्राउट माछा फार्महरू।

डाँडामा सुविधायुक्त होटल छन्। पासाङ ल्हामु राजमार्गको काउलेबजारबाट तीन किलोमिटर दाहिने लागे ककनी पुगिन्छ। ककनी, चिसोपानी, नगरकोट, धुलिखेल, नमोः बुद्ध, बल्थली हुँदै पनौतीसम्मको पदमार्गलाई ‘काठमाडौं भ्याली कल्चरल ट्रेल’का रूपमा ब्राण्डिङ गरिएको छ। ककनी क्षेत्रमा घुम्नु पर्ने धेरै ठाउँ छन्।

ट्राउट हाइवे

जितपुरफेदीदेखि नै राजमार्ग छेउछाउमा ‘जापानी रेन्बो ट्राउट’ माछा बेच्ने रेस्टुराँ छन्। अचेल पासाङ ल्हामु राजमार्गलाई ‘ट्राउट हाइवे’ भनिन्छ। हिमालको जराबाट आएको पानीमा हुर्किएका माछा इन्द्रेनी रङका हुने भएकाले ‘रेन्बो ट्राउट’ भनिएको। तर ट्राउट हाइवेका माछा काला हुन्छन्। खोलाको पानीमा हुर्किएका माछाको रङ इन्द्रेनी जस्तो हुँदैन। मत्स्य अनुसन्धान केन्द्र त्रिशूलीमा पालिएका माछा भने रेन्बो कलरकै हुन्छन्। त्यहाँ हिमालबाट आएको पानीमा माछा पालिएको छ।

पिकनिक स्पट

ककनी पिकनिक स्पट पनि हो। डाँडामा अन्तर्राष्ट्रिय पर्वतारोही स्मृति उद्यान छ। ४२ रोपनीमा फैलेको बगैंचा आकर्षक छ। डाँडामै नेपाल पर्वतारोहण संघले हिमाल स्कुल खोलेको छ। फ्रान्सेली नागरिक हेनरी सिगारेले १२ मिटर अग्लो रक क्लाइम्बिङ वाल बनाइदिएका छन्। हरेक शनिबार पिकनिक आउनेको भिड हुन्छ लाग्छ।

मोमोरियल पार्क

डाँडामा मेमोरियल पार्क छ जुन सन् १९९२ मा थाई एयर दुर्घटना भएका मृतात्माको सम्झनामा बनाइएको हो। दुर्घटना भएको ठाउँ त्यहाँबाट देखिन्छ। पार्कको चारैतिर बगैँचा, बीचमा ढुङ्गामा सबैको नाम लेखिएको छ। शान्त भएर बस्नु पर्छ पार्कमा। पार्कमा बौद्ध मन्त्र लेखिएका लुङदार, धज्र्यू लगायत ध्वजापताका छन्। राति त्यहाँबाट काठमाडौं उपत्यका झिलिमिली देखिन्छ।

बसन्ती दरबार

एतिहासिक महत्व बोकेको छ बसन्ती दरबारले। जंगबहादुरकालीन काजी गगनसिंहले प्रेमिका मिठूका लागि बनाइदिएको दरबार। जीर्ण दरबार पुनःनिर्माण हुँदैछ। पुरातत्व विभागले यसको पुननिर्माण गर्ने काम अघि बढाएको ककनी पर्यटन विकास समाजका अध्यक्ष शिवकुमार लामाले जानकारी दिए।

स्काउट भवन

डाँडामा स्काउट भवन छ। नेपाल स्काउटले सन् २००१ मा बनाएको भवन। त्यहाँ क्याम्पिङ सुविधा छ। त्यहाँ स्काउटको प्रशिक्षण कार्यक्रमहरू गरिन्छ। तालिम तथा गोष्ठी सञ्चालन गर्न चाहिने सुविधा छ। त्यसैले पहिल्यै खबर गरेर गएमा खाना र बास सुविधा पाइन्छ। त्यहाँ कार्यक्रमहरू पनि सञ्चालन गर्न सकिन्छ। स्काउट भवनबाहेक ककनीमा आरामदायी होटल तथा रिसोर्ट सुविधा छ।

तारकेश्वर भरना

ककनीबाट शिवपुरी निकुन्ज हिँडेपछि करिब ४ किमि दुरीमा आउँछ भरना। जंगलबीच ठूलो ढुङ्गाको कापबाट बगेका दुइटा झरना आकर्षक छन्। यसको संरक्षण गरी प्रचार गर्न जरुरी छ। तारकेश्वर जाने युवा झरनामा पुगेर नुहाउँछन्। तारकेश्वर पर्यटन समितिले यसलाई ध्यान दिनु पर्ने देखिन्छ। झरना अगाडि बाटो अलिक असजिलो छ। यसलाई चाँडै व्यवस्थित बनाउनु पर्छ।

तारकेश्वर महादेव

निकुन्जको जंगल बीचको ओढारमा बसेका छन् महादेव। ढुङ्गाको सिँढी, ठाडो उकालो चढेर जानुपर्छ त्यहाँ। मन्दिर नजिकै चिसो पानीको धारा छ। श्रीस्वस्थानी व्रत कथाअनुसार महादेवले मृत सतीदेवी च्यापेर हिँड्दा उनको दाहिने तिघ्रा पतन भएको ठाउँ तारकेश्वर (१,७२० मिटर)। ओढारका बुढा महादेव त्यहाँका सबैभन्दा पुराना देवता।

बुढा महादेव बसेको ठाउँभन्दा माथि पनि भीरमा महादेव छन्। तिनको दर्शन गर्न भ-याङ चढ्नु पर्छ। ती महादेव नजिकै अर्को ओढार छ, जहाँ गणेश, महादेव, त्रिशूल, घन्ट आदि छन्। ओढार छेउबाट हेर्दा काठमाडौं सहर छयाङै देखिन्छ।

तारकेश्वर शक्तिपीठ। त्यहाँ शिवरात्री, जनैपूर्णिमा, स्वस्थानी व्र्रतकथाको समय, बाला चर्तुदशी र सोमबार मेला लाग्छ। किम्वदन्तीअनुसार खडेरी प-यो भने वरपरका गाउँले बाजागाजासाथ तारकेश्वर पुगेर महादेवसँग पानी माग्छन्। त्यसरी मागेपछि पानी पर्ने जनविश्वास छ।

पाँच माने  

तारकेश्वर मन्दिर मुन्तिर पाँच माने भन्ने ठाउँ छ। त्यहाँ पहिला पाँच वटा माने थिए त्यसैले ठाउँको नाम पाँचमाने भनिएको। अचेल ४ वटा मात्र माने छन्, एउटालाई पहिरोले खाएको स्थानीय बताउँछन्। पुराना मानेलाई घेरेर ठूलो माने बनाइएको छ।
०००
हामीले स्काउट भवनमा बसेर खाजा खायौं। खाजा खानेबित्तिकै हिँड्दा पाचनमा गडबडी हुन्छ। त्यसैले हामी खानापछि केहीबेर स्वास्थ्यबद्र्धक अन्तरक्रिया गर्छौं। कार्यक्रम सकेर हामी निकुन्जको बाटो हुँदै झरना भएर पाँचमानेसम्म हिँड्यौं। समय अभावले तारकेश्वर मन्दिर जान भने पाएनौं।

यात्रामा नयाँ पदयात्रीबाट सुझाव पनि पाइयो। हाइकर्सलाई र पुग्ने गन्तव्यलाई पनि लाभ हुने गरी वृृक्षरोपण गर्ने र फोहोर संकलन गर्ने प्रस्ताव आयो। वास्तवमा हाइकिङमा सबैले गर्न मिल्ने काम हुन् यी। यात्रामा बोटबिरुवा नचुँडौं, फोहोर संकलन गरेर सम्बन्धित ठाउँमा राख्दा सबैको कल्याण हुन्छ। सके सफा गरौं नसके आफूले लगेका फोहोर आफैंसँग फिर्ता ल्याऔं।

अन्त्यमा, काठमाडौं खाल्डो गर्मीले हपक्कै भएका बेला ककनी चिसै हुन्छ। हामी त पुग्यौ शीतल डाँडामा, तपाइँ पनि गर्मी छल्न त्यहाँ जाने कि ?

कसरी पुग्नेः काठमाडौं–ककनी २३ किमि। बालाजुको माछापोखरी हुँदै बाइपासबाट ककनी, नुवाकोट जाने बस छुट्छन्। मोटरबाइक, साइकल वा कारमा जान सकिन्छ। ककनीबाट हाइकिङ सुरु गरेर पिकनिक स्पट, मेमोरियल पार्क, स्काउट भवन हुँदै निकुन्ज र निकुन्जबाट तारकेश्वर झरना हुँदै तारकेश्वर महादेव र त्यहाँबाट गएकै बाटो फर्केर पाँचमानेसम्म पदयात्रा गर्ने। पदयात्रा दुरी १४ किमि। समयः ६ घन्टा। अर्को ककनीबाट शिवपुरी राष्ट्रिय निकुञ्ज हुँदै करिब तीन घन्टामा गुर्जे भञ्ज्याङ (२,००० मिटर) हाइकिङ गर्न सकिन्छ। भञ्ज्याङको चौरमा बसेर खाजा खाने। भञ्ज्याङबाट दक्षिण ओरालो झरेर झोरसम्म पदयात्रा। भञ्ज्याङ–झोर ४ किमि। पदयात्रा दुरी १२ किमि।

मनसुन टिप्स

मनसुनलाई पर्यटनमा अफ सिजनका रूपमा लिइन्छ। मनसुन पदयात्रा रोमान्चक हुन्छ। झमझम पानीमा छाता ओढ्दै, हिलोमा खेल्दै, किसानले छुपुछुपु धान रोपेको हेर्दै हिँडन् सकिन्छ। मनसुनमा धेरै कुरामा ध्यान दिनु पर्छ।
—    मनुसुनमा पानी परेर चिप्लो हुने भएकाले सकेसम्म नचिप्लिने फराकिलो गोरेटोमा हिँड्ने।
—    बाटोको अवस्था, मौसम र ठाउँको बारेमा राम्रो जानकारी लिएर मात्र जाने। समूहमा बनाएर हिँड्ने।
—    नचिप्लिने स्पोर्ट जुत्ता, हिँड्न सजिलो खुकुलो लुगा लगाउने, पछाडि भिर्न  सजिलो ब्याग बोक्ने।
—    छाता÷बर्सादी अनिवार्य बोक्ने। घाम छेक्ने क्याप, सन ग्लास, लौरो, क्यामेरा, डायरी, कलम र दुरबिन बोक्ने।
—    झोलामा २–३ लिटर पानी, मौसमअनुसारका फलफूल र स्वास्थ्यवद्र्धक खाजा बोक्ने।
—    प्राथमिक उपचारका सामान सिटामोल, टेप, ब्याण्डेज, सियो धागो आदि बोक्न नबिर्सने।
—    हिँड्दा सुरुमै छिटोछिटो नहिँड्ने। छिटो हिँड्दा श्वास फुलेर गारो हुन्छ। मध्यम गतिमा हिँड्ने।
—    यात्रामा मैदाजन्य जंकफुड, मादक पदार्थ र नुन बढी भएका खानेकुरा नखाने। यसले शरीरमा भारीपन आई हिँड्न गारो हुन्छ। रेसेदार खाना र मौसमअनुसारका फलफूल  खाने।
—    एकैपटक धेरै पानी नपिउने। एकैपटक धेरै पानी पिउँदा पेट फुल्ने, डुम्म हुने र गाह्रो हुने हुन्छ। त्यसैले प्रतिघन्टा २५० देखि ३०० मिलिलिटर पानी पिउने। हरेक ठोस आहार र पानीको अन्तर कम्तीमा तीस मिनेटदेखि एक घण्टा फरक गर्ने। पसिना निस्केको अनुपातले पानी पिउने।
—    लेउ लागेका ठाउँबाट नहिँड्ने। झारपातमा नछुने, विषालु किराबाट बच्ने।
—    जुकाबाट बच्न नुन र सन्चो बोक्ने।
—    फोटो खिच्दा ध्यान पु-याउने। मनसुनमा चिप्लो हुने, पैरो जाने र बाढी आउने भएकाले छेउमा गएर, ढुङ्गा चढेर फोटो नखिच्ने। लडिएला, होस पु-याउने।
—    हिँड्दा महंगा गरगहना र लुगा नलगाउने। जंगलमा हिँड्दा हराउने या अन्य समस्या हुन सक्छ। ख्याल गर्ने।
—    ठूलो स्वरले कराउने, क्यासेट या अन्य ठूलो आवाजमा बजाउने काम नगर्ने। जंगली जनावरलाई जिस्क्याउने र छुने काम नगर्ने।
—    आफूले बोकेका प्लास्टिक, बोतल सम्बन्धित ठाउँमा फ्याँक्ने। फोहोर नगर्ने।
—    समय ख्याल गरेर हिँड्ने। जगेडा पैसा बोक्ने।

जन। बोली

अन्जु डंगोल

योग प्रशिक्षक हुनुहुन्छ। उहाँ बरोबर विदेशी साथीसँग हाइकिङ गर्नु हुन्छ। ‘हामी प्रायः जंक खाना र बीचबीचमा कुचुकुचु खाँदै हिँड्छौं जसले गर्दा थकान हुँदै जान्छ तर प्रकृतिप्रेमीको पदयात्रामा स्वास्थवद्र्धक खाना खाएपछि हिँड्न सजिलो भयो’, अन्जु भन्नुहुन्छ, ‘स्वास्थ्यका लागि हिँड्ने भएकाले हामीले स्वास्थवद्र्धक खाना नै खानु पर्छ।’

नेहा बराल

चार्टड एकाउन्टेन्ट हुनुहुन्छ। उहाँ आफ्नो तौल घटाएपछि हाइकिङ गर्न थाल्नु भयो। ‘हिँड्नलाई पहिले शरीरको तौल ठिक हुनुपर्छ’, नेहा भन्नुहुन्छ, ‘हामी जस्ता युवाहरूको हिँड्ने बानी कम छ। त्यसैले महिनाको एक पटक भए पनि स्वच्छ वातावरणमा हिँडौं। देशको अवस्था बुझौं। स्वस्थ बनौं।’

जानु धिताल

सामाजसेवी अगुवा हुनुहुन्छ। ककनी रमणीय लाग्यो उहाँलाई। ‘निकुन्ज जंगलको शीतल बाटो हिँड्दा निकै रमाइलो भयो। हाइकिङले स्वास्थ्य पनि राम्रो हुने रहेछ, नयाँ ठाउँ घुम्न र नयाँ साथी पनि बनाउन पाइने’, जानु भन्नुहुन्छ, ‘हाइकिङले नयाँ जोश जाँगर भरिँदो रहेछ। अब त हिँडेरै काठमाडौ वरपरका डाँडाकाँडामा पुग्ने मन छ।’


Advertisement

साभार: नागरिक न्युज

प्रतिक्रिया