‘प्रेमगीत ३’ बाट मनिषको डेब्यू , छायांकन सुरु नहुँदै दर्शकमा फिल्म ‘प्रेमगीत ३’ को व्यग्र प्रतिक्षा

विदुर खबर २०७६ असार १ गते ४:२४
SONY DSC

नुवाकोट असार १, छायांकन सुरु नहुँदै दर्शकमा फिल्म ‘प्रेमगीत ३’ को व्यग्र प्रतिक्षा भइरहेको छ ।
निर्देशक छेतेन गुरुङ्ग र निर्माता समेत रहेका सन्तोष सेनले मिलेर निर्देशन गर्ने फिल्ममा अभिनेता प्रदीप खड्काले ‘प्रेम’ को भूमिका निभाउँदैछन् । ‘गीत’ अर्थात् लिड अभिनेत्रीका लागि भने अहिले अडिसन चलिरहेको छ । केही दिनमा ‘गीत’ क्यारेक्टरका लागि एक युवती छनोट गरिने निर्माता सेन बताउँछन् । नयाँ वर्षको मेसोमा चैत २८ गतेबाट यो फिल्म प्रदर्शनमा आउने निश्चित भइसकेको छ ।
यसबीच, निर्माण कम्पनी आशुसेन फिल्मस्ले फिल्ममा प्रमुख भूमिकाका लागि एक पुरुष कलाकार छनोट गरेको छ । यस फिल्मबाट लामो समयदेखि नेपाली फिल्ममा प्रवेश गर्न संघर्षरत मनिष राउतले डेब्यू गर्ने भएका छन् । फिल्ममा प्रदीप र मनिष दाजु-भाईको भूमिकामा हुनेछन् । अस्कर कलेजमा अभिनय सिकेका मनिषसँग दर्जनौं लघु चलचित्रमा काम गरेको अनुभव छ । नेपाली फिल्ममा भने उनले पहिलो पटक काम गर्न लागेका हुन् ।
चकलेटी लुक्सका धनी उनको निर्माण टिमले क्यारेक्टर पोस्टर पनि सार्वजनिक गरेको छ । एक पोस्टरमा उनी पुरानो जमानाको बन्दुकसहित देखिएका छन् । भने, अर्कोमा बन्चरोसहित देखिएका छन् । उनको कपाल पनि निकै लामो देख्न सकिन्छ । कथाको माग अनुसार नै मनिषलाई फिल्ममा प्रमुख भूमिकामा अनुबन्ध गरेको सेनले बताए । ‘प्रेमगीत ३’ लाई ‘अ फर्बिडन लभ स्टोरी’ भनिएको छ । २ सय वर्ष पुरानो प्रेमकथामा फिल्म बन्न लागेको हो ।
छेतेन गुरुङ्ग र मन्दिप गौतमले फिल्मको कथा तयार पारेका छन् । ‘प्रेमगीत’ को दुई सिरिजमा एकल निर्माताको रुपमा रहेका सन्तोषलाई यस फिल्ममा विजय चामलिङले लगानीमा सघाउनेछन् । ‘प्रेमगीत ३’ पहिलो र दोश्रो संस्करणभन्दा निकै ठुलो स्केलमा निर्माण हुने र नेपाली फिल्म क्षेत्रकै एउटा उदाहरण बन्ने निर्माण पक्षको विश्वास छ । दशैं सकिए लगत्तै फिल्मको छायांकन सुरु हुँदैछ । फिल्मको स्क्रिप्ट लक भइसकेको छ ।
Advertisement

प्रतिक्रिया