शिवपुरीको थानाभञ्ज्याङमा बस र विद्युतीय गाडी भीरबाट खस्दा दुईको मृत्यु, तीन घाइते

विदुर खबर २०८३ साउन ३० गते ११:३३

नुवाकोट । छहरे–टोखा सडकखण्ड अन्तर्गत नुवाकोटको शिवपुरी गाउँपालिका–७ स्थित थानाभञ्ज्याङमा शनिबार बिहान भएको सवारी दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन्।

Advertisement

काभ्रेबाट छहरे–टोखा मार्ग हुँदै नुवाकोटको प्रसिद्ध धार्मिक स्थल दुप्चेश्वरतर्फ जाँदै गरेको बा प्र ०८१ ब ०५२ नम्बरको बस थानाभञ्ज्याङमा रोकिराखेको अवस्थामा अचानक गुडेको थियो। अनियन्त्रित भई गुडेको बसले सडकमा रहेको बा प्र ०३ ००१ ज ११७६ नम्बरको विद्युतीय गाडीलाई जोडले ठक्कर दिएको प्रहरीले जनाएको छ।

ठक्करलगत्तै दुवै सवारी साधन सडकबाट करिब ५० मिटर तल भीरमा खसेका थिए। दुर्घटनाका क्रममा बसमा सवार पाँचै जना यात्रु बससँगै भीरबाट तल खसेका थिए।

Advertisement

दुर्घटनामा गम्भीर घाइते भएका यात्रुहरूलाई तत्काल उपचारका लागि काठमाडौंस्थित ग्रीनसिटी अस्पताल पुर्‍याइएको थियो। उपचारका क्रममा काभ्रेको बनेपा–८ निवासी ५४ वर्षीया कृष्णमाया प्रजापति डंगोल र रामेछापको खाँडादेवी–२ निवासी ६५ वर्षीया उदयमाया खत्रीको निधन भएको हो।

दुर्घटनामा घाइते भएका अन्य तीन जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। घाइते हुनेहरूमा सर्लाहीको लालबन्दी–९ की २५ वर्षीया सुजता पोखरेल, बनेपा–१० की ४२ वर्षीया प्रमिला श्रेष्ठ र दोलखाको मेलुङ–६ का ६० वर्षीय ज्ञानु श्रेष्ठ रहेका छन्।

Advertisement

घटनालगत्तै खटिएको प्रहरी टोलीले बस चालक काभ्रेको पाँचखाल नगरपालिका–७ का ४५ वर्षीय सिताराम आचार्यलाई नियन्त्रणमा लिएको छ।

रोकिराखेको बस कसरी एक्कासि गुडेर दुर्घटना हुन पुग्यो भन्ने विषयमा जिल्ला प्रहरी कार्यालय नुवाकोटले थप अनुसन्धान अगाडि बढाएको जनाएको छ।

प्रतिक्रिया