नुवाकोटमा ३ प्रतिशत मात्रै रोपाइँ

विदुर खबर २०८३ असार १३ गते २१:४९

नुवाकोट । मनसुन सक्रिय हुन नसक्दा नुवाकाेटमा धान रोपाइँ अत्यन्त सुस्त बनेको छ।

Advertisement

पर्याप्त वर्षा नहुँदा धेरैजसो ठाउँमा किसानलाई धानको ब्याड जोगाउनसमेत मुस्किल भइरहेको छ ।  प्रदेशका १३ जिल्लामा १२ असारसम्म कुल खेतीयोग्य क्षेत्रफलको ३.५० प्रतिशतमा मात्रै रोपाइँ भएको छ। गत वर्ष यही अवधिमा १६ प्रतिशतभन्दा बढी क्षेत्रमा रोपाइँ सम्पन्न भएको थियो।

बागमती प्रदेश कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता सुजन कँडेलले मनसुनी वर्षा नहुँदा रोपाइँ उल्लेख्य रूपमा प्रभावित भएको बताए। गत वर्षको तुलनामा यस वर्ष रोपाइँ निकै पछाडि परेको उनले बताए ।

Advertisement

उनका अनुसार प्रदेशमा वर्षे धान खेती हुने १ लाख ३५ हजार ८६८ हेक्टरमध्ये शुक्रबारसम्म ३ हजार ६५४ हेक्टरमा मात्रै रोपाइँ भएको छ।

सबैभन्दा बढी काठमाडौंमा ४० प्रतिशत रोपाइँ भएको छ। ५ हजार ९५९ हेक्टर क्षेत्रफलमध्ये २ हजार ५७५ हेक्टरमा धान रोपिएको मन्त्रालयले जनाएको छ। धान उत्पादनको मुख्य क्षेत्र मानिने चितवनमा भने अवस्था निराशाजनक छ।

Advertisement

चितवनमा २८ हजार ६८० हेक्टरमा धान खेती हुनेमा शुक्रबारसम्म १.३ प्रतिशत क्षेत्रमा मात्रै रोपाइँ भएको छ। मकवानपुरमा अवस्था झन् कमजोर छ। यहाँ ०.३५ प्रतिशत क्षेत्रमा मात्रै रोपाइँ भएको छ।

त्यस्तै, नुवाकोटमा ३ प्रतिशत, रामेछापमा २ प्रतिशत, सिन्धुपाल्चोकमा ५ प्रतिशत, काभ्रेमा १६ प्रतिशत, रसुवामा ८ प्रतिशत, ललितपुरमा १० प्रतिशत, भक्तपुरमा ११ प्रतिशत, धादिङमा ०.४१ प्रतिशत, दोलखामा ४ प्रतिशत र सिन्धुलीमा ४.२ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न भएको छ।

वर्षा नहुँदा रोपिएको खेतसमेत सुक्न थालेको छ। धेरै ठाउँमा खेतमा धाँजा फाट्न थालेपछि किसान थप चिन्तित बनेका छन्।

प्रतिक्रिया