तारकेश्वरको सिरानटोल र गोस्र्याङमा एक घर एक धारा निर्माण

विदुर खबर २०८२ चैत १० गते १२:०७

नुवाकोट । नुवाकोटको तारकेश्वर गाउँपालिका वडा नम्बर ५ सिरानटोल र गोस्र्याङमा एक घर एक धारा निर्माण गरिएको छ ।

Advertisement

तारकेश्वर गाउँपालिका र लिभिङ वाटर नेपालको सहकार्यमा वडा नम्बर ५ को सिरानटोल र गोस्र्याङमा निर्माण सम्पन्न भएको २ सय १५ धाराको सोमवार गाउँपालिकाका अध्यक्ष शिव अधिकारीले उद्घाटन गरेका छन् ।

तारकेश्वर गाउँपालिका ,लिभिङ वाटर नेपाल र स्थानियको श्रमदान गरि झण्डै साढे तीस लाख रुपैयाँमा लागतमा निर्माण गरिएको खानेपानी आयोजनाको २२ हजार लिटर क्षमताको ट्याङ्की निर्माण गरि वितरणको व्यवस्था मिलाइएको छ ।

Advertisement

जसमा तारकेश्वर गाउँपालिकाको ५ लाख रुपैयाँ र प्राविधिक सहयोग रहेको छ भने स्थानियहरुले १० लाख ७६ हजार रुपैयाँ जनश्रमदानबाट जुटाएका छन् । अन्य बाँकी रकम र लिभिङ वाटर नेपालले उपलब्ध गराएको हो ।

खानेपानी आयोजनाको उद्घाटन गर्दै अध्यक्ष अधिकारीले गाउँपालिकाभरिका सबै वडाका सबै टोलहरूमा स्वच्छ खानेपानी पुर्याउने अभियान अन्तर्गत यी आयोजनाहरूको निर्माण सम्पन्न भएको बताए ।

Advertisement

उनले गाउँपालिका आफैंले र विभिन्न संघसंस्थासँगको समन्वयमा बाँकी रहेका टोलहरूमा क्रमशः खानेपानी आयोजनाहरू सम्पन्न गर्दै जाने प्रतिबद्धता व्यक्त गरे । अध्यक्ष अधिकारीले आयोजनाको नियमित मर्मत सम्भार र संरक्षण गर्न पालिकाले हेरालु राखीदिने समेत प्रतिबद्धता व्यत्त गरे । उनले आयोजनाको संरक्षणमा उपभोक्ताहरूले समेत जिम्मेवार भएर लाग्नुपर्नेमा जोड दिए ।

वडा नम्बर पाँचका अधिकांश टोलहरूमा यसअघि नै एक घर एक धारा अभियान सम्पन्न भइसकेको छ । बाँकी रहेका दुई टोललाई पनि छिट्टै स्वच्छ र सुविधायुक्त खानेपानीको पहुँचमा ल्याउने तयारी भइरहेको उनले बताए ।

यसअघि अध्यक्ष अधिकारीले आफू अध्यक्ष हुनु अघिदेखि नै राष्ट्रिय अन्तर्राष्ट्रिय सङ्घ संस्थाहरूसँगको समन्वयमा तारकेश्वरका विभिन्न टोल बस्तीमा खानेपानी आयोजनाको निर्माण अभियान सञ्चालन गर्दै आइरहेका थिए ।

कार्यक्रममा तारकेश्वर गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष अशोक तामाङले खानेपानीको अभावले गाउँमा निकै दुखकष्ट हुने गरेकोमा अवदेखि सहज हुने बताए ।

उनले गोरस्याङमा खानेपानी ल्याउन आफुले निकै दुखकष्ट गरेको बताए । उनले यहाँ खानेपानी ल्याउन नदिन विभिन्न व्यक्तिहरुले अवरोध सिर्जना गरेको बताए ।

कार्यक्रममा लिभिङ वाटर नेपालका प्राविधिक अधिकृत अल बहादुर रोकायाले गोरस्याङमा पानीसँगै फिल्टर पनि वितरण गर्ने बताए । उनले गाउँमा पानी आउनुमात्र ठुलो कुरा नभएको भन्दै त्यसलाई संचालन गर्न कठिन रहेको बताए ।

त्यस्तै उपभोक्ता समिति सदस्य राजकुमार तामाङले खानेपानीको नाजुक अवस्थामा रहेको बाँके बन्चेथोकमा अहिले पानी आएपछि सहज भएको बताए । उनले गाउँमा पानी ल्याउने विषयमा कसैले पनि राजनिति गर्न नहुने बताए ।

लिभिङ वाटर नेपालले नुवाकोटको तारकेश्वर, किस्पाङ, विदुर र म्यागङमा खानेपानीसँग सम्बन्धित विभिन्न कार्यक्रम संचालन गरिरहेको छ ।

प्रतिक्रिया