नुवाकोट महोत्सवको तयारी तिव्र

विदुर खबर २०८२ पुष ७ गते १२:४३

नुवाकोट । नुवाकोट उद्योग वाणिज्य संघले नुवाकोट महोत्सव २०८२ आगामी माघमा आयोजना गर्नेभएको छ ।

Advertisement

माघ ७ देखि १७ गतेसम्म नुवाकोटको विदुरमा महोत्सव हुने जानकारी संघले दिएको छ । विगतको नेपालकै आर्थिक, सांस्कृतिक तथा ऐतिहासिक केन्द्रका रूपमा रहेको नुवाकोटको पहिचानलाई थप सबल बनाउन र उजागर गर्न स्थानीय उत्पादन, कला, संस्कृति, पर्यटकीयस्थल र व्यवसायलाई राष्ट्रियस्तरमा प्रभावकारी रूपमा प्रवद्र्धन गर्न तथा उद्यमशीलता घरेलु तथा साना उद्योगलाई बजार र अवसर प्रदान गर्ने उद्देश्यका साथ महोत्सव आयोजना गर्न लागिएको संघका अध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

करिब दुई सय अत्याधुनिक र व्यवस्थित व्यावसायिक स्टलको सहभागिता रहने महोत्सवमा स्थानीय उत्पादन र सेवाको प्रदर्शनी, रैथाने खानाको प्रदर्शन तथा बिक्री, खाना उत्सव, कला, संस्कृतिका विभिन्न रूपका प्रदर्शन, विषयगत झाँक्री, पर्यटन प्रवद्र्धन कार्यक्रमलगायत आकर्षक तथा उपयोगी गतिविधि समावेश गराइने बताइएको छ ।

Advertisement

महोत्सवमा एक लाखभन्दा बढी अवलोकनकर्ताको सहभागिता रहने अपेक्षा गरिएको छ । महोत्सवले स्थानीय उत्पादनको बजार विस्तार, लगानी तथा व्यापारिक अवसरको सिर्जना, जिल्लाका प्रमुख पर्यटकीय स्थलको सांस्कृतिक तथा पर्यटन पहिचानको सुदृढीकरण, व्यावसायिक नेटवर्किब विस्तार, नयाँ उद्यमीलाई प्रेरणा तथा सञ्जाल प्रदानगर्ने, रोजगारीका अवसर सिर्जना गर्ने तथा जिल्ला र देशकै अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने लक्ष्य लिएको छ ।

प्रतिक्रिया