नुवाकोटमा एमालेको जनसभा सम्पन्न

विदुर खबर २०८२ कार्तिक २९ गते २०:०२

नुवाकोट । नेकपा एमाले नुवाकोटले देशव्यापी कार्यक्रम अन्तर्गत नुवाकोटमा पनि प्रदर्शन र सभा गरेको छ ।

Advertisement

जेनजी आन्दोलनबाट सत्ताच्यूत भएको एमालेले संसद पुनस्र्थापना र सर्वपक्षीय सरकार गठनको माग गर्दै प्रदर्शन र सभा गरेको हो ।

नुवाकोटको विभिन्न स्थानबाट सुरु भएको प्रदर्शन पार्टी कार्यालय विदुरमा पुगेर सभामा परिणत भएको थियो । बिहान ११ बजे ¥याली शुरु हुने भनेर एक हप्तादेखि प्रचार भएपनि डेढ घण्टा ढिलो ¥याली शुरु भएको थियो ।

Advertisement

विदुरचोकमा पुगेर भएको सभामा बोल्ने एमालेका नेताहरूले देशको सार्वभौमसत्ता र स्वाभिमानमाथि बाह्य हस्तक्षेप भइरहेको जिकिर गर्दै एमालेले त्यसलाई स्वीकार नगर्ने बताएका थिए ।

सभाका मुख्य वक्ता एमालेका उपमहासचिव विष्णु रिमालले एमालेको नेतृत्वमा भएका विकास निर्माणका कामहरूबाट अत्तालिएर प्रतिगामी तत्त्वहरूले सिंगो मुलुक र एमालेविरूद्ध षड्यन्त्र गरेर भदौ २३ र २४ गतेको घटना घटाएको तर्क गरे ।

Advertisement

उनले एमाले संविधान, राष्ट्रियता र समृद्धिका पक्षमा उभिएको भन्दै अहिले संविधान संकटमा परेको बेला सडकमा आउनुपर्ने बाध्यता सिर्जना भएको बताए ।

रिमालले जेनजी आन्दोलनको आवरणमा राष्ट्रिय र निजी सम्पत्ति छानी छानी आगजनी र तोडफोड गरिएको भन्दै अबका दिनमा आफूहरू प्रतिकारमा उत्रिने चेतावनी दिए ।

नेकपा एमाले नुवाकोटका अध्यक्ष बद्री मैनालीले भदौ २३ र २४ गते भएका घटनाहरूको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन प्रहरी प्रशासनलाई आग्रह गरे ।

एमालेको बलियो सांगठानिक आधार भएको विदुरमा शनिबार भएको प्रदर्शनमा करिब दुई हजार जनाको उपस्थिति भएको सुरक्षा निकायले आंकलन गरेको एक प्रहरी अधिकृतले बताए ।

कार्यक्रममा एमालेका विभिन्न नेता तथा कार्यकर्ताहरुको उपस्थति रहेको थियो ।

प्रतिक्रिया