सान्जेन जलविद्युतले पुसदेखि बिजुली उत्पादन गर्ने

विदुर खबर २०८० मंसिर ५ गते १२:२४

रसुवा । चिलिमे जलविद्युत कम्पनी लिमिटेडले सहायक कम्पनीमार्फत् बनाइरहेको सान्जेन जलविद्युत आयोजनाबाट आउँदो पुस अन्तिमसम्म बिजुली उत्पादन हुने भएको छ।

Advertisement

४२.५ मेगावाट क्षमताको उक्त आयोजनाको काम अन्तिम चरणमा पुगेकाले पुसभित्र बिजुली उत्पादन हुने सान्जेन जलविद्युत कम्पनी लिमिटेडले जनाएको छ। १४.८ मेगाावाटको माथिल्लो सान्जेनबाट असोज २१ देखि बिजुली उत्पादन भइसकेको छ।

माथिल्लो सान्जेनले बिजुली बेचेर वार्षिक ४० करोड रुपैयाँ आम्दानी गर्छ। सान्जेन जलविद्युतअन्तर्गत ५७.३ मेगावाट क्षमताका दुई आयोजना छन्। दुवै आयोजनाबाट आउँदो असारभित्रै बिजुली उत्पादन गर्ने लक्ष्य राखिएको थियो। तर निर्धारित समयमा निर्माण नसकिएपछि आयोजनाकाे म्याद पटक-पटक थपिँदै आएको छ।

Advertisement

दुई आयोजनाबाट ३२ करोड ४३ लाख ५ हजार युनिट बिजुली उत्पादन हुने अध्ययनले देखाएको छ। आयोजना बनाउन ७ अर्ब २४ करोड २२ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ।

माथिल्लो सान्जेनको लागत निर्माण अवधिको ब्याजबाहेक २ अर्ब २१ करोड ८० लाख र तल्लोको ५ अर्ब २ करोड ४२ लाख रुपैयाँ अनुमान गरिए पनि निर्माणमा भएको ढिलाइ, कोरोना महामारी र डलरको मूल्यवृद्धि र अन्य कारणले गर्दा आयोजनाको लागत बढ्ने कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ। लागत कतिसम्म बढ्छ भन्ने कुरा विवरणमा उल्लेख गरिएको छैन। आयोजनामा कर्मचारी सञ्चय कोषको ऋण लगानी रहेको छ।

Advertisement

प्रत्येक ३ ३ महिनामा ब्याज पूँजीकरण हुँदै आएको छ। सञ्चय कोषले १०.५ प्रतिशत ब्याजमा आयोजनालाई ऋण दिएको छ। आयोजनाले आम्दानी नगरुन्जेल ब्याज पूँजीकरण हुँदै जाने कम्पनीले जनाएको छ। आयोजनाको लागत बढेपछि सञ्चय कोषसँग पुरक ऋण सम्झौता गर्न समय लाग्ने भएपछि सान्जेनले माउ कम्पनी चिलिमेबाट २४ करोड रुपैयाँ अल्पकालिन सापटी लिई वित्तीय व्यवस्थापन गरेको जनाएको छ।

माथिल्लो सान्जेन २२० केभी चिलिमे हब प्रसारण लाइन सम्पन्न हुनुअघि आउने भएपछि तत्कालका लागि चिलिमे जलविद्युत कम्पनीको ३३ केभी प्रसारण लाइनबाट बिजुली प्रवाह हुनेछ। माथिल्लो सान्जेनको यही प्रसारण लाइनबाट बिजुली प्रवाह भइरहेको छ। कन्टिन्जेन्सी व्यवस्थाअनुसार चिलिमे थम्बुचेतदेखि स्याफ्रुबेंसीसम्म आफैंले प्रसारण लाइन निर्माण गरी बिजुली प्रसारण गर्ने योजना रहेको सान्जेनले जनाएको छ। यस्तै, प्रसारण लाइनको काम पुरा नभएकाले तल्लो सान्जेन आयोजनाबाट उत्पादन हुने बिजुली प्रणालीमा जोडिने सम्भावना काम छ।

कम्पनीले आयोजना प्रभावित रसुवा जिल्लावासीलाई १० प्रतिशत बराबरको ३६ करोड ५० लाख रुपैयाँ बराबरको ३६ लाख ५० हजार कित्ता सेयर जारी गरिसकेको छ। स्थानीय रसुवावासीसहित सर्वसाधारणबाट ३ अर्ब ६५ करोड रुपैयाँ चुक्ता भइसकेको छ। आयोजनाको निर्माण सन २०१३ बाट सुरू भएको हो। निर्माण सुरु भएको एक दशक बिते पनि अझै सम्पन्न हुन सकेको छैन। यसले गर्दा आयोजनाको लागत बढ्नुका साथै बिजुली बिक्रीबाट वर्षेनी आयोजनाले अर्बौं रुपैयाँ आम्दानी गुमाइरहेको छ। जसको असर राष्ट्रिय प्रणाली र सर्वसाधारण लगानीकर्तालाई परेको छ।

चिलिमे खोलाको पानीलाई सदुपयोग गर्दै तिलोचे बगरमा बाँधिएको बाँधबाट ल्याइएको एउटै पानीले कुल ५७ मेगावाट विद्युत उत्पादन हुनेछ। सिम्बु तथा चिलिमे टारसमेतका दुई ठाउँमा छुट्टाछुट्टै विद्युतगृह पनि निर्माण भइसकेका छन्।

कम्पनीको चुक्ता पुँजी ३ अर्ब ६५ करोड रुपैयाँ रहेको छ। सान्जेनमा चिलिमे जलविद्युत कम्पनीको ३९.३६, विद्युत प्राधिकरणको १०.३६, सर्वसाधारणको १५, आयोजना प्रभावित स्थानीयवासीको १०, सञ्चय कोषका सञ्चयकर्ताको १९.५ प्रतिशत लगानी छ। संस्थापक सेयरधनी तथा ऋणदाता संस्था कर्मचारीको ४.५ र रसुवाका जिल्ला समन्वय समिति र गाउँपालिकहरुको १.२८ प्रतिशत स्वामित्व रहेको छ।

प्रतिक्रिया