दसैंमा एकजनालाई साढे १८ हजार रुपैयाँसम्म नयाँ नोट दिइने

विदुर खबर २०८० असोज ९ गते २१:१३

नुवाकोट । यस वर्षको दसैं र तिहारमा पनि नेपाल राष्ट्र बैंकले प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँका दरले सर्वसाधारणलाई नयाँ नोट सटही सुविधा दिने भएको छ ।

Advertisement

दसैं, तिहार र छठलाई लक्ष्य गरी घटस्थापनादेखि नयाँ नोट सटही सुविधा सुरु गर्ने गरी आन्तरिक गृहकार्य भइरहेको नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग प्रमुख नरेश शाक्यले बताए ।

‘कहाँ के कति नोट उलपब्ध छ ? बैंक तथा वित्तीय संस्था र सर्वसाधारणको मागअनुसार के कति थप/घट गर्नुपर्ने हो भनेर अहिले राष्ट्र बैंकका प्रादेशिक कार्यालय र नोटकोष सुविधा लिएका बैंकसँग नयाँ नोटको विवरण मागेका छौं,’ उनले भने, ‘नोटको विवरण संकलन भइसकेपछि घटस्थापनाको आसपासदेखि सर्वसाधारणलाई नयाँ नोट सटही सुरु गर्छौं ।’

Advertisement

अघिल्ला दुई वर्ष जस्तै यस वर्ष पनि राष्ट्र बैंकले प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँ बराबर नयाँ नोट सटही सुविधा दिन लागेको छ । यो ५ देखि १ सय रुपैयाँसम्मको एक/एक बन्डल हो । बैंक तथा वित्तीय संस्थालाई भने राष्ट्र बैंकले ग्राहकको संख्या र संस्थाको मागअनुसार नयाँ नोट उपलब्ध गराउने तयारी छ ।

राष्ट्र बैंकले आफ्ना कार्यालयमार्फत सर्वसाधारण र बैंक तथा वित्तीय संस्थालाई वर्षभर नै नयाँ नोट वितरण गरिरहेको हुन्छ । यद्यपि दसैं, तिहार र छठका लागि सर्वसाधारणबाट नयाँ नोटको माग धेरै आउने भन्दै त्यसलाई नियमित कार्यक्रमसरह मानेर वितरण गर्दै आएको छ ।

Advertisement

राष्ट्र बैंकसँग पर्याप्त नोट स्टकमा रहेको र नागरिकको माग पनि सम्बोधन गर्नुपर्ने भएकाले यही असोज अन्तिम साता (घटस्थापना आसपास) देखि सूचना नै जारी गरेर सर्वसाधारणलाई नयाँ नोट सटही गरिने शाक्यले बताए ।

विद्युतीय भुक्तानीलाई प्रोत्साहन गर्ने भन्दै यस वर्षदेखि राष्ट्र बैंकले नयाँ नोट सटही गर्न आउनेलाई क्यूआर कोडअन्तर्गत भुक्तानी गर्न आग्रह गर्ने भएको छ । ‘क्यूआर कोडमार्फत भुक्तानी गर्नेबाहेकले नयाँ नोट सटही सुविधा पाउँदैनन् भन्ने होइन, सबैले पाउँछन्,’ उनले भने, ‘तर सम्भव भएसम्म क्यूरआरमार्फत भुक्तानी गर्न हामीले आग्रह गर्छौं ।’

दसैं र तिहारमा हरेक वर्ष ६० देखि ७० अर्ब रुपैयाँ बराबर नयाँ नोट राष्ट्र बैंकको ढुकुटीबाट बाहिरिँदै आएको छ । यसमध्ये १२ देखि १५ अर्ब रुपैयाँ सर्वसाधारणलाई जान्छ । बाँकी रकम बैंक तथा वित्तीय संस्थाले बैंकिङ प्रयोजनका लागि उपयोग गर्छन् । खासगरी सर्वसाधारणले सयभन्दा साना दरका नोट धेरै साट्छन् ।

बैंक तथा वित्तीय संस्थाले सयभन्दा माथि (५ सय र हजार) दरका नोट बढी उपयोग गर्दै आएको राष्ट्र बैंकले जनाएको छ । यो रकममा सिक्काको हिसाब हुँदैन । दसैं र तिहारको अवसरमा सामान्य सिक्कासँगै चाँदी र सुनले बनेका सिक्का (चाँदीका स्मारिका सिक्का र सुनका असर्फी) पनि धेरै बिक्री हुँदै आएको छ ।

दसैं र तिहारका लागि नयाँ नोटको आकर्षण बढ्दो छ । मागअनुसार राष्ट्र बैंकले बर्सेनि वितरण गरिने नयाँ नोटको परिणाम पनि बढाउँदै आएको छ । यसले बजारमा मुद्रा आपूर्ति बढाउँछ । यसको अर्थ नागरिकको हातहातमा धेरै पैसा पुग्छ । हातहातमा पैसा भएपछि खर्च गर्ने प्रवृत्ति बढ्छ ।

खर्च गर्ने क्षमता बढेपछि माग बढ्छ । माग बढेपछि बजारमा वस्तु तथा सेवाको मूल्य बढ्छ । यसले समग्र राष्ट्रको मूल्यवृद्धिदर बढाउँछ । मूल्यवृद्धिदर बढ्नु भनेको पैसाको क्रयशक्ति (भाउ) घट्नु हो । यसकारण पैसाको मूल्य तीव्र रूपमा घट्न नदिन अर्थविद्हरू सुझाउँछन् । यद्यपि पछिल्ला वर्षहरूमा नयाँ नोट सटही राष्ट्र बैंकका लागि चुनौतीपूर्ण बन्दै गएको उनीहरूको धारणा छ ।

प्रतिक्रिया