नुवाकोटमा चारसहित प्रदेश नं ३ को दश जिल्लामा ६१ प्रहरी चौकी निर्माण हुने

विदुर खबर २०७५ भदौ २७ गते ३:११

नुवाकोट भदौ २७,  प्रदेश नं ३ ले रु एक अर्ब १३ करोड लागतमा विभिन्न दश जिल्लामा ६१ वटा आधुनिक प्रहरी चौकी भवन निर्माण गर्ने भएको छ ।

Advertisement

सङ्घीय प्रहरी ऐन बन्न नसक्दा चालू आर्थिक वर्षका लागि छुट्याइएको बजेट खर्च नहुने अवस्था आएपछि प्रदेश सरकारले सो रकम प्रहरी चौकी निर्माणमा खर्च गर्ने भएको हो । प्रदेश नं ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेलले काठमाडौँ उपत्यका बाहेकका दश जिल्लामा प्रहरी चौकी निर्माण गर्न लागिएको जानकारी दिनुभयो ।

नेपाल प्रहरीले विगतमा विभिन्न जिल्लामा जग्गा प्राप्त गरी विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भइसकेको तर बजेट अभावमा निर्माण गर्न नसकेको जिल्लामा चौकी निर्माण गरिने मन्त्री जम्कट्टेलले बताउनुभयो । उहाँका अनुसार चितवनमा चार, मकवानपुरमा नौ, सिन्धुलीमा नौ, काभेपलाञ्चोकमा आठ, सिन्धुपाल्चोकमा दुई, धादिङमा चार, नुवाकोटमा चार, रसुवामा चार, दोलखामा नौ, रामेछापमा आठ गरी जम्मा ६१ वटा प्रहरी चौकी निर्माण गरिनेछ ।

Advertisement

प्रहरी भवन निर्माण गरी बजेट सदुपयोग गर्ने लक्ष्यका साथ विनियोजन गरिएको उहाँले जानकारी दिनुभयो । ती चौकी निर्माण भएपछि प्रहरीका लागि आगामी दिनमा कार्य सम्पादनका लागि सहज हुने विश्वास प्रदेश सरकारले लिएको छ । भूकम्पले भत्काएका तथा पुराना भएका प्रहरी चौकीलाई अत्याधुनिक बनाउन लागिएको हो । कनिका छरे जसरी बजेट छर्ने प्रवृत्तिको आफू विरोधी भएकाले एक पटकमा एक मात्र क्षेत्रमा राज्यको लगानी गरेर परिणाम ल्याउनुपर्दछ भन्ने मान्यतामा रहेको मन्त्री जम्मकट्टेलको भनाइ छ ।

प्रतिक्रिया