दशैंको मुखमा नेपालीको भान्सा महँगिने

विदुर खबर २०७९ भदौ २८ गते १८:४७

नुवाकोट । दशैंको मुखमा नेपालीको भान्सा महँगिने भएको छ । भारतले चामल, धान लगायतका खाद्यान्नको निर्यातमा कडाइ गर्दै कर लगाएपछि भान्सा महँगो हुन लागेको हो ।

Advertisement

भारतले शुक्रबारदेखि लागु हुने गरी चामलको निर्यातमा २० प्रतिशत कर निर्धारण गरेको छ । यस वर्ष भारतमा धान उत्पादन कम हुने आँकलन गर्दै आन्तरिक माग धान्नका निम्ति धान र भारतले चामलको निर्यातमा २० प्रतिशत कर लगाएको छ । कर लगाउँदा २५ प्रतिशत निर्यात घट्ने र आन्तरिक मागलाई सन्तुलन राख्न सहयोग पुग्ने भारतको निष्कर्ष छ ।

धानको उत्पादन उच्च हुने पश्चिम बंगाल, उत्तर प्रदेश र विहारलगायतका राज्यमा कम वर्षा भएका कारण धानबालीको उत्पादन घट्ने तथा रुस–युक्रेन युद्धका कारण खाद्य आपूर्ति रोकिँदा संकट बढ्ने भन्दै भारतले आन्तरिक बजारलाई प्राथमिकतामा राखेको छ ।

Advertisement

भारतले धान, चामलमा निर्यात कर लगाउँदा त्यसको सिधा असर नेपालमा पर्ने देखिएको छ । नेपालमा खपत हुने कुल धानको ४० प्रतिशत धान भारतबाट आयात हुने गरेको छ । भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्षमा नेपालले १६ अर्ब ९९ करोड ७ लाख रुपियाँको ५५ करोड १७ लाख ४९ हजार किलो धान, ६ लाख ७६ करोडको ६ हजार ४ सय ९२ किलो ब्राउन राइस, २९ अर्ब ४ करोड ५८ लाख रुपियाँको ५२ करोड ८३ लाख ७५ हजार किलो चामल र १ अर्ब ५३ करोड ६५ लाख रुपियाँको ५ करोड ३ लाख ८६ हजार किलो ब्रोकन राइस (कनिका) गरी ४७ अर्ब ५७ करोड ३६ लाख ८४ हजार रुपियाँको चामल आयात गरेको थियो ।

भारतले उसिना र वासमती चामलमा निर्यात कर नलगाउने घोषणा गरे पनि कनिकामा भने पूर्ण रोक लगाएको छ । भारतबाट नेपाल निर्यात हुने धान चामलमा अहिलेसम्म कुनै कर लाग्ने गरेको थिएन । तर, नेपालले धान आयातमा कृषि सुधार शुल्क ५ प्रतिशत र अग्रिम आयकर २ दशमलव ५ प्रतिशत तथा चामल आयात गर्दा कृषि सुधार शुल्क ९ र अग्रिम आयकर २ दशमलव ५ प्रतिशत लिँदै आएको छ । यसमा २० प्रतिशत निर्यात कर थप हुँदा चामलको मूल्य उच्च हुनेछ ।

Advertisement

उद्योगी व्यवसायीका अनुसार भारतको निर्यात कर हेर्दा नेपालका मध्यम वर्गीय उपभोक्ताले प्रयोग गर्ने चामलको भाउ बढ्ने निश्चयजस्तै भएको छ । त्यस्तो चामल औसत प्रतिकलो २२ रुपियाँभन्दा बढीले मूल्यवृद्धि हुनेछ ।नेपाल चामल, तेल, दाल उत्पादक संघका अध्यक्ष सुवोधकुमार गुप्ताले भारतको उक्त निर्णयले नेपाली बजारमा प्रत्यक्ष असर पर्ने बताउनुहुन्छ । नेपाल समाचारपत्रसँग कु्रा गर्दै उहाँले भन्नुभयो–‘धानमा ४० प्रतिशत हामी भारतसँग निर्भर छौं । त्यहाँ निर्यात कर लाग्नेबित्तिकै हाम्रो उत्पादन लागत बढ्छ ।’

खाद्यान्नमा आत्मभिर्नर नहुँदा बाह्य कारणले पनि नेपाल प्रभावित हुन पुग्यो । भारतले लगाउने भनिएको निर्यात कर हटाउन नेपाल सरकारले कूटनीतिक पहल गर्नुपर्ने गुप्ताले बताउनुभयो । आइतबार संघकोे आपतकालीन बोर्ड बैठक बसेर सरकारको ध्यानकर्षण गराउने उहाँले जानकारी दिनुभयो ।उहाँका अनुसार मंगलबार नेपाल–भारत वाणिज्य सचिवस्तरीय बैठक हुँदैछ । त्यसमा यो एजेन्डा राख्नका लागि संघले पहल गर्नेछ । बजार भाउ उच्च भएपछि धान चामलको तस्करी हुनेतर्फ सचेत हुन गुप्ताले सरकारलाई आग्रह गर्नुभयो ।

भारतले कनिका निर्यातमा पूर्ण रोक लगाउँदा नेपालका मदिरा उद्योग तथा दाना उद्योग संकट पर्ने गुप्ताको भनाइ छ । चालु आर्थिक वर्षको पहिलो महिनामा मात्रै करिब १६ करोड रुपियाँ बराबरको ५० लाख किलो कनिका आयात भएको छ । हेर्दा एउटा वस्तु भए पनि हजारौं प्रभावित हुने गुप्ताले बताउनुभयो ।त्यस्तै, नेपाल थोक व्यापार संघका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठका अनुसार भारतको उक्त निर्णयपछि नेपालमा चामल आयात भएको छैन । उहाँले नेपाल समाचारपत्रसँग कुरा गर्दै भन्नुभयो–‘कर लाग्यो भन्ने हामीले जानकारी पायौं ।

तर, विगतमा नेपाल निर्यात हुने चामलमा कर नलागेको अवस्थामा त्यो नेपालबाहेकका देशलाई मात्र हो कि भन्ने हाम्रो अपेक्षा छ । नयाँ माल खरिद नभएकाले यसै भन्न सकिएन । यदी, २० प्रतिशत कर लाग्ने हो भने बजार भाउ ह्वात्तै बढ्छ । सरकारले तुरुन्तै पहल गर्नुपर्छ ।’भरतले यसअघि गहुँ, चिनी र आँटाको निर्यातमा कडाइ गर्ने निर्णय गरिसकेको छ । भारतले नेपाललगायत विश्वका १ सय ५० वटाभन्दा बढी देशमा चामल र धान निर्यात गर्दै आएको छ । सन् २०२१ मा भारतले विश्व बजारमा २ करोड टनभन्दा बढी चामल निर्यात गरेको थियो । विश्वमा बढी चामल निर्यात गर्ने देशमा भारत प्रमुख हो । यस वर्ष भारतमा करिब ६ प्रतिशतले कम क्षेत्रफलमा धान बाली लगाइएको समाचार एजेन्सीहरूले जनाएका छन् ।

प्रतिक्रिया