रामशरणको गाँउपालिकामा माओवादीको जित

विदुर खबर २०७९ जेठ ४ गते १५:२०

नुवाकोट । नुवाकोटमा मात्रै होइन, कांग्रेसको केन्द्रीय राजनीतिमा समेत हैकम जमाउँदै आएका कांग्रेसका प्रभावशाली नेताहरु अर्जुननरसिंह केसी, डा रामशरण महत, प्रकाशशरण महत देखि बहादुर सिंह तामाङ सम्मको गाँउपालिकामा कांग्रेसको बेहाल भएको छ ।

Advertisement

केसी र महत परिवारको गाँउपालिकामा माओवादी एक्लैले कांग्रेसलाई पराजित गरिदिएको छ । अर्का नेता बहादुर सिंह तामाङको गाँउपालिकामा भने एमाले र माओवादी मिलेरै कांग्रेसलाई हराएका छन् ।

देशैभर कांग्रेसले कम्युनिष्टहरु विभाजनको फाइदा उठाँउदै स्थानीय तहमा बलियो संगठनात्मक जालो रहेको एमालेलाई कमजोर बनाउन माओवादी केन्द्र समेतको साथ लिएर गठबन्धनसहित चुनाव लडेर परिणाम आफ्नो पक्षमा पारिरहँदा कांग्रेसका यी हस्तीहरुको जिल्लामा कांग्रेस एक्लै (विदुर, बेलकोट र तारकेश्वर वाहेक) चुनाव लडेको थियो ।

Advertisement

एमाले र माओवादी पनि कांग्रेसका यी प्रभावशाली नेताहरुका गाँउपालिकामा (बहादुर सिंहको पालिका किस्पाङ बाहेक) अन्यत्र एक्लै प्रतिस्पर्धामा थियो । केसीको गाँउपालिका दुप्चेश्वर, महत परिवारको गाँउपालिका पञ्चकन्या र बहादुर सिंहको गाँउपालिका किस्पाङ हो ।

यी सवैंमा माओवादी केन्द्रले जर्वजस्त आफनो प्रभुत्व जमाएको छ । महत परिवारको गाँउपालिका पन्चकन्यामा त यस अगाडी पनि माओवादीले जितेको थियो । यसपटक पनि त्यो जितलाई निरन्तरता दिँदैं गाँउपालिकाको अध्यक्ष, उपाध्यक्ष दुवैं माओवादी केन्द्रले नै जितेको छ ।

Advertisement

डा प्रकाशशरण महत, रामशरण महत, कांग्रेस जिल्ला सभापति रमेश महतले यसपटक गत चुनावमा एमालेलाई बुझाएको आफनो वडा भने कांग्रेसमै फर्काउन सफल भएका छन् । तर गाँउपालिका भने माओवादीबाट खोस्न फेरि पनि असफल भएका छन् ।

पन्चकन्यामा माओवादीका तेजबहादुर तामाङ (रमेश) अध्यक्ष र विमला केसी उपाध्यक्षमा निर्वाचित भएका छन् । कांग्रेसका उम्मेदवार माधव प्रसाद खनाललाई २५८ मतले पछि पाँदैं माओवादीका तामाङले गाँउपालिका अध्यक्ष जितेका हुन् ।
डा महतहरुको वडा पन्चकन्या २ मा भने कांग्रेसका रामशरण श्रेष्ठ वडा अध्यक्षमा विजयी भएका छन् । उनले अन्य एमाले, माओवादीका उम्मेदवारलाई फराकिलो मतान्तरमा पराजित गदै विजयी भएका हुन् । कांग्रेसका श्रेष्ठले १४०२ मत ल्याईरहँदा एमालेका धुव्रप्रसाद मिश्रले ५९७ र माओवादीका ठाकुर बोहोराले ४५७ मत ल्याएका थिए ।

निर्वाचनका बेला महत परिवारले आफ्नै वडामा बसेर निक्कै मेहनत गरेका कारण यसपटक भने उक्त वडा कांग्रेसले एमालेबाट खोसेको हो ।

उता कांग्रेसका अर्का नेता अर्जुननरसिहं केसी, केदारनरसिंह केसी लगायतका नेताको गाँउपालिकामा पनि यसपटक माओवादी केन्द्रले जित निकालेको छ । अघिल्लो स्थानीय तह चुनावमा यो पालिका कांग्रेसले जितेको थियो । तर यसपटक अध्यक्ष, उपाध्यक्ष दुवै पद माओवादीले उछिछटाएको हो ।

माओवादीका शंकर बहादुर थापाले ४४७३ मत ल्याएर गाँउपालिका अध्यक्ष जितेका थिए । कांग्रेसका पूर्णवहादुर तामाङले ३४५० मत पाएका थिए । यो पालिकामा माओवादीले कांग्रेसका उम्मेदवार भन्दा १०२३ मत अन्तरमा गाँउपालिका जितेको हो ।
उपाध्यक्ष पनि माओवादीकै माकुरी तामाङले जितेकी छिन् ।

केसी परिवारको वडामा भने कांग्रेसले नै जितेको छ । अर्जुनरनरसिंह केसीको वडा दुप्चेश्वर ३ राउतबेशीमा कांग्रेसका धुव्र कर केसी निर्वाचित भएका हुन् । उनले ८२८ मत ल्याएर चुनाव जितेका थिए । प्रतिस्पर्धी माओवादीले केसीको वडामा ४५१ र एमालेका चुडामणि मोक्तानले २४ मत पाएका थिए ।

विगतमा कांग्रेसले दुप्चेश्वर गाँउपालिका अध्यक्ष, उपाध्यक्ष दुवै जितेको थियो । तर यसपटक कांग्रेसको हातबाट माओवादीले दुप्चेश्वरको नेतृत्व खोसेर आफनो वर्चश्व कायम गरेको हो ।

त्यस्तै कांग्रेसका अर्का प्रभावशाली नेता बाहादुर सिंह तामाङको गाँउपालिका किस्पाङमा भने परिस्थिती अर्काे निर्माण भयो । कांग्रेस, माओवादी केन्द्र लगायतका सत्ता गठबन्धन दलले सकभर गठबन्धनभित्रै तालमेल गर्न नभए पनि गठबन्धन भित्रका दलबाहेक अन्य दलसँग चुनावी तालमेल नगर्न गरेको निर्देशन समेत अटेर गरेर स्थानीय स्तरमा एमाले र माओवादीले बहादुर सिंह् तामाङको गाँउपालिकामा चुनावी चालमेल गरे ।

एमालेले अध्यक्ष सहित वडा नम्बर ४ र ५ तथा माओवादीले उपाध्यक्षसहित वडा नम्बर १, २ र ३ लिने गरी त्यहाँ गठबन्धन बनेको थियो । त्यही गठबन्धनले कांग्रेसलाई पराजित गदै चुनाव जितेको छ । बहादुर सिंह तामाङको गाँउपालिकामा एमालेका बिरवल तामाङले अध्यक्ष जितेका छन् भने माओवादी केन्द्रका अर्जुन प्रसाद न्यौपानले उपाध्यक्ष । बहादुर सिंह तामाङका अति निकट छत्रबहादुर लामा अध्यक्षमा पराजित भएका छन् ।

बहादुरसिंहले पनि आफनो वडा भने जोगाएका छन् । उनको वडा नम्बर ५ मा कांग्रेस बिजयी भएको छ । त्यहाँ कांग्रेसका प्रकाश तामाङ डिम्डुङले १०७७ मत ल्याएर वडा अध्यक्षको चुनाव जितेका छन् ।

समग्रमा माओवादी बलियो
नुवाकोटमा १२ स्थानीय तह छन् । गत स्थानिय तहमा जिल्लाका दुवै नगरपालिका एमालेले जितेको थियो । साथमा एमालेले तारकेश्वर गाँउपालिका पनि जितेको थियो । माओवादी केन्द्रले पञ्चकन्या र ककनी गाँउपालिका मात्र जितेको थियो । त्यसवोहकका किस्पाङ, तादी, दुप्चेश्वर, म्यागङ, लिखु, शिवपुरी र सूर्यगढी कांग्रेसले जितेको थियो 

तर यसपटक एमालेले दुई नगरपालिकाको अन्तिम मतगणना नआईसकेपनि माओवादीको बलमा किस्पाङको अध्यक्ष जित्ने वाहेक कुनै पालिकाको नेतृत्व जित्न सक्ने अवस्था देखिएको छैन । बरु दुई पालिका जितेको माओवादीले तीन पालिकाको अध्यक्ष, उपाध्यक्ष सहतिको नेतृत्वमा आफनो बर्चश्व देखाएको छ । ककनी, पन्चकन्या र दुप्चेश्वरमा माओवादीले अध्यक्ष, उपाध्यक्ष सहित जितेको छ । गणना भईरहेको बेलकोटगढी नगरपालिकाको प्रमुखमा माओवादी उम्मेदवार एमाले उम्मेदवार भन्दा झण्डै दोब्बर मतले अगाडी छन् ।

यसले नुवाकोटका २४ मुख्य पद मध्ये माओवादी एक्लैले ९ पद जितीसकेको छ । वाँकी ३ पद पनि जित्ने क्रममा रहेको छ । यस हिसावले जिल्ला समन्वय समिति करिव माओवादीको बर्चश्व सुनिश्चित हुने चित्र देखिएको छ ।

प्रतिक्रिया