हवाई इन्धनको मूल्य घट्यो, अन्यको कहिले ?

विदुर खबर २०७८ जेठ २५ गते ९:१८

नुवाकोट । नेपाल वायुसेवा निगम (नेवानि) ले कार्गो चार्टरको दररेट घटाएको छ । नेपाल आयल निगमले आइतबार हवाई इन्धन (अन्तर्राष्ट्रिय उडानतर्फ) को मूल्य प्रतिकिलोलिटर १७८ डलर घटाएपछि नेवानिले कार्गो चार्टरको रेट घटाएको हो ।

Advertisement

आयल निगमले अन्तर्राष्ट्रिय उडानतर्फको नाफा ४० प्रतिशतबाट घटाएर १५ प्रतिशतमा झार्दै मूल्य घटाएको थियो । त्यसको भोलिपल्टै नेवानिले पनि मूल्य समायोजन गरेको हो । कार्गो चार्टरको मूल्य वाइड बडीतर्फ १३ प्रतिशत र न्यारो बडीमा १५ प्रतिशत मूल्य घटाउने निर्णय भएको नेवानिकी प्रवक्ता करिश्मा श्रेष्ठले जानकारी दिइन् ।

‘वाइड बडीतर्फ साविक (प्रतिघण्टा) १५ हजार ५ सय २० यूएसडीबाट घटाएर १३ हजार ४ सय ६० यूएसडी र न्यारो बडीको साविक प्रतिघण्टा ७ हजार ७ सय १० यूएसडीबाट ६ हजार ५ सय ८० यूएसडी परिवर्तन गरिएको छ,’ श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नियमित उडानहरू सुचारु भएपछि निगमका अन्य गन्तव्यहरूको भाडामा समेत सोहीअनुसार समायोजन गर्दै जाने जानकारी गराउँछौं ।’

Advertisement

नेवानिका अनुसार महँगो हवाई इन्धनका कारण नेपालको पर्यटन उद्योगमा समेत नकारात्मक प्रभाव परेको छ । नेपालको तुलनामा दिल्लीमा हवाई इन्धन (अन्तर्राष्ट्रियतर्फ) प्रतिकिलोलिटर ४५.३८ अमेरिकी डलर सस्तो छ । कोलकातामा ११.२७ अमेरिकी डलर, मुम्बईमा ५७.७७ अमेरिकी डलर र चेन्नाईमा ५७.६५ अमेरिकी डलर सस्तो छ । नेपालमा महँगो हुँदा विमान कम्पनीहरूले प्रतिस्पर्धा गर्न नसकेको बताउने गरेका छन् ।

अन्तर्राष्ट्रिय हवाई कम्पनीहरूसँग प्रतिस्पर्धी बनाउन तथा विदेशबाट नेपाल आउने पर्यटकको हवाई भाडा घटाउन नसकिएको वायुसेवा कम्पनीहरूको गुनासो रहने गरेको छ । निगम सञ्चालक समिति बैठकले आइतबार मूल्य घटाएको हो । मूल्य घटेसँगै इन्धनको बिक्री बढ्न सक्ने आयल निगमको भनाइ छ । ‘नेवानिले इन्धनमा वार्षिक साढे ४ अर्बदेखि ५ अर्ब खर्च गर्छ । तर ४५ प्रतिशत नेपालबाटै खरिद हुन्छ,’ निगमका एक अधिकारीले भने, ‘मूल्यकै कारण भारतीय एयरलाइन्सले नेपालमा तेल हाल्दैनन् । कतार एयरलाइन्सले पनि थोरै मात्रामा मात्र हाल्छ । अब प्रतिस्पर्धा गर्न केही सहज हुन्छ ।’

Advertisement

हाल आयल निगमले हवाई इन्धनबाट पाक्षिक करिब १ करोड ५० लाख नाफा गरिरहेको छ । तर खाना पकाउने ग्यासको पाक्षिक अनुमानित नोक्सान ५० करोड छ । उक्त नोक्सान अन्तर्राष्ट्रिय हवाई इन्धनबाट आर्जित १ करोड ५० लाख नाफाबाट केही परिपूर्ति गरिरहेको छ । मूल्य समायोजनसँगै नाफा घटेजस्तो देखिए पनि इन्धनको बिक्री बढाएर मुनाफा आर्जन गर्न सकिने आयल निगमको भनाइ छ ।

पूर्वाधार बनाएर बिक्रीको परिमाण वृद्धि गर्न सकिने निगमको दाबी छ । २०७७ साउनमा ५५२, भदौमा ५१८, असोजमा ११३६, कात्तिकमा ८८८, मंसिरमा ८०९, पुसमा १०२२, माघमा ११२४, फागुनमा १००८ र चैतमा ९६२ किलोलिटर हवाई इन्धन बिक्री भएको थियो । २०७८ वैशाखमा भने ६८८ किलोलिटर मात्रै बिक्री भएको आयल निगमका प्रवक्ता विनीतमणि उपाध्यायले जानकारी दिए । ‘कोभिडअगाडि दैनिक ६/७ सय किलोलिटर बिक्री हुन्थ्यो । पहिलो लकडाउनअगाडि दैनिक २०० र लकडाउनपछि दैनिक १ सय किलोलिटर, त्यसपछि बिस्तारै बढेर २५० किलोलिटरसम्म पुगेको थियो,’ उनले भने, ‘२०७८ जेठ १ देखि १५ गतेसम्मको तथ्यांक हेर्दा दैनिक ५० किलोलिटर मात्रै बिक्री भएको देखिन्छ । महँगो मूल्यकै कारण समस्या भएको हाम्रो निष्कर्ष छ ।’

अन्तर्राष्ट्रिय हवाई इन्धनमा ४० प्रतिशत नाफा थियो । विगतमा ७० प्रतिशतसम्म नाफा राख्ने गरिएको थियो । अहिले भने घटाएर १५ प्रतिशतमा झारिएको उपाध्यायको भनाइ छ । कालोबजारी ऐनअनुसार पनि २० प्रतिशतभन्दा बढी नाफा राख्न मिल्दैन । त्यसैले अब १५ प्रतिशत मात्रै नाफा राखेर व्यापार गर्ने नीति लिइएको उनी बताउँछन् ।

आयल निगमका अनुसार हवाई इन्धनको मूल्य घट्दा इन्धन भर्नेको संख्या बढ्छ । टिकटको मूल्य घट्छ । यसले गर्दा विदेश जाने र नेपाल आउने यात्रुलाई केही राहत पुग्ने निगमको दाबी छ । निगमका अनुसार हवाई इन्धन ढुवानी गर्ने करिब साढे ३ सय ट्यांकर छन् । तर, इन्धन खपत/बिक्री नहुँदा ट्यांकरले इन्धन ढुवानी गर्न पाएका छैनन् । अब केही राहत हुने आयल निगमले जनाएको छ ।

अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य घटाउने निर्णयको नेपाल पेट्रोलियम ढुवानी व्यवसायी संघ, वीरगन्जले स्वागत गरेको छ । ‘मुलुकमा खपत हुने हवाई इन्धनको ९५ प्रतिशत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कोभिडका कारण २०७६ चैत ११ देखि बन्द हुँदा एयरपोर्टमा ढुवानी गर्ने २१५ ट्यांकर तथा ट्यांकरमा काम गर्ने ४३० चालक/सहचालक कामविहीन थिए । मुलुकभरका थप १ सय ट्यांकरमा कार्यरत मजदुर कामविहीन भए,’ संघका अध्यक्ष मनोजकुमार दासले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘मूल्य समायोजनपछि विमानस्थलमा हवाई इन्धन बिक्री बढ्ने अनुमान गरेका छौं । यसले ट्यांकर ढुवानी व्यवसायीले केही काम पाउने आशा पलाएको छ ।’ निगमले हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ मूल्य घटाए पनि आन्तरिकतर्फ पेट्रोल, डिजेल, मट्टीतेल, हवाई इन्धनको मूल्य घटाएको छैन । करका कारण पेट्रोल प्रतिलिटर मूल्य १२५, डिजेल/मट्टीतेल १०८ र हवाई इन्धन आन्तरिकतर्फ ८० रुपैयाँ पुगेको छ ।

कान्तिपु दैनिकबाट ।

प्रतिक्रिया