रसुवागढी जोड्ने छोटो दूरीको मैलुङ–स्याफ्रुबेसी सडकले गति लिँदै

विदुर खबर २०७७ मंसिर ३० गते ८:५५

रसुवा । चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने छोटो दूरीको मैलुङ–स्याफ्रुबेसी सडक विस्तारको कामले गति लिएको छ । लकडाउनमा रोकिएको काम अहिले धमाधम भइरहेको छ ।

Advertisement

मैलुङदेखि स्याफ्रुबेसीसम्म १९ किलोमिटर सडक चौडा गर्ने कामले तीव्रता पाएको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडक आयोजनाका प्रमुख नारायणदत्त भण्डारीले बताए । यो सकड विस्तारको काम गर्न भार कन्स्ट्रक्सन/सिद्धिसाही जेभीलाई ठेक्का दिइएको छ ।

साढे दुई वर्षभित्र काम सम्पन्न गर्नुपर्ने ठेक्का सम्झौतामा उल्लेख छ । अहिले करिब ६ देखि नौ मिटर चौडाइ रहेको सडकलाई १२ मिटर चौडाइको बनाउने काम भइरहेको आयोजना प्रमुख भण्डारीले बताए । अहिलेसम्म तीन किलोमिटर सडक विस्तारको काम सम्पन्न भएको छ ।

Advertisement

यो सडक विस्तारका लागि एक अर्ब ४५ करोड लाग्ने अनुमान छ । सडक विस्तारअन्तर्गत अहिले नाला खन्ने, सडक चौडा गर्ने, रिटेनिङ वाल लगाउने काम भइरहेको छ । त्यसका लागि १२ वटा स्काभेटर, दुई सय ५० भन्दा बढी कामदार खटिएको आयोजनाले जनाएको छ । सडक सञ्चालन गरेर नै काम भइरहेको आयोजना प्रमुख भण्डारीले बताए ।

राष्ट्रिय प्राथमिकताप्राप्त मैलुङ–स्याफ्रुबेसी सडकखण्ड नेपाली सेनाले निर्माण गरेको डबल लेनको सडक हो । रसुवागढी जोड्ने यो सडक बेत्रावती–कालिकास्थान–धुन्चे हुँदै स्याफ्रु जोड्ने सडकभन्दा २५ किलोमिटर छोटो हुनेछ । बेत्रावती–कालिकास्थान–धुन्चे हुँदै स्याफ्रु पुग्न ५४ किलोमिटर रहेको छ भने बेत्रावती–मैलुङ–स्याफ्रुबेसीको दूरी २९ किलोमिटर मात्रै छ ।

Advertisement

पासाङल्हामु राजमार्गअन्तर्गत पर्ने धुन्चे खण्डमा २२ घुम्ती पार गर्नुपर्छ भने यो सडकमा एउटा पनि घुम्ती छैन ।काठमाडौंदेखि गल्छी ४४ किमि, गल्छीदेखि बट्टार २२ किमि, बट्टारदेखि बेत्रावती ११ किमि, बेत्रावतीदेखि मैलुङ १२ किमि र मैलुङदेखि स्याफ्रु १७ किमि रहेको छ ।

काठमाडौंबाट बेत्रावती–धुन्चे–रसुवागढीको दूरी एक सय ४५ किलोमिटर रहेको छ भने काठमाडौंबाट बेत्रावती–मैलुङ हुँदै रसुवागढी जोड्ने सडकको दूरी एक सय २२ किलोमिटर मात्र हुनेछ ।

यस्तै, स्याफ्रुबाट धुन्चे, कालिकास्थान हुँदै बेत्रावती पुग्ने सडकभन्दा स्याफ्रुबाट मैलुङ हुँदै बेत्रावती निस्कन पेट्रोलियम पदार्थको खपत कम हुने हुँदा कन्टेनरचालकहरू यो सडकतर्फ आकर्षित हुँदै गएका छन् ।

प्रतिक्रिया