बन्चरेडाँडा ल्यान्डफिल्ड, १३ वर्षदेखि चर्चा, काम अझै अपूरो

विदुर खबर २०७६ पुष २० गते ८:५५

विगत १३ वर्षदेखि चर्चा र विवादमा नै रुमलिँदै आएको छ नुवाकोट र धादिङको सिमानामा निर्माणधीन बन्चरे डाँडा स्यानेटरी ल्यान्डफिल्ड । ल्यान्डफिल्ड निर्माण सकिएपछि कम्तीमा एक सय वर्षसम्म काठमाडौंको फोहोर व्यवस्थापन हुनेछ ।

Advertisement

पछिल्लो निर्माण सम्झौताअनुसार गत कात्तिकमा नै निर्माण सम्पन्न भएर काठमाडौं उपत्यकाको फोहोर फाल्न सुरु हुनुपर्ने थियो । कहिले स्थानीयवासीको अवरोध त कहिले अन्य कारण अहिलेसम्म पनि निर्माण सम्पन्न हुन सकेको छैन ।

परियोजना सहरी विकास मन्त्रालय मातहत आएपछि ल्यान्डफिल्ड निर्माणले तीव्रता पाएको छ । सहरी विकास राज्यमन्त्रीका रूपमा रामवीर मानन्धर आएपछि कामले गति लिन थालेको हो । राज्यमन्त्री मानन्धरले थप सक्रियता देखाउँदै शुक्रबार उपत्यकाका नगरपालिकाका मेयर, धादिङ र नुवाकोट जिल्लाको प्रभावित क्षेत्रका संसद र गाउँपालिका÷वडा अध्यक्षलगायतसँग निर्माणाधीन स्थलमा नै छलफल गर्नुका साथै परियोजनाको अनुगमन गरे ।

Advertisement

राज्यमन्त्री मानन्धरले स्थानीयवासीसँग जायज माग सम्बोधन गर्न सरकार तयार रहेको बताउँदै काममा अवरोध नगर्न आग्रह गरे । उनले परियोजनाको काममा गति दिनसमेत निर्देशन दिए । स्थानीयले फोहोर फाल्न सुरु भएपछि दुर्गन्ध आउन नहुने, लिकेजको उचित व्यवस्थापन गर्नुपर्ने, सडक पूर्वाधार र स्वास्थ्यचौकीको निर्माण गरिनुपर्ने लगायतका माग राखेका छन् । राज्यमन्त्री मानन्धरले उचित माग सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको जनाए ।

सहरी विकास मन्त्रालयले निर्माण सम्पन्न गरी आगामी फागुनसम्म त्यहाँ फोहोर फाल्ने योजना बनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले समेत फोहोरमैलामुक्त काठमाडौं बनाउने योजनाअन्तर्गत ल्यान्डफिल्ड साइट निर्माणलाई महŒव दिँदै आएका छन् । ‘यो ल्यान्डफिल्ड निर्माणमा प्रधानमन्त्रीज्यूले विशेष चासो राख्नुभएको छ, उहाँले काठमाडौंलाई सुन्दर सहर बनाउने, धुलो र फोहोरमैलामुक्त बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । यो काम त्यसैसँग पनि जोडिएको छ त्यसैले राज्यमन्त्रीज्यूले यसलाई महŒव दिनुभएको छ,’ उनका निजी सचिव गोकुल वस्तीले राजधानीसँग भने ।

Advertisement

सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२० लाई सफल बनाउने कार्यअन्तर्गत सफा सुन्दर सहर बनाउनका लागि फोहोर व्यवस्थापन गर्न पनि सरकारले ल्यान्डफिल्ड निर्माणमा सक्रियता देखाएको छ ।

राज्यमन्त्री मानन्धर यसअघि पुस पहिलो साता पनि सचिवसहित अनुगमनमा बन्चरेडाँडा पुगेका थिए । त्यस क्रममा ल्यान्डफिल्ड साइट निर्माण कार्यलाई तीव्रता दिन निर्देशन दिँदै आयोजना ढिलाइ गरे कारबाही गर्ने चेतावनी दिएका थिए । उनले दुई महिनाभित्र निर्माण कार्य सम्पन्न भई प्रयोगमा आउने बताएका छन् ।

परियोजना निर्माणअन्तर्गत हाल कार्यालय प्रयोजनका लागि भवन निर्माणदेखि फोहोर फाल्ने मुख्य स्थानमा फाउन्डेसन निर्माण लगायको काम भइरहेको छ । परियोजना निर्माणका लागि सरकारले स्थानीयको १७ सय रोपनी जग्गा अधिग्रहण गरेको छ । आयोजना निर्माणको पहिलो चरणको लागत ३४ करोड ६८ लाख रुपैयाँ रहेको छ ।

राजधानी दैनिकबाट

प्रतिक्रिया