सवाल र जवाफको दोसाँधमा

विदुर खबर २०७४ फागुन २ गते ३:१३

गणेश पौडेल

“ह्या दिदी कमअन, प्रेमभन्दा पनि बाहिर सुन्दर जिन्दगी छ के। प्रेम भ्रम हो। चार दिवारको संकुचित जेलभित्र कतिदिन रमाउँछेस् ? उठ बाहिर आइज, स्वतन्त्रताको श्वास फेर।”

म सधैं यौटै डाइलग दिदीलाई थुपारिरहन्थें। हुनत दिदीको हालत पनि उस्तै थियो। ऊ कहिले पूरै रात रूएरै बिताउँथी। कहिले रातभर हाँसेरै बस्थी। कहिले रातैभर रिसाएर बस्थी। कहिले रातैभर फकाउँथी। रातैभर घुर्क्याउँथी। केही नभए तड्पेर बस्थी। प्राय धेरै रातहरू उसले नसुतेरै बिताई।

 दिदीको लागि यौटा मोबाइल र उसको निश्चल प्रेम सबैथोक थियो।
….

एकदिन कलेजको क्यान्टिनमा मस्त चुरोट तानिरहेको थिएँ, अकस्मात यौटी केटीले मेरो कुममा हात राख्दै भन्न थाली, “ए अपरिचित मान्छे दिस ईज नट अ लाईफ, यो जिन्दगी होइन। यसरी जिन्दगी चल्दैन। बि अ नर्मल। जिन्दगीबारे पनि सोच कहिलेकाहीँ।”

ह्वाट अ हेल ईज सी ? जिन्दगीबारे मलाई सिकाउने यो को हो ? मेरो पारो तातेर आयो। हरेक सवालको जवाफ हुन्छ। जवाफ दिने ब्यक्तिले कुन समयमा जवाफ दिन्छ ? कुन शैलीमा जवाफ दिन्छ भन्ने कुरा सबैभन्दा महत्वपूर्ण हुन्छ। त्यसैले उसको जवाफ फर्काउने जरूरी मैले ठानिन । बरू बदलामा चुरोट च्यापिराखेको माझी औंला देखाएर आफ्नो बाटो लागें।
भोलिपल्ट केटाहरूलाई सुनाएँ “यौटी छोक्रिले जिन्दगी सिकाएर गई यार ” त्यसपछि सबैजना हाँस्यौं गललल…..

 होहल्लाको किङ मलाई त्यो अपरिचित केटीको सवालले के छुन्थ्यो र ? झन झन उर्जा थप्यो।

कलेज आउने जाने सिलसिला चलिरह्यो। त्यो अपरिचित केटी फाट्टफुट्ट कहिलेकाहीँ कक्षाकोठामा देखिन्थी। म वास्ता गर्दिन थिएँ, देखेको नदेखै गरिदिन्थें। तर उसले भने कति ठाउँमा फलो गरिराखेकी छ भन्ने भान मलाई नपरेको भने होइन।

फागुनको महिना हुनुपर्छ एकदिन त्यही अपरिचित केटीसँग माइक्रोबसमा जम्काभेट पर्यो त्योपनि यौटै सिट। मलाई लाग्यो अब यसले बमिट आउनेगरी मलाई जिन्दगीको परिभाषा दिन्छे त्यो भन्दा पहिले म नै दिउँ न यसलाई जिन्दगीको परिभाषा। कम्तिमा यसको ईगो हट त हुन्छ।

 “हेर सुकुमारी, जिन्दगी सिन्दगी आई डन्ट केयर। जसरी जियो त्यसरी नै बित्ने हो। रोएर बिताउनेहरूको आँशु पोखरीमै डुबेर जान्छ। जिम्बेवारी बहनेहरूको जिम्बेवारी भन्दा भन्दै जान्छ। धनी, गरिव, अपाङ्ग, असक्त, असहाय सबैको जिन्दगी छ। सजिवको जिन्दगी नभएर कसको होस्? जिन्दगी भनेको जिउने कला हो। अनुभूति हो। मोज मस्ति गर्नु भनेको नजिउनु भन्ने होईन। मात्र यति हो जिउने बाटो फरक। जसले जसरी जिउँछ त्यहि हो उसको जिन्दगी।”

बिना सवालको मेरो जवाफले उसलाई मतिर हेर्न कर लाग्यो, हेरी। हाम्रा आँखा जुधे। मैले उसका नजरहरू त पढिन तर यति बुझें उसको ईगो हर्ट जरूर गरें। आई मिन मैले मेरो मिसन पूरा गरें।

 नयाँबजार तिनकुनेदेखि बल्खु आईपुगुन्जेल हाम्रो दोहोरो बात भएन। ऊ बोलिन। मलाई चिनेजस्तो सम्म पनि गरिन। म भने छाती फुलाएर गमक्क परेर बसें। बल्खु कटेपछि ऊ अकस्मात बोली ।

एक्चुअल्ली म तिमीसँग यौटा च्यालेन्ज गर्न चाहन्छु।

च्यालेन्ज ? वाउ आई लभ च्यालेन्जेज। मैले सोच्दै नसोची जवाफ फर्काएँ।

मेरो कुरा सुनेर ऊ मुस्कुराई। मीठो बोली, मुसुक्क मुस्कान र लाज छोरीमान्छेको गहना भनिन्छ। ऊ खास राम्री भने होईन फिस्स मुस्कुराउँदा झन भद्दा देखिई। कुरूप देखिई। खैर मैले ती कुराहरूको त्यति मतलव गरिन।

कालीमाटीसम्म पुनः मौनता छायो। बिस्नुमती कटेपछि उसले प्रश्न गरी “तिमीलाई मनपर्ने किताव कुन हो?”

बुक्स् ? आई डन्ट लव बुक्स।

त्यो त तिम्रो आँखाले बताउँछ मिस्टर अपरिचित मान्छे।
उसका कुराले म थोरै मुडमा आएँ। थपें, “बट आई लभ सेक्सिज। बुक एन्ड गल् टु। रत्नपार्कमा ५० को ३ वाला सेक्सी बुक्स आई लाईक्स मच। डु यु नो ह्वाट, दे आर मोर सेक्सिज देन सन्निज।”

उ बोलिन। केही छिनको मौनतापछि मैले नै थपें “अँ साँचि मेरा आँखामा अरू के के पढ्न सक्छै?”

ईच एन्ड एभ्रिथिङ

लाईक?

लाईक युवर्स न्युडनेस। तिम्रो नग्नता।

ह्वाट?

यस, यतिखेर तिमीलाई नङ्ग्याउदै छन् तिम्रा नजरहरूले। मान्छेको आँखैले हो मान्छेलाई उदाङ्गो, नाङ्गो देख्ने/देखाउने भनेको।

उसका कुराले म थोरै लजाएँ। मेरो लाज पनि उसले पढी सायद ।

डन्ट वरी, मिस्टर अपरिचित मान्छे दिस ईज नट अ च्यालेन्ज फर यु।

देन ह्वाट ईज युवर्स च्यालेन्जेज?

ईट्स नट टाईम टु बिइङ हरि मिस्टर अपरिचित हेन्सम, लेट्स गो टु केशरमहल पुस्तकालय।

 रत्नपार्कमा माईक्रोबाट झरेपछि भने “ह्वाट द हेल यु आर ? म पढ्ने जस्तो देखिन्छु?”

याप, यु आर। तिम्रा आँखाहरूले बताईरहेछन्।

म रत्नपार्कबाट घट्टेकुलो मेरो रूमतिर लाग्न चाहन्थें तर त्यही परिचित तर परिचय नगेरेकी केटीको पछि लागें। म हार्न नचाहने मान्छे। चुनौतीबाट भाग्नु भनेको हार्नु हो। त्यसैले पनि म उसको पछि लाग्नैपर्ने भयो।

हामी हिँडेरै रत्नपार्कदेखि केशरमहल पुग्यौं। बाटामा धेरै कुराहरू भए। प्रेमिल होईन, सेक्सिज पनि होईन। बकम्फुस्रे कुरा भए। मान्छेले जिन्दगीभर बोलेका ९० % भन्दा धेरै कुराहरू बकम्फुस्रे नै हुन्छन् सायद। तर यौटा भने अर्थकै कुरा गर्यो हामीले। च्यालेन्जमा हार्नेले सर्प्राईज दिने। यो मेरै प्रस्ताव पनि थियो। उसले हुबहु अनुमोदन गरेकी थिई।

सेक्सपियरको फ्यान म। सेक्सपियरका सबै सनेटहरू खुव मनपर्ने मलाई। त्यहीमाथि अंग्रेजीको बिद्यार्थी। कहिलेकाहीँ एबिएबि सिडिसिडि ईएफईएफ जिजि (सेक्सपियरियन सनेटका राईमिङ प्याट्रन) भर्षनमा कुरूप सनेटहरू पनि लेखिटोपलेको थिएँ। बाहिर जे जति हावा भएपनि कोठामा रातभर अध्यन गर्थें। त्यसैको प्रभाव थियो सेक्सपियर लव।

परिस्थितीले मलाई नै पछ्यायो। अपरिचित अग्ली (ugly) लेडीले दुईवटा पुस्तक लिएर मेरो छेउमा आई। उसका दुवै हातका पुस्तक यौटै थिए। सेक्सपियर्सका सनेट संग्रह। उसले हतारमा यौटा सनेट पल्टाई सनेट नम्बर १३० ‘माई मिस्ट्रेस आईज आर नोथिङ लाईक द सन’  (My mistress’ eyes are nothing like the sun

हामी दुबैजना यही कबितामा करिव १ घन्टा घोत्लियौं। सब्द शब्दलाई च्यात्यौं। शब्द शब्दलाई जोड्यौं। खेलायौं, माड्यै, पिट्यौ, मुछ्यौ। तर एक्लाएक्लै।  शब्दहरूसँग रमाउनु अर्को आनन्द लाग्छ मलाई। कुनै यौवन स्त्री र मैले नपढेको भर्जीन पुस्तक देखाएमा मेरो पहिलो रोजाई पुस्तक नै हुन्छ। युवती भन्दा धेरै सेक्सी लाग्छन् पुस्तकहरू। म उसको च्यालेन्जसँग खुव आनन्द लिईराखेको थिएँ। देखाउनलाई भने खुव बोरिङ भएको फिल गरिराखेको थिएँ। कारण हार्न चाहन्नथें। मलाई ट्यापे शैलीमै उसको च्यालेन्ज जित्नु थियो।

एक घन्टामा कबितासँग खेल्दा हामीले जे जस्तो फिल गर्यौं, सबै यौटा खाली पानामा टिप्यौं। शब्द, अर्थ, भाव। च्यालेन्ज यही थियो जसले कविताको राम्रो ब्याख्या गर्नसक्छ त्यही बिजयी हुनेछ।

१४ लाईनको कविताको ब्याख्या गर्न मैले १ घन्टामा ३ पाना कागज खर्चेंछु। हजारौं शब्द जोडेंछु। जुन त्यो अपरिचित केटीको भन्दा तीनगुणा नै बेशी थियो।

च्यालेन्ज मैले जीतें। उसले हारी। च्यालेन्ज गर्ने पनि उ  र मलाई बिजयी घोषणा गर्ने पनि उ नै भई। सबैभन्दा अचम्म त के भयो भने उ हार्दा पनि उसको हाउभाउले हारेको प्रतिकृया देखाएन बरू उ हारेकोमा खुशी देखिई।

 म जितेर गमक्क परेर बसिराखेको थिएँ। उसले च्याप्प मेरो हात समाती। उसका कोमल हातले मेरो नाडीमा स्पर्स गर्दा पनि मेरो फिलिङ्समा केही असर पारेन। झन गमक्क परेर उसको पछि लागें।

केशरमहल सँगै जोडिएको स्वप्न बगैंचाको गेटमा पुगेपछि उसले दुईवटा टिकट किनी। त्यसपछि यौटा मेरो हातमा थमाएर भनी “एन्ड दिस ईज माई स्पेसल गिफ्ट फर यु। लेट्स सेलिब्रेट।”

उ मेरी प्रेमिका थिईन। साथी पनि थिईन। आफन्त झनै होईन। दोबाटोमा ठोक्किन आईपुगेकी यौटी युवती। जोसँग मेरो परिचय नै भएको थिएन। बढी अचम्म उ मसँग डेटिङमा थिई त्यो पनि युगल जोडीहरूको मुटु स्वप्प्न बगैंचामा।

मैले जिन्दगीमा पहिलोपटक यौटी युवतीसँग सिङ्गो दिन बिताएँ। यौटी युवतिको अंगालोमा दिनभर बेरिएर बसें। खासमा उभन्दा टाढै बस्न डुल्न खोज्थें म तर बगैंचाको माहोल नै त्यस्तै थियो हामी टाढिएर बस्नै सकेनौं। कुममा कुन जोड्नैपर्ने भयो।

बेलुका ५ बजे बिना औपचारिकता, बिना हार्दिकता, बिना परिचय हामी छुट्यौं। उ किर्तीपुरतिर लागी म घट्टेकुलोतर्फ।

भोलिपल्ट क्लासमा उ म सधैं बस्ने ठाउँ अन्तिम बेन्चमा आएर मसँगै बसी। केटाहरूले मलाई चोर औंलो बङ्ग्याएर कुरिकुरि भने। म पनि त्यो अपरिचित केटीसँग सँगै बस्न चाहन्न थिएँ। तर बस्नैपर्ने भयो। उठेर जाने अर्को बेन्च हाम्रो पछाडि थिएन।

सधैंझैं क्लास चल्न थाल्यो। तर अचम्म के थपियो भने त्यो दिन मेरो मुखबाट एक शब्द पनि निस्किएन। मैले खण्ड कोसिस गर्दा पनि हल्ला गर्न सकिन। कति ठूलो तागत हुँदोरहेछ यौटी नारीमा, एक शब्द खर्च नगरी उसले मजस्तो हल्ला किंङलाई बसमा पार्न सकी त्यो पनि निमेसभरमै।

क्लास सकिनुभन्दा अगाडि नै उसले मलाई चियाको अफर गरी । सायद उ पनि पढ्ने मुडमा थिईन। म अघिदेखि नै नर्भस थिएँ। कम्तिमा चुरोट तान्न पाउने खुसीले उसको अफर स्वीकारें।

चिया अडरपश्चात हामी टेबलमा छौं एक अर्काको सामुन्नेमा।  उ एकोहोरो मलाई हेरिरहेकी छे। मैले उसका नजरसँग नजर जुधाउन सकिन। उ नजर जुधाउन मन लाग्ने राम्री नभएर पनि हुनसक्छ सायद।

“ए अपरिचित मानिस, तिम्लाई के लाग्छ?  किन मैले तिमीलाई चियाको अफर गरें?” उसले मौनता चिरी

आई डन्ट केयर, मलाई त चुरोटको तलतल लागिरहेको थियो त्यसैले स्वीकारें।

तिमीलाई यौटा कुरा थाहा छ ? तिमी मेरो लागि अपरिचित हौ। तर यो नसम्झ म तिमीलाई चिन्दिन।

मतलव ?

तिम्रोबारे मलाई सबैथोक थाहा छ। तिमी को हौ?  कहाँ बस्छौ? के खान्छौ? तिम्रो घर कहाँ हो? परिवारिक ब्याक्ग्राउन्ड कस्तो छ? आई नो ईच एण्ड एभ्रिथिङ अबाउट यु।

ह्वाट?  कसरी थाहा पायौ? कहाँबाट थाहा पायौ?

नन अफ युवर्स बिजनेस। यति भन्छु तिमी असल मान्छे हौ। जवर्जस्त आफूलाई खराब बनाउने कुचेष्टा किन गरिरहेछौ ? नगर। असलियत लुकाएर नबाँच। भ्रममा नबाँच।

भ्रम ??? त्यसपछि म रोकिएँ।  उसको सवालको जवाफ मसँग थिएन। उसले ठिकै भनिरहेकी थिई। म आफ्नो नजरमा असल पनि थिईन र खराब पनि। उसको एक वाक्यले म रोकिएँ। पलभरमै मेरो चुरिफुरि सिद्धियो। म खाली भएँ।

चियापश्चात हामी छुटियौं। उ आफ्नो बाटो लागी। मेरा नजरहरूले उसलाई निकै परसम्म पिछा गरे। उसको भद्दा ज्यान र अनआकर्षक हिपले मलाई केही हदसम्म आकर्षण गर्यो।

त्यो रात म निदाउन सकिन। मेरो मनमा यौटै कुरा खेलिरह्यो, मलाई ग्लानी भईरह्यो उसले कति सजिलै मलाई जिताएरै मलाई हराई। म जितेर पनि हारें। उसले हारेर पनि जिती। नारीमा कति ठूलो शक्ति छ, जो हारेर पनि जित्न सक्छन्। त्यसैले त भनिन्छ गृहिणी घरका श्रृंगार हुन्। उनीहरू घर सजाउन मात्र होईन, जिन्दगी रंग्याउन सहजै सक्छन्। पुरूष यौटा दम्भ हो। निमेसभरमै एक चिम्टी मुस्कानले सिङ्गो पुरूषलाई गलाउन सक्छन् नारीहरू।

पहिलोपटक मलाई यौटी नारीले आकर्षण गरी। यौटी कुरूप नारी जसको शरिरिक बनावट हेर्दा जोकोहीले पनि छिः भन्छ तर उसको एक शब्दले म गलें। उसको ईगो हर्ट गर्ने बहानामा मेरै ईगो हर्ट भयो। म हारें । पहिलोपटक हारें। यौटी नारीका सामु झुकें जसलाई म चिन्दा पनि चिन्दिन। जोसँग मेरो परिचय भएको छैन।

भोलिपल्टदेखी म परिवर्तन भएँ। बिलकुल परिवर्तन। हल्ला किङ बिकम्स नुन खाको कुखुरो।

दिनहरू बित्दै गए। त्यो अपरिचित केटीसँग म नजिक भईन। हुन पनि चाहिन। तर उसका हरेक गतिबिधीको चासो राख्न थाले। अप्रत्यक्ष रूपमा म उसको पछि लाग्नथालें। अब उ कहाँबाट आँउछे? कहाँ जान्छे?कहाँ बस्छे? कोसँग बोल्छे? कसरी बोल्छे? खानपिन हाउभाउ मात्र होईन, म उसको यतिसम्म चियो गर्न थालें कि उ कलेजमा आएका दिन कतिपटक शैचालय जान्छे?

म उसको प्रेममा थिईन। म उसलाई प्रेम गर्दिन। सिधा नजरले हेर्दा उ नराम्री छे तर त्यही उसको नराम्रोपनले मलाई आकर्षण गर्न थाल्यो। आकर्षणको लागि सौन्दर्यता ठूलो कुरा होईन रहेछ। मन रहेछ सबैथोक।

हल्ला किङले सबैथोक छाड्यो। चुरोट, रक्सी, होहल्ला, साथीभाई सबैथोक। बरू झ्याम्ल्याङ्ङ कपाल पाल्न थाल्यो। झुस्स दाह्री पाल्न थाल्यो।

कहिलेकाहीँ कलेजमा त्यही अपरिचित केटीसँग चियाका शिलशीलाहरू बढ्न थाले। म चियाका चुस्किसँगै उसका आँखाहरू पढ्न थालें। उसका खैरा आँखा सबैभन्दा सुन्दर लाग्नथाले मलाई। उ बारबार भन्थी, मान्छेका आँखाले नङ्ग्याउछ। तर उसका नजरले उसलाई कहिल्यै नङ्ग्याउन सकेनन्। बरू उसको कुरूपतामाथि सौन्दर्यता थपीदियो। उप्रतिका मेरो बुझाईमा झन रहस्य थपिदियो।

उसको सामिप्यता नजिकिँदै गर्दा मैले अब सौन्दर्यताको परिभाषा बदल्न थालें। गहुँगोरो अनुहार, मिलेको जीउ, सुन्दर ओठहरू सौन्दर्यताका सूचक होईनन् जस्तो लाग्न थाल्यो। राम्रो, आनि बानि, राम्रो ब्यबहार, दुःखसुख बुझ्न सक्ने पबित्र मन, बोलीको बिनम्रता, लाजभन्दा धेरै हिम्मत, धैर्यता पो रहेछन् सौन्दर्यताका प्रतीकहरू।

बिस्तारै त्यो अपरिचित युवती मेरो नजरमा संसारकै सबैभन्दा सुन्दर नारी देखीन थाली। उसका हरेक कुराहरू मलाई प्रिय लाग्नथाले। बिना परिचय नै उ मेरो नजिककी साथी बनी। मैले धेरै कुराहरू उसँग सेयर गर्न थालें तैपनि परिचय गर्ने आँट गर्न सकिन। उसले पनि मेरो नामसम्म सोधीन। उ मलाई अपरिचित मानिस भन्थी मलाई त्यही शब्द मेरो परिचयजस्तो लाग्नथाल्यो।

बिस्तारी म उसलाई प्रेम गर्न थालें। एकतर्फी प्रेम।

कतिपय कुराहरू, कतिपय निर्णयहरू बिना सल्लाह, बिन निचोड अकस्मात गरिन्छन्। त्यस्तै आकस्मिक हुने रहेछ प्रेम। प्रेम गर्छु भनेर गरिँदो रहेनछ। गिलासको पीँधमा कणकण फोहर निथ्रिए जस्तै रहेछ प्रेम। थाहै नपाई कण कण निथ्रीएर बन्दो रहेछ। गर्छु भनेर गरिने भए यौटी अपरिचितलाई, यौटी कुरूप युवतीलाई कसले प्रेम गर्थ्यो होलार?

 जव जव म उसँग हुन्न थिएँ। म उसँग भएको परिकल्पना गर्न थालें। दिवा श्वप्नमा रमाउन थालें। उ मेरी सपनाकी रानी बन्न थाली। कोर्सका पाठ्यपुस्तक भन्दा धेरै म उसका काल्पनिक तस्विरहरूमा रमाउन थालें। यादहरूमा रमाउन थालें। भेट्दाखेरी गरिएका संबादहरू एकान्तमा बारबार रिक्याप गर्नथालें।

उ कुनै अफिसका काम गर्थी पार्टटाईम । कामका अलावा छुट्टिका दिन हामी घुम्न सँगै जान्थ्यौं। सँगै खान्थ्यौं। प्रायः भेटघाटको चाँजोपाँजो उसैले गर्थी। म यौटा साधारण किसानको छोर, काठमाडौंमा बसेर पढ्दा मलाई सधैं खर्चको अभाव हुने। घरमा हजारका नोट पठाएको हिसाब राख्थे यता सहरमा भने ५/१० रूपैयाँ चुडिएरै सकिने। खुद्रा जिन्दगी बाँच्नेहरूलाई सबैभन्दा महत्वपूर्ण कुरा खुद्रा पैसा रहेछ। ससाना पावाका ढकहरूले सिङ्गो तराजू ढल्काएजस्तो। फजूल खर्च गर्न मलाई पुग्दैनथियो। यो कुरा उ बुझ्थी।

मैले धेरै पटक उसको मन बुझ्ने प्रयत्न नगरेको भने होईन। म जान्न चहान्थें उ मलाई प्रेम गर्छेकी गर्दिन? मलाई लाग्थ्यो यदि उ मलाई प्रेम गर्छे भने किन भन्दिन ? यदि गर्दिन भने किन मेरो यतिधेरै केयर गर्छे? यतिधेरै ममता देखाउछे? यौटी अपरिचितले यति गर्नु असोभनिय छैन र?

जिन्दगीको अर्को रूप रहेछ अनिर्णयको गोलचक्करमा रूमलिनु। सवाल र जवाफको दोसाँधमा अल्मलिनु। कल्पना र यथार्थको भुमरिमा बटारिनु। हुन सक्छ?  नहुन पनि सक्छ? यही सवालले धेरै रातहरूमा मेरो निन्द्रा हरण गरेको छ।

म अब उबिना एकपल पनि बाँच्न नसक्ने भैसकेको थिएँ। तर भन्न सकिराखेको थिईन। देख्नेले त पीडा भएको देख्छन् तर तड्पिनुको मजा तड्पिनेलाई मात्र थाहा हुन्छ। म आफैं तड्पिएर आफैं रमाउदै थिएँ। मेरो पछिल्ला गतिबिधीप्रति दिदी पनि खुव चाख राख्न थालेकी थिई। म उसबाट भरसक जोगिन खोज्थें तर उसले थाहा पाईहाल्थी आखिर दिदी न परी।

एकदिन समय चक्रले घुमाईफिराई फेब्रूवरी फोर्टिन हाम्रो सामुन्नेमा ल्याईदियो। मैले ठूलै साहस बटुलेर मौका छोपें। क्यान्टिनमा चियाको अफरसँगै सर्प्राईज प्रेम प्रश्ताव राखें।

मैले एक वाक्यमा भनें, “ए अपरिचित नारी बिना परिचय नै म तिमीलाई प्रेम गर्न थालेको छु।”

मेरो प्रश्ताव देखेर उ ट्वाल्ल परी। केही छिन मेरा आँखा पढेर उ चुपचाप बाहिरिई। मैले बेलुकासम्म क्यान्टिनमा उसैलाई पर्खिराखें। उ मेरो सवालको जवाफ लिएर फर्केर आईन। एक दिन, दुई दिन होईन त्यसपछि उ कहिल्यै मेरो सम्पर्कमा आईन। उ मलाई अपरिचित मानव भन्थी आफैं अपरिचित बनेर टाढिई।

महिना दिनपछिको कुरा हो, दिदी वासरूम गएको बेला दिदीको मोबाईलमा यौटा म्यासेज आयो मैले मौकामा चौका छोपें । म्यासेजमा लेखिएको थियो “हेर दीपा तेरो कुराको पछि लागेर मैले तेरो भाईलाई खुव तड्पाएँ। यहाँभन्दा धेरै अब म तड्पाउन सक्दिन। मलाई माफ गरिदे अब म उसलाई कहिल्यै भेट्दिन।
उही पूजा

Advertisement

प्रतिक्रिया