भोटेकोशी बाढीपीडितहरूको हकहित र न्यायका लागि बेत्रावतीमा साझा सरोकार समिति गठन

विदुर खबर २०८३ कार्तिक ३० गते २२:३३

नुवाकोट । गत भाद्र १० गते आएको भोटेकोशी बाढीबाट पीडित नागरिकहरूको हक, अधिकार र स्थायी पुनर्वासको माग गर्दै उत्तरगया गाउँपालिका- ५, बेत्रावतीमा साझा सरोकार समिति गठन गरिएको छ ।

स्थानीय विप्लव खड्काको संयोजकत्वमा २३ सदस्यीय उक्त समिति गठन गरिएको हो । ​

समितिको सह-संयोजकमा दिलकृष्ण श्रेष्ठ र सचिवमा लेखनाथ अधिकारी चयन हुनु भएको छ । बाढीका कारण घर, जग्गा, व्यवसाय तथा आफ्नो सम्पूर्ण गाउँबस्ती नै गुमाएका पैरेबेँसी, नौबिसे, कैदलेटार र बेत्रावती लगायत आसपासका प्रभावित समुदायलाई समेटेर यो समिति निर्माण गरिएको हो ।

त्यस्तै, समितिलाई आवश्यक मार्गदर्शन र सुझाव प्रदान गर्न ५ सदस्यीय सल्लाहकार समिति समेत गठन गरिएको छ। सल्लाहकारहरूमा सुरेन्द्र लम्साल, सोमलाल लवट, शिव लामिछाने, ईश्वर लाल श्रेष्ठ र शशी डंगोल रहेका छन् ।

​बाढीपीडितको न्याय, उचित क्षतिपूर्ति, दीर्घकालीन स्थायी पुनर्वास तथा प्रभावित नागरिकहरूको हकअधिकारको सुनिश्चिता गराउन सामूहिक रूपमा दबाब सिर्जना गर्ने मुख्य उद्देश्यका साथ समिति गठन गरिएको जनाइएको छ ।

विपद्को यस कठिन घडीमा पीडितहरूका आवाजलाई एकताबद्ध गरी राज्य र सरोकारवाला निकायको ध्यानाकर्षण गराउन समितिले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया