पुनर्निर्माणको पर्खाइमा त्रिशूली र देवीघाट जलविद्युत गृह

विदुर खबर २०८३ कार्तिक ३० गते १५:४१

नुवाकोट । नेपालको जलविद्युत इतिहासको धरोहर तथा ऊर्जा क्षेत्रको पहिलो माइलस्टोन मानिने ऐतिहासिक त्रिशूली जलविद्युत गृह र यसको क्यास्केड आयोजनाका रूपमा रहेको देवीघाट जलविद्युत आयोजना (१४.१ मेगावाट) को बाँधस्थल तथा संरचनाहरू हालैको विनाशकारी बाढीका कारण भारी क्षतिको सामना गर्दै पुनर्निर्माणको पर्खाइमा रहेका छन्।

विदुर नगरपालिका अन्तर्गत पर्ने देवीघाट क्षेत्रस्थित यी जलविद्युत आयोजनाका संरचनाहरूमा आएको बाढीले ठूलो क्षति पुर्‍याएको छ। नेपालको उज्यालो यात्रामा दशकौँदेखि महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएका यी संरचनाहरू अहिले प्राकृतिक विपद्पछिको पुनरुत्थानको प्रमुख केन्द्रबिन्दु बनेका छन्।

गत भदौ १० गतेको विनाशकारी बाढीले देवीघाट क्षेत्रको मुख्य पक्की मोटरेबल पुल बगाएपछि यस क्षेत्रको यातायात सञ्जाल र स्थानीय जनजीवन पूर्ण रूपमा प्रभावित बन्न पुगेको थियो। पुल बगेर आवतजावत ठप्प भएपछि प्रभावित क्षेत्रमा जनजीवन सहज बनाउन अहिले युद्धस्तरमा काम भइरहेको छ।

त्रिशूली जलविद्युत गृहको भग्नावशेष र देवीघाट जलविद्युत आयोजनाको बाँधस्थलसँगै जोडिएको सोही क्षेत्रमा यातायात सुचारु गर्ने उद्देश्यले अस्थायी रूपमा बेली ब्रिज निर्माणको काम तीव्र पारिएको छ।

नेपाली सेना, सडक विभाग तथा सम्बन्धित निकायहरूको प्राविधिक सहयोग र पहलमा भइरहेको यो निर्माण कार्यले छिट्टै नै सवारी साधन तथा पैदलयात्रीहरूको आवागमन सहज हुने स्थानीय बासिन्दाले अपेक्षा गरेका छन्।

एकातर्फ नेपालको ऊर्जा इतिहास बोकेका संरचनाहरूले राज्यको ध्यान र शीघ्र पुनर्निर्माण खोजिरहेका छन् भने अर्कातर्फ अवरुद्ध सडक सञ्जाल जोड्न भइरहेको यो बेली ब्रिज निर्माण कार्यले स्थानीयमा नयाँ आशा जगाएको छ।

प्रतिक्रिया