‘यो देशमा सरकार छैन’
भदौ १० गते भोटेकोशीको विनाशकारी बाढीमा ८९ वर्षीया आमालाई समातेर घण्टौँ हिलो र भग्नावशेषमा उद्धार पर्खेका ६५ वर्षीय दृष्टिविहीन छोराको यो भनाइ अझै कानमा गुन्जिन्छ। एक वर्षको उमेरदेखि आँखा नदेख्ने उनी आमालाई जोगाउने आशामा थिए। तर उद्धार टोली आइपुग्न घण्टौँ लाग्यो।

गत असोज ३० गते नेपाल बोल्छ टोलीसँगै नुवाकोटको देवीघाटका बाढीपीडित वृद्धवृद्धालाई भेट्दा मैले ज्यान जोगाएको राहतभन्दा गहिरो पीडा र उपेक्षाको अनुभूति पाएँ। छ जना सहवासीले ज्यान गुमाएका थिए। बाँचेकाहरू अझै सुरक्षित र सम्मानजनक आश्रयको प्रतीक्षामा थिए।
दसैँ नजिकिँदै गर्दा देशभर परिवारहरू चाडको तयारीमा थिए। तर देवीघाटका यी वृद्धवृद्धा आफ्ना साथीहरू गुमाएको शोक, बाढीको त्रास र जस्ताको छानामुनिको असहज बसोबासमा थिए। बाढीले उनीहरूको आश्रय मात्र खोसेन, जीवनको उत्तरार्धमा सम्मान र शान्तिसँग चाड मनाउने भरोसा पनि खोस्यो।
चेतावनी नपाएका वृद्धवृद्धा
बाढी आएको दिन वृद्धाश्रमका बासिन्दा खाना खान तल झरेका थिए। बाँचेकाहरूले मलाई सुनाए, बाढी आउँदै छ भनेर उनीहरूलाई कसैले खबर गरेको थिएन। एक्कासि बाढी आइपुग्दा न सुरक्षित ठाउँमा जाने मौका पाए, न आफूलाई जोगाउने तयारी गर्न सके।
बाँचेकाहरूको भनाइमा एउटा गहिरो पीडा र गुनासो थियो। समयमै बाढीको चेतावनी पाएको र कसैले सहयोग गरेर वृद्धाश्रमको बलियो भवनको माथिल्लो तलामा पुर्याइदिएको भए आफ्ना सहवासीहरूलाई गुमाउनुपर्ने थिएन भन्ने उनीहरूको विश्वास थियो। उनीहरूका लागि त्यो केवल बाढीको त्रासदी थिएन, समयमै पाउन नसकेको सहयोगको पीडा पनि थियो।
नेपाल बोल्छ टोलीले भिडियोमा अभिलेख गरेको दृष्टिविहीन छोराको भनाइ कुनै राजनीतिक नारा थिएन। त्यो विपत्तिमा आमासँगै फसेर उद्धार पर्खेका एक नागरिकको पीडा थियो। संकटमा सरकारको अर्थ कार्यालय वा पदाधिकारीभन्दा पहिले आफूलाई बचाउन आउने मानिस रहेछ।
बाँच्न नपाएकाहरूलाई पनि सम्झौँ
वृद्धाश्रमका हेरचाहकर्ता विष्णुप्रसाद नेपालका अनुसार बाढीमा छ जना वृद्धवृद्धाले ज्यान गुमाए, जसमा दुई जना अपाङ्गता भएका व्यक्ति थिए। मृतकहरू दुर्गा भट्टराई, रामकृष्ण तामाङ, बलराम भट्टराई, लीला श्रेष्ठ, लोकबहादुर पुडासैनी र भद्रमाया न्यौपाने हुन्। यी नाम संख्या मात्र होइनन्। प्रत्येकसँग एउटा जीवन, सम्झना र आफ्नै कथा थियो। बाँचेकाहरूको पीडा सुन्दा ज्यान गुमाएकाहरूको मानवीय अस्तित्व पनि बिर्सनु हुँदैन।
उनकै विवरणअनुसार २९ जना बाँच्न सफल भए। असोज ३० गतेको भ्रमणका बेला तीमध्ये २५ जना अस्थायी आश्रयस्थलमा थिए। बाँकी चार जनामध्ये ९७ वर्षीया गुणमाया बोहरा उपचारका लागि काठमाडौंको अस्पतालमा थिइन् भने अन्य तीन जना आफन्तसँग बसिरहेका थिए। बाढीको पानी घट्दैमा उनीहरूको पीडा सकिएको थिएन।
सात जनाको कोठामा गुमेको गोपनीयता
असोज ३० गते त्यही अस्थायी आश्रयस्थलमा छिमेकी गाउँ हिलेका पोष्टबहादुर प्याकुरेल र उनकी ७९ वर्षीया श्रीमतीलाई भेटेँ। उनीहरू अरू पाँच जनासँग करिब १२ गुणा १५ फिटको जस्ताको छानामुनिको कोठामा बसिरहेका थिए। बाहिर करिब ३२ डिग्री सेल्सियस गर्मी थियो। जस्ताको छानामुनि कोठाभित्र झन् उकुसमुकुस थियो। हामी आगन्तुक र त्यहाँ बस्ने वृद्धवृद्धा सबै पसिनाले भिजेका थियौँ।
ज्येष्ठ नागरिक सम्बन्धी नियमावली, २०६५ को नियम १२ तथा अनुसूची–२ मा कम्तीमा दस जना ज्येष्ठ नागरिक राख्ने हेरचाह केन्द्रका लागि प्रतिव्यक्ति न्यूनतम ४० वर्गफिट कोठाको मापदण्ड उल्लेख छ। तर मैले देखेको कोठामा सात जनाका लागि जम्मा करिब १८० वर्गफिट, अर्थात् प्रतिव्यक्ति झन्डै २६ वर्गफिट मात्र थियो। उक्त मापदण्ड अस्थायी आश्रयस्थलमा कानुनी रूपमा लागू हुन्छ कि हुँदैन भन्ने स्पष्ट नभए पनि ज्येष्ठ नागरिकको स्वास्थ्य, सुरक्षा र गोपनीयता सुनिश्चित गर्नुपर्ने आवश्यकता निर्विवाद छ।
पोष्टबहादुरले श्रीमतीसँग बस्दा छेउको ओछ्यानबाट अर्को व्यक्तिले हेरिरहेको महसुस हुने र आफूलाई असहज लाग्ने बताए। वृद्ध दम्पतीलाई पनि व्यक्तिगत गोपनीयता चाहिन्छ। उनीहरूको स्नेह, संकोच र आत्मसम्मान उमेरसँगै हराउँदैन। साँघुरो कोठामा सात जना अटाउनु र सात जनाले सम्मानपूर्वक जीवन बिताउन पाउनु फरक कुरा हुन्।
गर्मी, चिसो र असुरक्षित दैनिक जीवन
मैले असोज ३० गते देखेको अस्थायी आश्रयस्थल भिरालो जमिनमा थियो। सबैले प्रयोग गर्ने साझा शौचालय कोठाबाहिर थियो। त्यहीँ बस्ने ६५ वर्षीय दृष्टिविहीन व्यक्तिले पनि शौचालय जान बाहिर निस्कनुपर्थ्यो। दिनमा गर्मी हुने जस्ताको छानामुनिको कोठामा राति चिसोको समस्या पनि रहेको उनीहरूले बताए। जाडो नजिकिँदै गर्दा वृद्धवृद्धा र अपाङ्गता भएका व्यक्तिका लागि अवस्था झन् कठिन बन्न सक्थ्यो। साँघुरो साझा कोठामा पर्याप्त हावा आवतजावत नहुने हो भने श्वासप्रश्वाससम्बन्धी संक्रमण फैलिने जोखिम पनि बढ्न सक्छ। बाढीबाट ज्यान जोगाएका यी वृद्धवृद्धाले फेरि गर्मी, चिसो, असहज बसोबास र रोगको जोखिमसँग जुध्नुपर्ने अवस्था मैले देखेँ।
९७ वर्षीया आमाको फर्कने ठाउँ
९७ वर्षीया गुणमाया बोहरालाई हामीले भेट्न सकेनौँ। उनी उपचारका लागि काठमाडौंको अस्पतालमा थिइन्। बाढीबाट ज्यान जोगाएकी उनलाई अस्पतालबाट फर्किएपछि बस्न मिल्ने सुरक्षित र उपयुक्त आश्रयको व्यवस्था असोज ३० गतेसम्म भएको थिएन। लगभग एक शताब्दी जीवन बिताएकी आमालाई चाहिएको कुरा असाधारण छैन। सुरक्षित ओछ्यान, सहज शौचालय, आवश्यक स्वास्थ्य सेवा र परिचित वातावरण।
बाढीपछि वृद्धाश्रमका बाँचेकाहरूलाई सुरुमा आयुर्वेदिक केन्द्र, त्यसपछि अर्को स्थान हुँदै अन्ततः खाली कारखाना परिसरमा सारिएको उनीहरूले सुनाए। हामीले भेट्दा २५ जना त्यहीँ आश्रित थिए। “हामीलाई त भेडाबाख्राजस्तै यताबाट उता सारियो,” उनीहरूले गुनासो गरे। त्यो भनाइमा बारम्बार ठाउँ फेरिनुपरेको सास्ती मात्र होइन, आफूहरूलाई सम्मान र भावनासहितका मानिसका रूपमा व्यवहार नगरिएको गहिरो पीडा पनि थियो। बाढीबाट जोगिनु र फेरि सुरक्षित घर पाउनु एउटै कुरा होइन।
भेट्न आए, तर के सुने?
एक जना वृद्धले मलाई सुनाए, असोज ३० गतेसम्म नगरपालिकाका मेयर उनीहरूलाई भेट्न आएका थिएनन्। अर्थमन्त्री स्वर्णिम वाग्ले आएको सम्झँदै उनले मन्त्री आफूसँग केही नबोली फर्किएको बताए। सार्वजनिक समाचारअनुसार अर्थमन्त्रीले देवीघाट भ्रमणका क्रममा केही बाढीपीडितहरूसँग कुराकानी गरेका थिए। तर मैले भेटेका ती वृद्धको अनुभव फरक थियो।
विपत्तिबाट बाँचेकाहरूलाई भेट्नु मात्र पर्याप्त हुँदैन। उनीहरूको पीडा सुन्नु र आफूलाई बिर्सिएको छैन भन्ने अनुभूति दिलाउनु पनि उत्तिकै महत्वपूर्ण हुन्छ।
अर्बौंको राहत कोष, २९ वृद्धवृद्धाको बिचल्ली
भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा स्वदेश तथा विदेशबाट अर्बौं रुपैयाँ सहयोग प्राप्त भएको छ। अर्थ मन्त्रालयको असोज ८ गतेको विवरणअनुसार करिब १५ अर्ब ५४ करोड रुपैयाँ संकलन भएको थियो। अमेरिकी प्रविधि कम्पनी एनभिडियाले मात्रै एक करोड अमेरिकी डलर, अर्थात् करिब डेढ अर्ब रुपैयाँ सहयोग गरेको थियो। कम्पनीका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत जेन्सेन हुआङ हुन्।
तर बाढी आएको सात साताभन्दा बढी भइसक्दा पनि असोज ३० गतेको भ्रमणमा मैले देवीघाटका २९ जना बाँचेकामध्ये २५ जनालाई अस्थायी आश्रयमै भेटेँ। उनीहरूको सुरक्षित र सम्मानजनक बसोबासको समस्या समाधान भएको थिएन। अर्बौं रुपैयाँको राहत कोष भएको देशमा यी वृद्धवृद्धाका लागि सुरक्षित छानो, सहज शौचालय र सम्मानपूर्वक सुत्ने ठाउँको व्यवस्था गर्न पनि स्रोत नपुगेको हो र?
उनीहरूले विलासी सुविधा मागेका छैनन्। केवल जीवनको अन्तिम चरणमा गर्मी, चिसो, रोग र असुरक्षाको भयबिना बाँच्न पाउने सामान्य मानवीय सुविधा खोजिरहेका छन्।
बाँकी जीवन पनि सम्मानपूर्वक बाँच्न पाउँन्
हामी वृद्धाश्रमको अवस्था हेर्दा खाना, ओछ्यान र छानो गन्छौँ। तर त्यहाँ बस्ने मानिसको एकान्त, सम्बन्ध, इच्छा र आत्मसम्मान कति जोगिएको छ भन्ने कमै सोध्छौँ। दृष्टिविहीन छोरालाई आमाको साथ जोगाउनु थियो। पोष्टबहादुरलाई श्रीमतीसँग सहज बस्ने ठाउँ चाहिएको छ। गुणमाया बोहरालाई उपचारपछि फर्कन मिल्ने सुरक्षित घर चाहिएको छ। यी कुनै विलासिता होइनन्।
हामी आफ्ना आमाबुबाबाट आशीर्वाद लिन्छौँ, वृद्धवृद्धाको सम्मान गर्ने कुरा गर्छौँ। तर त्यो सम्मानको परीक्षा उनीहरू कमजोर, अशक्त र अरूमा निर्भर हुँदा हुन्छ। वृद्धाश्रम दयामा बाँच्ने ठाउँ होइन, जीवनको अन्तिम चरण पनि मर्यादापूर्वक बिताउन पाउने घर हुनुपर्छ। देवीघाटका वृद्धवृद्धाको अवस्था हेर्दा हामीले भोलिको आफ्नै सम्भावित जीवन पनि देख्नुपर्छ।
अब ढिलाइ गर्ने समय छैन। प्रधानमन्त्री, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, जिल्ला प्रशासन र स्थानीय सरकारले तत्काल समन्वय गरी देवीघाटका वृद्धवृद्धा तथा अपाङ्गता भएका बाढीपीडितलाई सुरक्षित, अपाङ्गतामैत्री र सम्मानजनक आवास, आवश्यक स्वास्थ्य सेवा र दैनिक हेरचाहको व्यवस्था गर्नुपर्छ। अस्पतालमा उपयुक्त बसोबासको प्रतीक्षा गरिरहेका वृद्धवृद्धालाई समेत सुरक्षित रूपमा फर्कने ठाउँ सुनिश्चित गरिनुपर्छ। बाढीबाट बचाउनु मात्र राज्यको जिम्मेवारी होइन, बाँचेका नागरिकलाई सम्मानपूर्वक बाँच्ने वातावरण दिनु पनि उसको कर्तव्य हो।
अनि ती दृष्टिविहीन छोराको आवाज फेरि सम्झिन्छु। “यो देशमा सरकार छैन।” सायद उनले कुनै ठूलो राजनीतिक उत्तर खोजेका थिएनन्। उनी त आमासहित आफूलाई बचाउन कोही आइदियोस् भन्ने आशामा थिए।
लेखक ज्ञानेन्द्र घले हुन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














‘यो देशमा सरकार छैन’
आज दशैंको टीका, उत्तम साइत १०:२६ बजे
त्रिशूली नदी किनारमा शंकास्पद वस्तु नचलाउन प्रहरीको आग्रह
बट्टारमा ईभी माईक्रो र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु
आजको मौसम : बागमतीमा हल्का वर्षाको सम्भावना





प्रतिक्रिया