सिमचौर र गौरीबेसी जोड्न बेली ब्रिज निर्माण गरिँदै

विदुर खबर २०८३ भदौ ३० गते २१:३८

नुवाकोट । गएको भदौ १० गते भोटेकोशी नदी हुँदै आएको आकस्मिक बाढीका कारण क्षति पुगेको विदुर नगरपालिकाको सडक सञ्जाललाई पुनः जोड्न नगरपालिकाले बेली ब्रिज निर्माणको तयारी थालेको छ।

Advertisement

बाढीले त्रिशूली नदी तटीय क्षेत्रका सडक तथा सडकपुल पूर्ण रूपमा क्षति पुर्‍याएपछि ठप्प बनेको यातायातलाई सहज बनाउन विदुर नगरपालिकाले वडा नं. ४ सिमचौर र वडा नं. १२ गौरीबेसीको सडक सञ्जाल जोड्ने गरी बेली ब्रिज निर्माण गर्न लागेको हो।

विपद्को यस कठिन परिस्थितिमा प्रभावित नागरिकहरूलाई तत्काल राहत र आवतजावतमा टेवा पुर्‍याउन स्थानीय विपद् व्यवस्थापन समितिको निर्णय बमोजिम बेली ब्रिज निर्माण गर्न लागिएको विदुर नगरपालिकाका नगरप्रमुख राजन श्रेष्ठले जानकारी दिनुभयो।

Advertisement

बेली ब्रिज निर्माण कार्यलाई द्रुत गतिमा अघि बढाउन विदुर नगरपालिकाले नेपाली सेनाको बट्टारस्थित श्री बहुदर श्री शेर गण लाई पत्र लेख्दै आवश्यक समन्वय, सहयोग र सहजीकरणका लागि औपचारिक अनुरोध गरेको छ। साथै उक्त पत्रको बोधार्थ नेपाली सेनाको जङ्गी अड्डा, भद्रकाली काठमाडौँलाई समेत पठाइएको छ।

बेली ब्रिज निर्माण भएसँगै वडा नं. ४ र १२ का स्थानीय बासिन्दालाई सहजरूपमा आवतजावत गर्न र खाद्यान्न लगायत अत्यावश्यक सामग्री ओसारपसारमा ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ।

Advertisement

प्रतिक्रिया