मध्य अमेरिकामा शक्तिशाली आँधी र वर्षाको चेतावनी

विदुर खबर २०८३ जेठ ४ गते ८:३८

नुवाकोट । मध्य अमेरिकामा शक्तिशाली आँधी र भारी असिना–पानीको चेतावनी जारी भएको छ । त्यसबाट जोगिन लाखौं मानिसहरुलाई सतर्कताको सूचना जारी गरिएको छ ।

Advertisement

प्लेन्स र मिडवेस्ट क्षेत्रमा शक्तिशाली चट्याङसहितको आँधी सुरु भइसकेको र यो मंगलबारसम्म जारी रहने अनुमान गरिएको अमेरिकी मौसमविदहरुले बताएका छन् ।

यस अवधिमा शक्तिशाली टोर्नाडो (ईएफ–३ वा सोभन्दा माथि), विनाशकारी असिना, तीव्र हावा तथा भारी वर्षाको जोखिम रहने मौसमविद्हरूले बताएका छन् ।

Advertisement

पछिल्लो मौसम प्रणालीले एरिजोनादेखि दक्षिणपश्चिम कान्साससम्मको क्षेत्रमा उच्च डढेलो जोखिम पनि बढाएको छ ।

अमेरिकी राष्ट्रिय मौसम सेवाले नेब्रास्काको ग्रान्ड आइल्यान्डको उत्तर क्षेत्रमा टोर्नाडो पुष्टि भएको जनाएको छ ।

Advertisement

नेब्रास्काको हेब्रोन नजिक आइतबार साँझ करिब ६:३० बजे ‘टोर्नाडो इमर्जेन्सी’ जारी गरिएको थियो । यो सबैभन्दा गम्भीर प्रकारको टोर्नाडो चेतावनी हो । मौसमविद्हरूले ठूलो तथा विनाशकारी टोर्नाडो आउँदैछ भन्ने पूर्ण निश्चित भएपछि मात्रै यस्तो चेतावनी जारी गर्ने सीएनएनले जनाएको छ ।

अमेरिकाको मध्य भागमा जारी भीषण आँधी र टोर्नाडोको जोखिमलाई लिएर लाखौं मानिसलाई सतर्क रहन भनिएको छ । आइतबार मात्रै अमेरिकाको मध्य क्षेत्रमा करिब ३० लाख मानिसलाई लक्षित गर्दै चारवटा टोर्नाडो वाच जारी गरिएको थियो । नेब्रास्का, कान्सास, आयोवा, मिनेसोटा र साउथ डकोटाका धेरै क्षेत्र उच्च जोखिममा परेका द वाशिङ्टन पोष्टले जनाएको छ ।

केही स्थानमा हावाको गति प्रतिघण्टा ८० माइलभन्दा माथि पुग्न सक्ने अनुमान गरिएको छ ।

जेट स्ट्रिमको सबैभन्दा शक्तिशाली ऊर्जा प्लेन्स क्षेत्रमा रहेको अत्यधिक आद्रतासँग मिसिँदा सोमबार व्यापक र भीषण आँधीको सम्भावना रहेको मौसम सेवा केन्द्रले जनाएको छ । आँधी पूर्वानुमान केन्द्रले पूर्वी कान्सास र नेब्रास्काका केही क्षेत्रमा भीषण आँधीको दुर्लभ स्तर ५ मध्ये ४ घोषणा गरेको छ, जुन निकै गम्भीर स्तर मानिन्छ ।

दिउँसो विकसित हुने ‘सुपरसेल’ आँधीहरूले टोर्नाडो उत्पन्न गर्ने सम्भावना छ । तीमध्ये केही ईएफ–२ वा सोभन्दा शक्तिशाली हुन सक्ने अनुमान छ । साथै अत्यन्त ठूलो असिना पनि पर्न सक्ने चेतावनी जारी गरिएको छ ।

शक्तिशाली टोर्नाडोको सबैभन्दा बढी जोखिम मध्य तथा पूर्वी कान्सासदेखि दक्षिणपूर्वी नेब्रास्का र उत्तरपश्चिम मिसौरीसम्म रहने आकलन छ । सोमबार साँझसम्म पुग्दा आँधी विनाशकारी बन्नसक्ने चिन्ता छ ।

मंगलबार बिहानसम्म आँधी जारी रहने सम्भावना छ । तर यो सोमबारको तुलनामा कम शक्तिशाली हुने ठानिएको छ । उत्तरी टेक्सासदेखि मिशिगनसम्मका क्षेत्रमा आँधीको जोखिम स्तर ५ मध्ये २ निर्धारण गरिएको छ ।

आँधी कम भए पनि असिना मुख्य खतरा बन्ने चेतावनी जारी गरिएको छ ।

प्रतिक्रिया