दुई पटक आगोको चपेटामा परेको सिंहदरबार

विदुर खबर २०८२ असोज ५ गते ७:२५

नुवाकोट । तत्कालीन प्रधानमन्त्री चन्द्र शमशेरको पालामा बनेको सिंहदरबार यसपटकसमेत गरी दुई चोटि आगोको चपेटामा परेको छ ।

Advertisement

पछिल्लो पटक कीर्तिनिधि विष्ट प्रधानमन्त्री हुँदा अहिले केपी ओली प्रधानमन्त्री हुँदा सिंहदरबार जलेको हो । वि.सं. २०३० साल असार २५ गते सिंहदरबारमा आगलागी भएको थियो । त्यस दिनको आगलागीपछि सिंहदरबारलाई बचाउन निकै प्रयास गरियो तर, आगो निभाउन सकिएन । आगो निभाउन नसकेपछि अगाडिको भागलाई बचाएर पछाडिको भागलाई तोप हानेर भत्काएको थियो । पछाडिको भाग जलेर खरानी भएको थियो ।

त्यसको ५२ वर्षपछि फेरि एकपटक सिंहदरबारमा आगो लाग्यो । गत भदौ २४ गतेको जेनजीको आन्दोलनमा आन्दोलनकारीहरूले सिंहदरबार जलाएका थिए । सिंहदरबारमा विभिन्न मन्त्रालयहरू भएको हुँदा यस आगलागीमा बहुमूल्य सामानदेखि लिएर मन्त्रालयका दस्तावेजहरू जलेको जानकारीमा आएको छ ।
सिंहदरबारमा आगो लगाएपछि पनि काठमाडौं उपत्यकाबाट कुनै दमकल आगो निभाउन परिचालन गरिएको थिएन । यसले गर्दा धेरै बेरसम्म सिंहदरबार आगोको रापमा रहेको थियो । भदौ २४ गतेको रातितिर काठमाडौं महानगरपालिकाले दमकल ल्याएर आगो निभाएको थियो ।

Advertisement

सिंहदरबार नाम कसरी रहन गयो ?

सिंहदरबार बनेपछि चन्द्र शमशेर र उनकी कान्छी महारानी बालकुमारी देवी दरबारको कौसीमा पुग्छन् । त्यही बेला चन्द्र शमशेरले महारानीलाई औंलाले देखाउँदै उ त्यो बाघदरबार हो भने । चन्द्र शमशेरले बाघदरबार देखाएपछि महारानीले पनि भनिन्— त्यो बाघदरबार हो भने यो दरबारको नाम सिंहदरबार राखे कसो होला ?

Advertisement

चन्द्र शमशेरले महारानीको प्रस्ताव मन प¥यो र यस दरबारको नाम सिंहदरबार राखेका थिए । यो निर्माण भएको सालदेखि नै यस दरबार सिंहदरबारको नामले प्रसिद्ध भयो ।

सिंहदरबारबारे केही तथ्यहरू:

-चन्द्र शमशेर वि.सं. १९५८ असार १० गतेका दिन नेपालका प्रधानमन्त्री भएपछि आफु बस्नका लागि दरबारको आवश्यकता भएकोले एक दरबारको निर्माण गर्ने योजना भएको थियो ।

-त्यतिबेला वीर शमशेरले निर्माण गराएका लालदरबार र सेतोदरबार चन्द्र शमशेरले किन्ने इच्छा गरेका थिए ।

-तेज शमशेर बसेको लालदरबार र गेहेन्द्र शमशेर बसेको सेतोदरबार उनीहरूले बेच्न मानेनन् ।

-यसपछि चन्द्र शमशेरले दरबार निर्माण गराउन प्रति रोपनी ९० रुपियाँको दरले ३५० रोपनी जग्गा किनेका थिए । वि.सं. १९६५ मा दरबार निर्माण भएको थियो ।

-दरबार निर्माण गर्न काठमाडौं नजिकको छरिया जंगलबाट वन फँडानी गरेर काठको जोहो गरिएको थियो । तर, फलाम, पाइप, काँटा रेलिङ, किला भने भारतबाट किनेर ल्याएको थियो ।

-यति भव्य दरबार बनाउन ५० लाख पनि खर्च नभएको इतिहासकार पुरुषोत्तम शमशेरले नेपालको राणा दरबारहरू भन्ने शीर्षकको पुस्तकमा उल्लेख गरेका छन्।

-चन्द्र शमशेरले सिंहदरबार २ करोड रुपियाँमा नेपाल सरकारलाई बेचेका थिए । त्यो रकम पनि उनले राज्य कोषबाट लिइएको सोही पुस्तकमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया