तरुण दलले नुवाकोटमा ‘एक बुथमा–एकसय युथ’ परिचालन गर्ने

विदुर खबर २०७९ कार्तिक २२ गते ९:३०

नुवाकोट । नेपाली कांग्रेस निकट युवा संगठन नेपाल तरुण दल नुवाकोटले गठबन्धनका उम्मेद्धवारहरुलाई विजयी गराउन ‘एक बुथमा–एकसय युथ’ परिचालन गर्ने भएको छ ।

Advertisement

शनिवार वसेको तरुण दल नुवाकोटको बैठकले आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा लोकतान्त्रिक बाम गठबन्धनका उम्मेद्धवारहरुलाई विजयी गराउन एक बुथमा एकसय युथ खटाउने निर्णय गरेको तरुण दल नुवाकोटका सचिव सुवन गिरीले जानकारी दिए ।

बैठकले कांग्रेससहित वाम गठबन्धनका साझा उम्मेदवारलाई विजयी गराउनका लागि मतदानस्थलको शान्तिसुरक्षा र निष्पक्ष निर्वाचनको सुनिश्चित गराउन प्रत्येक बुथमा एक सयजना युवा परिचालन गर्ने निर्णय गरेको तरुण दल नुवाकोट सचिव गिरीले बताए ।

Advertisement

उनले जिल्लाभित्र रहेका बाह्रवटै स्थानीय तहका सम्पूर्ण ८८ वटै वडाका तरुण दलका अध्यक्षहरुलाई गठबन्धन दलका भ्रातृ सङ्गठनसँग संयुक्त रुपमा जिल्लाबाट खटाइएको प्रतिनिधिसँग समन्वय गरेर प्रत्येक बुथमा एक सयजनाका दरले युवा परिचालन गर्न परिपत्र गरिएको बताए ।

यस्तै बैठकले जिल्लामा रहेको चारवटै प्रदेश निर्वाचन क्षेत्र र बाह्रवटै पालिकामा प्रतिनिधि चयन गरेर गठबन्धनका साझा उम्मेदवारलाई विजयी गराउने आवश्यक प्रबन्ध मिलाउन जिम्मेवारी समेत तोकेको छ ।

Advertisement

जिल्ला अध्यक्ष सिंहराज तामाङको अध्यक्षमा बसेको बैठकले ‘एक बुथ–एकसय युथ’ परिचालनलाई सफल बनाउन निर्वाचन क्षेत्र नं १ को प्रदेश १ मा पूर्णबहादुर तामाङ र प्रदेश २ मा विश्वास तामाङ, निर्वाचन क्षेत्र नं २ को प्रदेश १ मा शैलेन्द्र तामाङ र प्रदेश २ मा प्रेमबहादुर तामाङलाई प्रतिनिधि खटाएको छ ।

यस्तै, पालिकाअन्तर्गत विदुर नगरपालिकामा प्रकाश रिजाल र बेलकोटगढी नगरपालिकामा श्यामकुमार पुडासैनीलाई प्रतिनिधि खटाएको सचिव गिरीले जानकारी दिए ।

जिल्लाबाट खटिएका प्रतिनिधिलाई तरुण दलको वडाध्यक्षसँग समन्वय गरेर प्रत्येक मतदानस्थल एक सयजना युवा खटाउने प्रबन्ध मिलाउन भनिएको छ ।

बुथमा खटिने युवाले आगामी मङ्सिर ४ गते हुने चुनावलाई निष्पक्ष, धाँधलीरहित, शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्ने सुनिश्चित गराई आवश्यक सहयोग पु¥याउन स्वयम्सेवकको भूमिकामा प्रस्तुत हुन जिम्मेवारी दिइएको छ ।

नुवाकोटमा प्रतिनिधिसभा निर्वाचनअन्तर्गत दुईवटा निर्वाचन क्षेत्रमा कुल दुई लाख ३९ हजार सात सय २६ जना मतदाता रहेका छन् ।

निर्वाचनका लागि जिल्लाभरमा एक सय ३२ मतदानस्थलमा दुई सय ८८ मतदान केन्द्र कायम गरिएकाले एक बुथमा एक सयजना युवा परिचालनका लागि १३ हजार दुई सय युवालाई खटाउने तरुण दल नुवाकोटले तयारी मिलाएको हो ।

प्रतिक्रिया