विमान दुर्घटनाका घाइते बंगलादेशी नागरिक याकुबको अवस्था चिन्ताजनक

विदुर खबर २०७४ फागुन ३० गते १२:५३

काठमाडौं, ३० फागुन- विमान दुर्घटनामा घाइते भएका बंगलादेशी नागरिक याकुब अलीको अवस्था चिन्ताजनक रहेको नर्भिक अस्पतालले जनाएको छ ।
गत सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ढाकाबाट नेपाल आएको युएस विमान दुर्घटनामा घाइते भएका बंगलादेशी नागरिक अलीको सोमबारदेखि नर्भिक अस्पतालमा उपचार भइरहेको छ । अस्पतालमा बेहोस अवस्थामा ल्याइएका अलीको भेन्टिलेटरमा राखेर उपचार भइरहेको अस्पतालका डीजीएम कर्पोरेट कम्युनिकेसन अफिसर आरपी मैनालीले जानकारी दिए ।
‘विमान दुर्घटनापछि हाम्रो अस्पतालमा ल्याइएका घाइतेहरूमध्ये अलीको अवस्था गम्भीर नै छ । बंगलादेशी नागरिक अलीलाई भेन्टिलेटरमै राखेर उपचार गराइरहेका छौं,’ मैनालीले लोकान्तरसँग भने, ‘उहाँको स्वास्थ्य अवस्थामा छिट्टै सुधार हुनेछ भन्ने आशा गरेका छौं ।’
नर्भिकमा भर्ना भएका घाइतेमध्ये तीन जनाको उपचारपछि डिस्चार्ज भइसकेको छ भने अलीसहित तीन जनाको उपचार भइरहेको छ ।
उपचारत घाइतेमा बंगलादेशका अलीसहित माल्दिभ्सकी डा. रिजना अब्दुल र नेपाली नागरिक वसन्त बोहोरा छन् । माल्दिभ्सकी अब्दुल थापाथलीस्थित प्रसुती गृहमा स्त्री तथा प्रसुतीसम्बन्धी एमडी गरिरहेकी थिइन् । उनी चित्किसहरुको बंगलादेशमा भएको कार्यक्रममा सहभागी भएर डा. बालकृष्ण थापाको टोलीसँगै नेपाल फर्किँदै थिइन् ।
विमान दुर्घटनामा टाउको र शरीरको अन्य भागमा चोट पटक भएकी अब्दुललाई अस्पतालले हिजो भेन्टिलटरबाट निकालेर सघन उपचार कक्षमा राखेर उपचार गरिरहेको छ । यस्तै अर्का घाइते वसन्त बोहोराको अर्थोपेडिक सर्जरी गरिएको र उनको स्वास्थ्य अवस्थामा सुधार आएको मैनालीले जानकारी दिए ।
विमान दुर्घटनामा घाइते भएका अन्य ४ जनाको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको सघन उपचारकक्षमा उपचार भइरहेको छ । यस्तै केएमसी अस्पतालमा ११ जनाको उपचार भइरहेको छ ।Lokantar

Advertisement

प्रतिक्रिया