एमालेको बहिष्कारपछि विदुरको नगरसभा स्थगित

नुवाकोट । नुवाकोटको विदुर नगरपालिकाको नगरसभा स्थगित भएको छ ।

नेकपा एमालेबाट निर्वाचित नगरसभा सदस्यहरूले बहिष्कार गरेका कारण सोमबारको नगरसभा स्थगित भएको हो ।
एमालेबाट निर्वाचित ५ जना वडाध्यक्ष र नगरसभा सदस्यहरूले बैठक बहिष्कार गरेपछि नगरसभाका लागि गणपूरक संख्या अपुग भएको हो । नगरसभा सञ्चालनका लागि गणपूरक संख्या नपुगेपछि नगर प्रमुख राजन श्रेष्ठले बुधबार ११ बजेसम्मका लागि बैठक स्थगित भएको घोषणा गरे ।
नगर प्रमुख श्रेष्ठले नगरसभामा तत्काल कायम रहेका सदस्य संख्याको ५० प्रतिशतभन्दा कम संख्यामा सदस्यहरु उपस्थित भएकोले गणपुरक संख्या नपुगेको भन्दै सभा स्थगित स्थगित गरिएको बताए । कार्यपालिकामार्फत सबै विधि र प्रक्रिया पूरा गरिए पनि अन्तिम समयमा बैठक स्थगित गर्नु परेको उनको भनाइ छ ।
एमाले निकटका जनप्रतिनिधिहरुले नगरपालिकामा पत्रकार सम्मेलन गरेर नगरसभा वहिस्कार गरेको जानकारी दिए ।
विदुर नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष लेनिन रन्जितले मेयर श्रेष्ठले कार्यपालिकामा भएको सहमति विपरीत झण्डै १३ करोड बढी बजेट थप भएर आएकोले बैठकमा सहभागी नभएको बताए । उनले बजेट पेश गर्न खोज्दा नगरपालिकालाई दुरगामी असर पर्ने बजेट पेश गर्न लागिएको बताए ।
६६ सदस्यीय नगर सभामा नगरप्रमुख, ५ वडाध्यक्षसहित २१ जना नेपाली कांग्रेसबाट, उप्र–प्रमुखसहित ३ वडाध्यक्ष र तीन वडा सदस्य माओवादीबाट छन् । ५ वडाध्यक्षसहित ३४ जना एमालेबाट निर्वाचित छन् ।
केन्द्रमा नेपाली कांग्रेस र नेकपा एमाले गठबन्धन बनेपनि विदुरमा बजेट निर्माण र निति तथा कार्यक्रममा कांग्रेस र माओवादी एक बनेका छन भने एमाले प्रतिपक्षजस्तो देखिएको छ । विदुरमा एमालेको स्पष्ट बहुमत रहेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया