विदुरमा विपद् न्यूनीकरण अभियान

विदुर खबर २०८२ असार ३ गते १९:४४

नुवाकोट । नुवाकोटको सदरमुकाम विदुरमा विपद् प्रतिकार्यमा सामूहिक एकता रहेको निष्कर्ष निकालिएको छ ।

Advertisement

विदुरमा सोमवार आयोजित कार्यक्रममा विपद् नियन्त्रणमा सबैको सहकार्य जरुरी रहेको सरोकारवालको ठहर छ । विदुर नगरपालिकामा बितेको साँढे ६ वर्षको अवधिमा विपद्का ३८ वटा घटना भएका छन् । यसको नियन्त्रणका लागि सबै पक्ष सचेत र सक्रिय हुनुपर्ने ठहर गरिएको छ ।

गत २०७५ साल साउन १ देखि गत २०८१ साल मङ्सिर १८ गतेभित्र विदुर नगरपालिकामा विपद्जन्य वाढीपहिरो, आगलागी र नदीमा डुबेर ६ जनाले ज्यान गुमाएको तथ्याङ्क सार्वजनिक भएको छ । चार जना घाइते भएको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

Advertisement

उक्त अवधिमा ४४ वटा सडक दुर्घटना भएको तथ्याङ्क सार्वजनिक भएको छ । सो सडक दुर्घटनामा ५५ जनाले जयान गुमाउनुका साथै दुई सय १८ जना घाइते भएका थिए ।

क्षतिको विवरण अनुसार विपद्का उक्त घटनाहरूबाट कुल १५ करोड ३० लाख रुपैयाँको आर्थिक क्षति भएको तथ्याङ्क सार्वजनिक गरिएको छ । विपद् न्यूनीकरणका लागि सबै पक्षको सामूहिक सहकार्य र एकताको जरुरी रहेको उल्लेख गर्दै विदुर नगरपालिका मेयर राजन श्रेष्ठले नपाले यसको न्यूनीकरणका लागि विभिन्न अभियान सञ्चालन गर्नुका साथै नगरवासीहरूलाई सचेत गराएको बताए ।

Advertisement

प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले वर्षातको समयमा सचेत हुनुपर्ने र विपदको न्यूनीकरणका लागि जनप्रतिनिधिसहित कर्मचारीहरूको पनि सक्रिय भूमिका रहनुपर्ने बताए । विदुर नपाकी उपमेयर प्रभा वोगटीले विपद् जानकारी दिएर आउने घटना नभएको हुँदा आम सर्वसाधारणका साथै सरोकारवाला निकायले वेलैमा नियन्त्रणका कार्य अवलम्बन गरे दुर्घटना कम हुने बताइन् ।

प्रतिक्रिया