ढुङ्गेमा बसको ठक्करबाट एक महिलाको मृत्यु

विदुर खबर २०८२ असार १ गते २१:०१

नुवाकोट। नुवाकोटको विदुर नगरपालिका-१ स्थित ढुङ्गेचोकमा आइतबार बिहान बसको ठक्करबाट गम्भीर घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ।

Advertisement

गल्छी–त्रिशूली सडकखण्डअन्तर्गत ढुङ्गेबाट रसुवातर्फ जाँदै गरेको ना ४ ख ४८४ नम्बरको यात्रुबाहक बसले पैदल हिँडिरहेकी किस्पाङ गाउँपालिका-५, शान्तिबजारकी ५४ वर्षीया अम्बिका भट्टलाई ठक्कर दिएको थियो।

दुर्घटनामा पेट तथा दुबै खुट्टामा गम्भीर चोट लागेकी भट्टलाई तत्काल जिल्ला अस्पताल त्रिशूली लगिएको थियो। उनको अवस्था गम्भीर भएकाले थप उपचारका लागि काठमाडौंस्थित ग्रिन सिटी अस्पतालमा रिफर गरिएको थियो। उपचारकै क्रममा चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका हुन्।

Advertisement

घटनापछि जिल्ला प्रहरी कार्यालय नुवाकोटले बस र चालकलाई नियन्त्रणमा लिएको छ। घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया