नुवाकोटमा गर्मी बढेपछि जनजीवन प्रभावित

विदुर खबर २०८२ जेठ ३० गते ११:०८

नुवाकोट । अत्याधिक गर्मीका कारण नुवाकोटको जनजीवन प्रभावित भएको छ ।

Advertisement

एक सातादेखि निरन्तर बढ्दो गर्मीका कारण जिल्लामा जनजीवन प्रभावित बन्दै गएको हो । गर्मी अत्याधिक बढेपछि सुरक्षा सावधानी अपनाउन स्वास्थ्यकर्मीको सुझाव दिएका छन् ।

जिल्लामा पछिल्लो समय तापक्रम वढिरहेका कारण स्वास्थ्यको ख्याल गरेर काम गर्न चिकित्सकहरुले सुझाव दिएका छन् ।
नुवाकोटमा दुई सातादेखि पानी नपरेका कारण तापक्रम वढीरहेको छ । पछिल्लो समय नुवाकोटमा ३४ डिग्री सेल्सियस भन्दा बढी तापक्रम रहेको छ । गर्मी बढेपछि बालबालिका,वृद्धवृद्धा, स्कुले विद्यार्थी तथा पैदलयात्रु निकै प्रभावित भएका छन् ।

Advertisement

गर्मीले दिउँसोको समयमा मुख्य बजारका सडक सुनसान हुन थालेका छन् । सरकारी कार्यालयमा सेवाग्राहीको सङ्ख्या घटेको छ । गर्मीका कारण विद्यालय, उद्योग व्यवसाय सबै प्रभावित भएका छन् ।

गर्मीका कारण घरबाहिर निस्किन समेत कठिनाई भएको जनगुनासो छ । बिहान र बेलुकाबाहेकको समयमा सर्वसाधारण घरभित्रै सीमित हुन थालेका छन् । वर्षा नहुँदा र गर्मी निरन्तर बढिरहँदा किसानहरू समेत चिन्तित बनेका छन् । खेतबारीमा लगाएको मकै सुक्दै गएपछि किसानहरू प्रभावित भएका छन् ।

Advertisement

किसानले लगाएको हिउँदे बाली सुक्न थालेको छ । दैनिक मजदुरी गरेर खाने विपन्न परिवारलाई तातो हावाको कारण काम गर्न असहज भएको छ ।

गर्मीबाट बच्न अत्यावश्यक बाहेक घरबाट बाहिर ननिस्कन र प्रसस्त मात्रामा पानी पिउन चिकित्सकले सुझाव दिएका छन् ।

प्रतिक्रिया