नुवाकोटको साततले दरबार पुनर्निर्माण हुँदै
नुवाकोट । भूकम्पले क्षतिग्रस्त नुवाकोटको साततले दरबारसहित आसपासका धार्मिक एवम् पुरातात्विक सम्पदाको पुनर्निर्माण गर्न धेरैपटकको अनुनयविनयपछि सात वर्षमा चिनियाँ पक्ष कार्यक्षेत्रमा आइपुगेको छ ।
सङ्घीय सरकारसँग भएको सम्झौताअनुसार पुनर्निर्माणको जिम्मेवारी पाएको चिनियाँ टोली विदुर–२ स्थित कार्यक्षेत्रमा फर्किएर पुनर्निर्माण सुरु गर्नुपूर्वको तयारीमा खटिएको छ । चिनियाँ पक्षले पुनर्निर्माण तयारी गरेसँगै पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानांगसहितको टोलीले शुक्रबार नेपाली पक्षले पूरा गर्नुपर्ने दायित्वका सन्दर्भमा जिल्लाका सरोकार पक्षको जिम्मेवारीबारे छलफल गरेको छ । वि.सं. २०७२ वैशाख १२ को भूकम्पले क्षति पु¥याएको दरबारसहितको संरचना पुनर्निर्माणका क्रममा चिनियाँ टोली भूकम्पले जीर्ण बनाएको संरचनालाई थप क्षति हुन नदिन वि.सं. २०७६ असारमा खट बनाएर जस्ताको छानो राखेर फर्केको थियो ।
सरकारसँग भएको सम्झौताको अवधि सम्पन्न भइसकेको छ भने लामो समय चिनियाँ पक्ष सम्पर्कमा नहुँदा दरबारसहितको संरचना पुनर्निर्माण अन्योल भइरहेको थियो । तर, प्राविधिक र कामदारसहितको टोली कार्यक्षेत्रमा आएसँगै काम हुन्छ भन्ने निश्चित भएको दरबार पुनर्निर्माणको तयारीका लागि शुक्रबारको छलफल र अनुगमनपश्चात् पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानांगले विश्वास व्यक्त गरे । भूकम्पले क्षति पु¥याएका संरचना पुनर्निर्माणमा सहयोग पु¥याउने कार्यक्रमअन्तर्गत नेपाल र चीन सरकारबिच दरबारसहित धार्मिक तथा पुरातात्विक महत्वका विभिन्न आठ संरचनाको पुनर्निर्माण गर्ने समझदारी भएको छ ।
सरकारीस्तरमा भएको सम्झौताअनुसार पुरातत्व विभाग र निर्माणको जिम्मा पाएको ‘चाइनिज एकेडेमी अफ कल्चरल हेरिटेज’बिच २०७६ जेठमा ४५ महिनाभित्रै काम सम्पन्न गर्ने उल्लेख गरिएको थियो । द्विपक्षीय सम्झौतापश्चात् सम्पदालाई थप क्षति हुन नदिन खट बनाएर नयाँ वर्ष मनाउन गएको चिनियाँ पक्ष कोरोना सङ्क्रमणको कारण देखाई फर्कन ढिलो गरेको हो ।
तीन वर्षपश्चात् वि.सं. २०७९ असोजमा चिनियाँ प्राविधिक (इन्जिनियर) टोली आएर साततले दरबारको जग, गारो र छानाको वस्तुस्थिति अध्ययनपश्चात् प्रबलीकरण अथवा पुनर्निर्माणसम्बन्धी अध्ययन गरेर फर्केको थियो । त्यसपश्चात् अहिले तेस्रोपटक चिनियाँ पक्ष कार्यक्षेत्रमा आएर पुनर्निर्माण अघि बढाउन आवश्यक व्यवस्थापनमा जुटेको नुवाकोट दरबार हेरचाह तथा संरक्षण कार्यालयका प्रमुख सुनिल पौडेलले जानकारी दिए ।
उनका अनुसार पुनर्निर्माणका लागि यसअघिको सम्झौता अवधि काम सुरु नहुँदै सकिएकाले नयाँ सम्झौतामार्फत पुनर्निर्माण अघि बढाउन चिनियाँ पक्ष सकारात्मक देखिएको छ । सम्पदा पुनर्निर्माणका क्रममा उत्पन्न ससाना प्रकृतिका समस्या समाधानको जिम्मेवारी स्थानीय तहको हुनेछ भने कर्मचारी–कामदारको प्रवेशाज्ञा थप, राजस्व छुटलगायतमा सङ्घीय सरकारको सहयोग हुने गरेर नयाँ सम्झौता गर्न लागिएको छ ।
पहिलो चरणमा साततले दरबारसहित दरबारपरिसरमा रहेको गारदघर र रंगमहलको आवश्यकताका आधारमा पुनर्निर्माण तथा प्रबलीकरण गरिने चिनियाँ पक्षले जनाएको छ । त्यसपश्चात् लिच्छविकालीन तलेजु (तुलजा भवानी)को मन्दिर, सेतोपाटी, लामपाटी, विष्णु र नारायण मन्दिरको पुनर्निर्माण गरिनेछ । चिनियाँ पक्षले कार्य प्रारम्भपूर्व नै नियमित विद्युत् प्रवाह, दरबारसम्म हेभी उपकरणसहितको सवारीसाधन आउजाउ गर्न पहुँचमार्ग, पानी, सामग्री भण्डारणका लागि खुला स्थान उपलब्ध गराउन माग गरेको छ ।
उक्त माग पूरा गर्न शुक्रबार भएको छलफलमा विदुर नगरपालिकाका तर्फबाट नगर प्रमुख राजन श्रेष्ठले पूरा गर्ने प्रतिबद्धता जनाएको दरबार पुनर्निर्माण गर्ने वडाका अध्यक्ष दीपक कायस्थले बताए । तत्कालीन राजा पृथ्वीनारायण शाहले नुवाकोटमाथि वि.सं. १८०१ मा विजय हासिल गरेपश्चात् साततले दरबारको निर्माण गर्न लगाई त्यहीँबाट देशभरको कामकाज सञ्चालन गरेका थिए ।
वि.सं. १८१९ मा निर्मित दरबार क्षेत्र परिसरमा अवस्थित तुलजा भवानी मन्दिर भने लिच्छविकालीन रहेको नुवाकोट दरबार मौला अमालका प्रतिनिधि (द्वारे) महेन्द्रकुमार शाहीले जानकारी दिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













मनाङमा हिमपातपछि फसेका व्यक्तिहरुको उद्धार
नुवाकोटमा वर्षातकै बीचमा धान भित्र्याउन किसान व्यस्त
रसुवामा हिमपातको सम्भावना,सर्तकता अपनाउन आग्रह
जेनजी आन्दोलनमा प्रहरी हत्याको आरोपमा रसुवाका सौरभ समातिए
घाँस काट्ने क्रममा लडेर ७२ वर्षीय वृद्धाको मृत्यु 





प्रतिक्रिया