आज देशभर माघे संक्रान्ति पर्व मनाइँदै

विदुर खबर २०७७ माघ १ गते ८:२९
नुवाकोट । आज माघ महिनाको पहिलो दिन माघे संक्रान्ति पर्व देशभर बिहानै जलाशयमा गई स्नान, पूजा गरी ठूलाबडा कहाँ गएर आशीर्वाद लिई मनाइँदै छ ।सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले माघ १ गतेलाई मकर संक्रान्ति पनि भनिन्छ । माघ १ गतेदेखि उत्तरायण शुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण शुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ । यसैले आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका स्थानमा माघ स्नान गर्न भक्तजनको भीड लाग्छ । यी ठाउँमा आज विशेष मेलासमेत लाग्ने गर्छ ।

माघ १ गतेदेखि पाँच दिनसम्म धुमधामका साथ तराई क्षेत्रमा यो पर्व मनाइन्छ । बिहानै तीर्थस्थलमा गई स्नान गरेर तिल दान गर्नाले सुन दान गरे सरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ ।धर्मसिन्धुमा माघे संक्रान्तिको दिन घ्यू, चाकु, तिलका परिकार, खिचडी नखाने, दान नगर्ने, जलाशयमा गई स्नान नगर्ने, ध्यान नगर्ने व्यक्ति जीवनभर रोगी हुने उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिनुभयो ।

Advertisement

त्यसैले माघे संक्रान्तिको दिन घ्यु, चाकु, तिलका लड्डु, खिचडी, सखरखण्ड, तरुल लगायतका परिकार खाने चलन छ । यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा ताता परिकार खाने गरिएको हो ।बेलुका घरमा ठूला मुढा बालेर धुनी जगाउँछन् । धुनीको चारैतिर घरपरिवार र पाहुना बसेर खानपिन गर्छन् । यस दिनदेखि पाँच दिनसम्म उनीहरूले आफू स्वतन्त्र भएको अनुभव गर्छन् । यस अवसरमा सक्नेहरू चारधाम जाने र नसक्नेहरूले नजिकको तीर्थमा गई गच्छेअनुसार दीनदुःखीलाई दान गर्ने चलन छ ।

कुनै कारणवश श्राद्ध कर्म रोकिएकाले आजैका दिन श्राद्ध गर्नुपर्छ भन्ने मान्यता रहेको छ । तिलले स्नान गर्नु, तिलको तेल घस्नु, पितृलाई तिलयुक्त जल दिनु, तिल हवन गर्नु, तिल दान गर्नु र तिल खानु गरी जम्मा ६ प्रकारले तिलको प्रयोग यस दिन जसले गर्छ त्यो असफल हुँदैन भन्ने विश्वास थारु समुदायमा छ । तिलको तेल घस्नाले शरीरको तापक्रम बढ्न गई जाडो कम हुन्छ भन्ने वैज्ञानिक मत छ ।

Advertisement

प्रतिक्रिया