सिस्डोलमा फालिएको फोहरकै पहिराले लामो समयदेखि सडक अवरुद्ध

विदुर खबर २०७६ असोज ५ गते २२:०४

नुवाकोट । सिस्डोलमा फालिएको फोहरकै पहिराले लामो समयदेखि सडक अवरुद्ध भई फोहर लैजान र स्थानीयवासीको आवामनमै समस्या भएको छ ।

Advertisement

प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले आज आयोजना गरेको राजधानीको फोहर व्यवस्थापनसम्बन्धी अन्तरक्रियामा सिस्डोलमा फालिएको फोहरकै पहिराले लामो समयदेखि सडक अवरुद्ध भई फोहर लैजान र स्थानीयवासीको आवामनमै समस्या भएको स्थलगत अनुगमनका क्रममा देखिएको सांसद जीपछिरिङ लामाले बताए । सांसद बहादुरसिंह लामाले चार वर्ष अघि संसद्को सुशासन समितिले गरेको अनुगमनका क्रममा लिच्चडलाई पिउन मिल्ने पानी बनाइ कोल्पुखोलामा बगाउने प्रतिबद्धता कार्यान्वयन नहुँदा स्थानीयवासी प्रभावित भएका गुनासो गर्नुभयो ।

सांसद नारायणप्रसाद खतिवडाले सबै निकायले सिस्डोलको जिम्मेवारीबाट पन्छिन चाहेको अभिव्यक्ति दिएको उल्लेख गर्नुहुँदै कसको दायित्व हो भनी प्रश्न गर्नुभयो । सांसद हितबहादुर तामाङले फोहर व्यवस्थापनका लागि सरोकार भएका व्यक्ति र निकायको प्रतिनिधित्व हुने गरी अधिकार सम्पन्न प्राधिकरण वा विकास समिति गठन नगरिए समस्या समाधान हुन नसक्ने बताउनुभयो । सांसद विन्दा पाण्डेले तीन तहका सरकारमध्ये फोहर कसले व्यवस्थापन गर्ने भन्ने स्पष्ट गर्न माग गर्नुभयो । बैठकमा सांसद सञ्जय गौतम, अनिल झा, कृष्णगोपाल श्रेष्ठ, राजेन्द्रकुमार केसीले दीर्घकालीन रुपमा फोहर व्यवस्थापन गर्ने गरी सरकारले योजना बनाइ कार्यान्वयन गर्न अधिकार सम्पन्न निकायको स्थापना गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

Advertisement

जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले फोहर व्यवस्थापनका नाममा धेरैले विदेश भ्रमण गरे पनि कार्यान्वयन हुन नसकेकाले खर्च राज्यलाई फिर्ता गर्न माग गर्नुभयो । ककनी गाउँपालिकाका अध्यक्ष मानबहादुर लामाले फोहरका कारण सिस्डोल क्षेत्रमा रोगको सङ्क्रमण फैलिएर गाई, भैँसी, बाख्रालगायत चौपाया मर्न थालेका, जमीनमा उब्जनी घटेको, मानिसमा अनेकथरी स्वास्थ्य समस्या आउन थालेका गुनासो गर्नुभयो । फोहर प्रभावित धादिङको धुनीवेशी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्यले खेत खन्न गएका किसान फोहरले बेहोश हुने गरेकाले सबै नगरपालिकाले आफैँ फोहर व्यवस्थापन गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा प्रभावित काठमाडौँको तारकेश्वर नगरपालिका, ककनी गाउँपालिका र धुनीवेशी नगरपालिकाका वडाध्यक्ष, सरोकार समिति र स्थानीयवासीले मानव स्वास्थ्यमा प्रभाव पर्ने गरी विसं २०६२ जेठ २२ गते भएको सम्झौताअुनसार फोहर फाल्न माग गर्नुभएको थियो ।

Advertisement

प्रतिक्रिया