त्रिशूलीका बाढीपीडितले प्राधिकरणको जग्गामा डोजर चलाए

विदुर खबर २०८३ मंसिर २ गते २०:५९

नुवाकोट । गत १० भदौको भोटेकोशी बाढीबाट विस्थापितहरूको पुनःस्थापनामा सरकारले लामो समय बितिसक्दा पनि बेवास्ता गरेको भन्दै त्रिशूली बजारका पीडितले बस्तीमा रहेको नेपाल विद्युत् प्राधिकरणको जग्गा कब्जा गरी डोजर चलाउनुका साथै टेन्टसमेत गाडेका छन् ।

करिब २५० जनाको संख्यामा रहेका बाढीपीडितले आफ्नै खर्चमा डोजर बोलाएर प्राधिकरणको जग्गा सम्याएका हुन्।

‘हामीले जग्गा सम्याउने मात्र होइन, टेन्टसमेत टाँगेका छौँ,’ भोटेकोशी बाढीबाट विस्थापित त्रिशूली बजारका स्थानीय नारायण श्रेष्ठले भने, ‘यस्तो गर्नु हाम्रो रहर थिएन । हाम्रो बाध्यतालाई सरकारले गम्भीर रूपमा लिएन ।

प्राधिकरणको उक्त जग्गा स्थानीय सरकारले विस्थापितहरूको पुनःस्थापनाका लागि संघीय सरकारलाई सिफारिस गरेको स्थान हो । संघीय सरकारले समयमै पुनःस्थापनाका लागि निर्णय नगर्दा बाढीपीडित र विस्थापितमा बेचैनी बढेको छ।

‘पुनःस्थापना त परै जाओस्, अहिलेसम्म मृतक आफन्तको किरिया खर्चसमेत दिएको छैन,’ श्रेष्ठले भने,’कोठाभाडा दिन्छु भनेर पनि दिएको छैन । भएको सबै बगिहाल्यो । जाने ठाउँ कतै भएन । यस्तो गर्नु हाम्रो बाध्यता हो।

बाढीपीडितले जग्गा कब्जा गरेपछि नेपाल विद्युत् प्राधिकरणका केन्द्र प्रमुख र नुवाकोटका प्रहरी प्रमुख त्यहाँ पुगेका थिए । तर प्रहरीले हस्तक्षेप भने गरेको छैन ।

भोटेकोशी बाढी गएको करिब ३ महिना हुन लागेको छ । बाढीमा परी १ हजार ४५० भन्दा बढीको मृत्यु भएको छ भने ६ हजारभन्दा बढी बेपत्ता छन् । हजारौं नागरिक विस्थापित भएका छन् ।

प्रतिक्रिया