ढोडेबेसीमा अस्थायी मोटरेबल पुल निर्माण सुरु, ‘फास्ट ट्र्याक’मा काम सक्ने तयारी

विदुर खबर २०८३ मंसिर २ गते २१:०२

नुवाकोट । गत भदौ १० गतेको भीषण बाढीले त्रिशूली नदी वारपार गर्ने अधिकांश पुल बगाएपछि कष्टकर बनेको जनजीवनलाई तत्काल सहज बनाउन तारकेश्वर गाउँपालिका–४, ढोडेबेसीमा अस्थायी मोटरेबल पुल निर्माणको काम सुरु भएको छ।

तारकेश्वर गाउँपालिकाको औपचारिक आग्रह तथा सिफारिसअनुरूप पूर्वाधार विकास कार्यालय नुवाकोटले सबै प्राविधिक प्रक्रिया पूरा गरी ह्युम पाइप जडानमार्फत पुल निर्माणको काम अगाडि बढाएको हो।

चाडपर्वअगावै प्राविधिक टोलीले स्थलगत सर्भे गरी पुल निर्माणको बिन्दु यकिन गरेको थियो। चाडपर्व सकिएलगत्तै निर्माणको भौतिक कार्य सुरु गरिएको हो। तत्कालका लागि साना तथा ठूला सबै प्रकारका सवारी साधन सहज रूपमा आवतजावत गर्न सक्ने गरी अस्थायी मोटरेबल पुल निर्माण गर्न लागिएको गाउँपालिकाले जनाएको छ।

गाउँपालिका अध्यक्ष शिव अधिकारी ‘अविरल’ ले नागरिकको दैनिक आवतजावत र ढुवानीलाई तत्काल सहज पार्न अस्थायी पुलको निर्माण ‘फास्ट ट्र्याक’मा सम्पन्न गरिने जानकारी दिनुभयो। उहाँका अनुसार तत्काल अस्थायी संरचनाबाट यातायात सञ्चालन गर्ने र दीर्घकालीन समाधानका लागि भविष्यमा सोही स्थानमा स्थायी पक्की पुल निर्माण गर्ने गरी प्रदेश तथा सम्बन्धित निकायसँग समन्वय भइरहेको छ।

ढोडेबेसीमा पुल निर्माण भएसँगै बाढीपछि यातायात सम्पर्क विच्छेद भएका तारकेश्वर र आसपासका बासिन्दालाई सदरमुकाम विदुर तथा मुख्य राजमार्गसँग जोडिन निकै सहज हुनेछ।

प्रतिक्रिया