नुवाकोटमा बाढीको कहर: २,७२३ बेपत्ता हुँदा साढे ३ हजार बढीको उद्धार

विदुर खबर २०८३ कार्तिक १ गते ८:३७

नुवाकोट । भोटेकोशी नदीमा आएको बाढीका कारण नुवाकोट जिल्लामा ठूलो जनधनको क्षति भएको छ।

Advertisement

जिल्ला प्रशासन कार्यालय, नुवाकोटले भाद्र १० गतेदेखि असोज ३० गते साँझ ६:०० बजेसम्मको अवधिमा बाढीले पुर्‍याएको क्षतिको विस्तृत विवरण सार्वजनिक गरेको छ। सार्वजनिक गरिएको तथ्यांक अनुसार यस विपद्‌बाट जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ भने प्रभावित क्षेत्रमा राहत, उद्दार र पुनर्निर्माणका कार्यहरू तिब्र पारिएका छन्।

बाढी प्रभावित क्षेत्रबाट ३,६३० जनाको सफल उद्दार गरिएको छ। बाढीमा परी २,७२३ जना बेपत्ता भएका छन् भने २०५ वटा शव निकालिएको छ।

Advertisement

पहिचान खुलेका ३९ वटा शव आफन्तको जिम्मा लगाइएको छ। पहिचान नभएका तथा बेवारिसे ११२ वटा शव “बेवारिसे शव व्यवस्थापन निर्देशिका, २०७८” बमोजिम विदुर-६, खम्बाक्याम्पस्थित केन्द्रीय कारागारको खाली जमिनमा व्यवस्थापन गरिएको छ।

बाढीका कारण नुवाकोटका विभिन्न स्थानीय तहहरूमा २,८३१ वटा घरधुरीमा असर पुगेको छ । जिल्लाभरको कुल क्षति: १,८६० वटा घरमा पूर्ण क्षति र ९७१ वटा घरमा आंशिक क्षति पुगेको छ।

Advertisement

६ वटा पक्की पुल र ६१ वटा झोलुङ्गे पुल पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। साथै, ५.५ किलोमिटर सडक पूर्ण र २० किलोमिटर सडक आंशिक रूपमा ध्वस्त भएको छ।

१७ वटा विद्यालय, १४ वटा सरकारी कार्यालय, ६ वटा स्वास्थ्य चौकी (खोप केन्द्र), १८ वटा बैंक तथा सहकारी संस्था र ९७ वटा जलबिद्युत आयोजनाहरूमा पूर्ण क्षति पुगेको छ।

२ वटा सरकारी र १४ वटा निजी सवारी साधन पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने ३४१ भन्दा बढी उद्योग तथा व्यवसायमा क्षति पुग्दा १,३०० जनाको रोजगारी प्रभावित भएको छ।

५३६ वटा संघ-संस्थाको सहयोगमा २,६९७ स्थानमा एकद्वार प्रणालीबाट राहत वितरण गरिएको छ। सशस्त्र प्रहरी बलको मेडिकल टोलीबाट ५,८९२ जनाको स्वास्थ्य जाँच गरिएको छ भने Level 1 अस्पतालबाट ५०५ जनाले उपचार सेवा पाएका छन्। यसबाहेक ५२,१५५ जनालाई हैजाविरुद्धको खोप लगाइएको छ र जिल्ला स्वास्थ्य कार्यालयको समन्वयमा ११,८७१ जनालाई मनोसामाजिक परामर्श प्रदान गरिएको छ।

प्रतिक्रिया