नुवाकोट कांग्रेसमा अधिवेशनको चहलपहल : असोज १३ र १४ गते पालिका र क्षेत्रीय अधिवेशन हुने

विदुर खबर २०८३ असोज ११ गते १८:१२

नुवाकोट । अविरल वर्षा, बाढीपहिरो र प्रतिकूल मौसमका कारण स्थगित भएका नेपाली कांग्रेस नुवाकोटका पालिका तथा क्षेत्रीय अधिवेशनहरू पुनः सञ्चालन हुने भएका छन्।

Advertisement

मौसममा सुधार आएसँगै जिल्ला निर्वाचन समितिको कार्यालय नुवाकोटले नयाँ कार्यतालिका सार्वजनिक गर्दै अधिवेशनको मिति तय गरेको हो।

जिल्ला निर्वाचन अधिकृत अधिवक्ता रत्न सुन्दर बजेटद्वारा जारी सूचना अनुसार रोकिएका पालिका तथा क्षेत्रीय अधिवेशनहरू असोज १३ र १४ गते सम्पन्न गरिनेछ।

Advertisement

यसअघि पार्टीले असोज ९ गतेका लागि पालिका स्तरीय र असोज १२ गतेका लागि क्षेत्रीय अधिवेशनको मिति तोकेको थियो। तर, लगातारको भारी वर्षाका कारण जिल्लाका ग्रामीण सडकहरू अवरुद्ध हुनुका साथै वडा तहका कागजात सङ्कलनमा समस्या आएको थियो।

कार्यकर्ताको भौतिक सुरक्षा र यातायातको असहजतालाई मध्यनजर गर्दै असोज ८ गते सूचना जारी गरी पूर्वनिर्धारित कार्यक्रमहरू स्थगित गरिएको थियो।

Advertisement

मौसममा आएको सुधारसँगै रोकिएका वडा तहका कागजातहरू सङ्कलन गर्ने र आन्तरिक व्यवस्थापन मिलाउने काम तीव्र पारिएको छ।

नेपाली कांग्रेस नुवाकोटका सभापति रमेश कुमार महतले प्रतिकूल परिस्थितिका कारण रोकिएका अधिवेशनहरू अब तोकिएकै समयमा भव्य रूपमा सम्पन्न हुने बताए। “मौसम अनुकूल भएसँगै सडक यातायात सहज बन्दै गएको छ,” सभापति महतले भने, “सबै तहका कार्यकर्ता र निर्वाचन प्रतिनिधिहरूसँग समन्वय गरी निष्पक्ष र सौहार्दपूर्ण वातावरणमा अधिवेशन सम्पन्न गर्न लागिपरेका छौँ।”

जिल्ला निर्वाचन समितिले पनि अधिवेशनलाई अनुशासित, पारदर्शी र व्यवस्थित रूपमा सम्पन्न गराउन पार्टीका सबै निकाय, उम्मेदवार तथा कार्यकर्ताहरूलाई सक्रियताका साथ सहभागी हुन अपिल गरेको छ।

प्रतिक्रिया