नुवाकोटमा कांग्रेसको संस्थापनइतर पक्षद्वारा छुट्टै सम्पर्क कार्यालय स्थापना

विदुर खबर २०८३ असोज १ गते १६:४३

नुवाकोट । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन नजिकिँदै गर्दा नुवाकोटको दलीय राजनीतिमा सांगठनिक सरगर्मी बढेको छ।

Advertisement

महाधिवेशनको पूर्वसन्ध्यामा संस्थापनइतर पक्षले विदुर नगरपालिका–४, बट्टारमा छुट्टै सम्पर्क कार्यालय स्थापना गरी सांगठनिक गतिविधि अघि बढाएको छ।

केन्द्रमा दुई पक्षबिच फरक-फरक महाधिवेशन कार्यतालिका सार्वजनिक भएपछि जिल्ला स्तरमा पनि त्यसको प्रत्यक्ष असर देखिएको हो। संस्थापनइतर पक्षले असोज १५ गते वडा अधिवेशन गर्ने तयारी अघि बढाएको छ भने संस्थापन पक्षले असोज ३ गते वडा अधिवेशनको कार्यतालिका तय गरेको छ। यद्यपि, नुवाकोटमा वडा अधिवेशनको अन्तिम मिति भने अझै निश्चित भइनसकेको नेताहरूले बताएका छन्।

Advertisement

नुवाकोटमा संस्थापनइतर पक्षको नेतृत्व केन्द्रीय तहमा डा. प्रकाशशरण महतले गरिरहनुभएको छ। जिल्ला तहमा सांगठनिक कमान्ड सम्हाल्दै क्षेत्र नं. २ बाट ध्रुव अधिकारी, श्रीराम श्रेष्ठ, विन्दा अर्याल तथा क्षेत्र नं. १ बाट अर्जुन न्यौपाने, ध्रुव श्रेष्ठ र कल्पना नेपाली लगायतका नेताहरू सक्रिय देखिएका छन्।

सम्पर्क कार्यालय स्थापना गरिएको जानकारी दिँदै कांग्रेस जिल्ला सचिव तथा संस्थापनइतर पक्षका नेता श्रीराम श्रेष्ठले नुवाकोटका ठूलो संख्याका जिल्ला तथा वडा तहका नेता-कार्यकर्ता असोज १५ को अधिवेशनमा सहभागी हुन आतुर रहेको दाबी गर्नुभयो।

Advertisement

सम्पर्क कार्यालय सञ्चालनमा आएसँगै वडा तहसम्मको भेटघाट, वैचारिक छलफल र अधिवेशनको सांगठनिक तयारीलाई थप चुस्त र व्यवस्थित बनाइने श्रेष्ठले बताउनुभयो।

प्रतिक्रिया